लमजुङको बाहुनडाँडाका बासिन्दाले चन्दा उठाएर भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण गरेका छन्।
मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको देवीको मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो। मन्दिर पुनर्निर्माण गर्न स्थानीय बासिन्दाले देश, विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपैयाँ संकलन गरेका थिए।
यो मन्दिर सोह्रौं शताब्दीमै निर्माण भएको अनुमान गरिएको छ।
वि.सं. १५१० मा तत्कालीन पुस्तुन बाहुनडाँडामा जन्मिएका कुश्माखर घिमिरेले मन्दिरको निर्माण गरेको मानिन्छ। घिमिरे लमजुङमा यशोब्रम्ह शाहलाई राजा स्थापना गरी शाहवंशीय राज्यको प्रादुर्भाव गराउने प्रमुख योजनाकार थिए। तत्कालीन राजाबाट श्री ३ को पदवी प्राप्त गरेका उनी सूर्य–चन्द्र अंकित झण्डाका तर्जुमाकार रहेको ऐतिहासिक दस्तावेजहरूमा भेटिन्छ।
वि.सं. १५५० मा यशोब्रम्ह शाह राजा भएपछि घिमिरेले लमजुङका ८ वटा कोटहरूको प्रतिनिधित्व गर्दै त्रिकोणात्मक पातामा ८ वटा कोण भएको सूर्य माथि र चन्द्र तल राखेर राष्ट्रिय झण्डाको ‘डिजाइन’ गरेका थिए।
पछि यशोब्रम्ह शाहका छोरा द्रव्य शाहले गोरखाको राजा भएपछि चन्द्रमा माथि र सूर्य तल राखेर राष्ट्रिय झण्डा तयार गर्न लगाएका थिए। पृथ्वीनारायण शाहले त्यही झण्डाको बिँड थपेर अहिलेको राष्ट्रिय झण्डा तयार पारेका थिए।
देवीको मन्दिरको उत्खननका क्रममा वि.सं. १८२५ का अभिलेखहरू भेटिएको देवीथान संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरेले जानकारी दिए।
‘भेटिएका अभिलेखहरूको अध्ययन गर्दा मन्दिर कुश्माखर घिमिरेले स्थापना गरेको अनुमान गर्न सकिन्छ,’ विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भई काम गरेर निवृत्त भएका घिमिरे भन्छन्, ‘उनले राजाबाट प्राप्त पुस्तुन मौजाको संरक्षणका लागि विभिन्न ठाउँहरूमा मन्दिर स्थापना गरेका रहेछन्। तीमध्ये यो मन्दिर पनि एक हो।’
उनकाअनुसार यस मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषी तथा योगीहरूले तपस्या गरेको इतिहास पनि भेटिएका छन्।
समितिका अर्का सल्लाहकार इन्जिनियर हेमनाथ घिमिरे पनि प्राप्त अभिलेख तथा किम्बदन्तीहरूको आधारमा यो मन्दिर कुश्माखर घिमिरेले नै स्थापना गरेको मान्न सकिने बताउँछन्।
बंगलादेशको पद्मा नदीमा बनेको दक्षिण एसियाकै नमुना मानिने पुलका जियो टेक्निकल इन्जिनियरसमेत रहेका घिमिरेले ऐतिहासिक तथा धार्मिक महत्वलाई उजागर गर्नेगरी मन्दिरको पुननिर्माण गरिएको बताए।
उनकाअनुसार यो मन्दिरमा पुगेर भाकल गर्नेको मनले ताकेका कुरा पुरा हुने विश्वास रहँदै आएको छ।
‘हाम्रा बाबु, बाजेदेखि रहँदै आएको धार्मिक विश्वासलाई अहिलेका युवाहरूले पनि मान्ने गरेका छन्। यो ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको महिमालाई सबैतिर फैलाउनु आवश्यक छ,’ घिमिरे भन्छन्।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन्। उनले इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको बताए।
‘पुस्तुन बाहुनडाँडा नेपालको राष्ट्रिय झण्डाका डिजाइनरको गाउँ हो भन्ने कुरा कमैलाई थाहा छ। यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको पनि गाउँ हो। उहाँहरूजस्ता महापुरूषको सम्मानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ,’ मन्त्री गुरुङले भने, ‘ऐतिहासिक विषयलाई पर्यटनसँग जोडेर यस क्षेत्रको आर्थिक विकास गर्न सकिने संभावना प्रशस्त छन्।’
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि आवश्यक पर्ने सहयोग गाउँपालिकाले गर्ने बताए।
पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्वार गरेका थिए।
२०७२ सालको भूकम्पले भत्काएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरूङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाएर आर्थिक संकलन सुरू गरिएको थियो। अध्यक्ष गुरुङले देवीथान मन्दिरमा आस्था राख्ने देश, विदेशमा रहेका नेपालीको सहयोगमा मन्दिरको मुहार फेरिएको जानकारी दिए।
कोषाध्यक्ष विनोद गुरूङका अनुसार मन्दिरको पुनर्निर्माणका लागि ३८५ जनाले आर्थिक सहयोग गरेका छन्। आर्थिक संकलन सुरू गरेयता संरक्षण समितिलाई ५९ लाख ९१ हजार ८ सय ६ रुपैयाँ प्राप्त भएको जानकारी उनले दिए। मन्दिर निर्माणमा अहिलेसम्म ६० लाख बढी खर्च भएको छ।
अध्यक्ष गुरुङले मन्दिर रहेको क्षेत्रमा पूर्वाधार निर्माणका केही काम बाँकी रहेको बताए। ती कामहरू सकेसम्म छिटो टुंगाउने उनले बताए। मनिप्रसाद गुरुङकै नेतृत्वमा मर्स्याङ्दी–५ मा बुद्धको १७ फिट अग्लो मूर्ति बनिरहेको छ। त्यहाँ ६ फिट अग्ला ८ वटा स्तुपाहरू बनिरहेका छन्।
‘यो ऐतिहासिक मन्दिर, कुश्माखर घिमिरे पार्क, मन्दिर नजिकै बनिरहेको राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क, बुद्धको मूर्तिले धार्मिकसँगै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिएका छौं,’ उनले भने।
समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको देवीथान मन्दिरलाई पर्यटनसँग जोड्न स्थानीयबासी लाग्ने बताए।
‘पर्यटन विकास गरी यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गर्दैछौं। यो अभियानमा युवादेखि वृद्धवृद्धासम्मको सहभागिता छ,’ उनले भने, ‘केही गरेन भनेर सरकारलाई गाली गर्दै बस्ने जमात बढिरहँदा यहाँ स्थानीयबासी मिलेर उदाहरणीय काम गरेका छौं।’
तस्बिरहरू:




