चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षदेखि बेंगल फ्लरिकन (खरमजुर) देखिएको छैन।
अन्तिम पटक २०८० चैत ६ गते नेचर गाइडहरू टेक महतो, रोशन चौधरी, एलिना चौधरी र राम महतोले निकुञ्जको हर्राबास क्षेत्रमा खरमजुर रेकर्ड गरेका थिए। त्यसको केही दिनपछि भएको गणनामा भने एउटा पनि खरमजुर भेटिएको थिएन।
सन् २०२३ मा मेघौलीको सदाबहार मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी खरमजुर देखिएको मेघौली–घटगाईं नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बू बताउँछन्। त्यसअघि नवलपुरस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा एउटा खरमजुर भेटिएको थियो।
'सन् २०२४ को मार्चमा भएको गणनामा एउटा पनि खरमजुर भेटिएन। त्यसयता चितवन निकुञ्जमा खरमजुर रेकर्ड भएको कुनै जानकारी छैन,' लिम्बूले भने।
खरमजुर समथर भू–भागको घाँसे मैदानमा बस्ने पन्छी हो। सिरूको पातमा गुँड बनाएर बस्ने लजालु प्रकृतिको यो चरा नेपाल लगायत भारत, बंगलादेश र क्याम्बोडियामा पाइन्छ। घाँसे मैदानको पारिस्थितिक प्रणालीमा खरमजुर महत्त्वपूर्ण मानिन्छ। कीराफट्यांग्रा, घाँसका जरामा लुक्ने परजीवी कीरा, गोबरमा हुने कीरा यसका प्रमुख आहार हुन्।
नेपालका नौ संरक्षित पन्छीहरूमध्ये ६ वटा चितवनमा पाइन्छन्। तीमध्ये एक खरमजुर पनि हो। यसबाहेक राजधनेश, सानो खरमजुर, सारस, सेतोकण्ठे गरूड र कालो गरूड यहाँ पाइन्छन् ।
नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान खरमजुर भेटिने स्थान हुन्। सन् २०२१ को गणनामा नेपालमा २८ वटा खरमजुर पाइएका थिए। जसमध्ये २१ वटा त कोशीटप्पु क्षेत्रमै रेकर्ड भएका थिए। अचेल भने कोशीटप्पुमा पनि संख्या घटेको छ। पछिल्लो गणनामा यहाँ १०–१५ वटा मात्रै भेटिएको थियो। शुक्लाफाँटामा पछिल्लो गणनामा खरमजुर नभेटिएपछि यसपालि फेरि गणना गरिएको छ।

मेघौलीका पुराना नेचर गाइड वीरबहादुर कुमाललाई २०५६ सालतिर चितवन निकुञ्जभित्र एकै दिनमा ९–१० वटा खरमजुर देखिएको सम्झना छ। त्यो देखेर उनीसँग घुम्न गएका विदेशी पर्यटक बेस्सरी खुसी भएका थिए। तर अचेल पर्यटकलाई खरमजुर देखाउन नसकेको उनी बताउँछन्।
'खरमजुर देख्दा पर्यटक असाध्यै खुसी हुन्थे। म खोजी खोजी देखाउँथेँ। तर मैले नदेखेको धेरै वर्ष भयो। प्रयास त गरिरहेकै छु, कतै देखिएको छैन,' कुमाल भन्छन्।
चितवनमा खरमजुरको गणना पहिलो पटक सन् २०१४ मा गरिएको थियो। त्यतिखेर ९–१० वटा खरमजुर रेकर्ड भएका थिए। गणना नियमित हुन थालेको भने सन् २०२२ बाट हो। त्यसयता गणनाको समयमा बढीमा दुइटा मात्रै देखिएको छ।
सन् २०२४ को मार्चमा चितवन निकुञ्जमा खरमजुर गणनाको नेतृत्व गरेका नेपाल पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत देउकुमार राना खरमजुरको संख्या बर्सेनि घटिरहेको बताउँछन्।
'केही दिनअघि मात्रै नेचर गाइडहरूले देखेर फोटो खिच्न भ्याउनुभएछ। तर हामीले गणना गर्दा एउटा पनि भेटिएन। अन्य संरक्षण क्षेत्रमा पनि संख्या कम देखिँदै गएको छ,' राना भन्छन्।
खरमजुर अति संकटापन्न अवस्थामा रहेको चरा हो। वासस्थानको विनासले खरमजुर लोप हुने खतरामा पुगेको राना बताउँछन्।
'नेपालमा बाघ, गैंडा, हात्ती, गोहीजस्ता ठूला प्राणीलाई केन्द्रमा राखेर वासस्थानको व्यवस्थापन गर्ने गरिएको छ। उनीहरूलाई केन्द्रमा राखेर गरिने घाँसे मैदान व्यवस्थापनको असर साना जीवहरूमा परिरहेको छ,' रानाले सेतोपाटीसँग भने, 'चराहरूले गुँड लगाउने, प्रजनन गर्ने समयमा घाँसमा आगो लगाउने, घाँस काट्ने मेसिन लगाउने गरिन्छ।'
खरमजुरको प्रजननको समयमा मार्च, अप्रिल हो। यो समयमा अचेल वनमा डढेलो लाग्ने क्रम बढेको छ। घाँसे मैदान व्यवस्थापन पनि प्रायः यही समयमा गरिन्छ।
मेघौली–घटगाईं नेचर गाइड एसोसिएसनका अध्यक्ष लिम्बूले खरमजुर संरक्षणका लागि स्थानीय रूपमा सचेतनाका कार्यक्रमहरू गर्ने गरेको बताए। विद्यालय र समुदाय स्तरमा सचेतनाको कार्यक्रम गर्ने, बेला–बेलामा सम्भावित स्थानमा पुगेर खोजी गर्ने गरिएको उनले बताए।

'यसपालि वन्यजन्तु सप्ताहको अवसरमा पनि खरमजुरको खोजी गर्यौं। २३ जना नेचर गाइडहरूको सहभागितामा निकुञ्जको कोर क्षेत्र, सदाबहार र राधाकृष्ण सामुदायिक वनमा खोजी गर्दा खरमजुर भेटिएन,' लिम्बूले भने, '४७ प्रजातिका रैथाने र घुमन्ते चराहरू भेटिएका थिए।'
यस्ता गतिविधिमा मेघैलीमा रहेका बाराही जंगल लज, मेघौली सेराई ताज सफारी होटलहरूले सघाउने गरेको उनले बताए।
चितवनमा खरमजुरको अवस्थाको विषयमा ह्युमेनटेरियन एण्ड बायोडाइभर्सिटी कन्जर्भेसन सोसाइटी (एचबिसिएस) ले पनि अध्ययन गरिरहेको छ। यो संस्थाकी रिसर्च अफिसर आभा पोखरेलले एक वर्षदेखि खरमजुर नदिएको अवस्थामा कारणको खोजी गर्न अध्ययन भइरहेको जानकारी दिइन्।
'हामी अहिले चितवन निकुञ्जको कोर क्षेत्र हर्राबासमा सर्भे गरिरहेका छौं। खरमजुरको वासस्थानको अवस्था के रहेछ, डढेलोको असर, घाँसे मैदान व्यवस्थापन कार्यको असर कस्तो परेको रहेछ भनेर अध्ययन गरिरहेका छौं,' पोखरेलले भनिन्, 'खर, सिरूभन्दा अरू घाँस बढी भएर हो कि। घाँसे मैदान व्यवस्थापनको समय नमिलेको पो हो कि! तर यही कारण हो भनेर भन्न केही समय लाग्छ।'
यो संस्थाले मेघौली क्षेत्रका सामुदायिक वन, निकुञ्जभित्रका खरमजुरको सम्भावित वासस्थानहरू हर्राबास, भिम्ले, सुखिभार, कसरा, अमृते, चपरचुली क्षेत्रमा अध्ययन गरिरहेको छ।
'हामीले खरमजुरको विषयमा समुदायमा र विद्यालयमा सचेतनाका कार्यक्रम पनि गरिरहेका छौं। खरमजुरको महत्त्व बुझाउने काम गरिरहेका छौं,' उनले भनिन्।
नेपाल पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत राना खरमजुर संरक्षणका लागि सरकारी निकायको प्रयास अपुग रहेको बताउँछन्। ठूला वन्यजन्तुलाई केन्द्रमा राखेर संरक्षण क्षेत्रको व्यवस्थापन गर्दा अतिसंकटापन्न अवस्थामा रहेका कतिपय जीवहरू लोप हुने जोखिम बढेको उनले बताए।