एकै परिवारका तीन जना र गाडी चालकसहित चार जनाको ज्यान जाने गरी सोमबार बिहान ताप्लेजुङमा भएको दुर्घटनाका पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनास्थल फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बूले दिएको जानकारी अनुसार मृतकहरूका आफन्तले नेपाल विद्युत प्राधिकरणसँग छलफलपछि मात्रै शव बुझ्ने बताएका छन्।
‘विद्युत प्राधिकरणसँग बसेर छलफल गर्ने, क्षतिपूर्ति, पीडित परिवारका सदस्यलाई प्राधिकरणमा रोजगारीको प्रबन्ध गर्नुपर्ने परिवारका सदस्यहरूले माग गर्नुभएको छ,’ उनले भने, ‘अहिले हामी जिल्ला प्रशासनमा बसेर छलफलको तयारी गर्दैछौं।’
उनका अनुसार घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। मृतकका परिवारसँग बसेर कुराकानीको तयारी भइरहेको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका तीन जना एकै परिवारका सदस्य हुन्।
घटनामा झापा भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षकी श्रीमती सरिता पौडेल, उनीहरूकी छोरीतर्फकी नातिनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो। गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।
दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ वर्षीया सबिना आचार्य र नाति वर्ष १० का अबियम आचार्य घाइते छन्।
ताप्लेजुङमा भएको यो घटनालाई नेपाल विद्युत प्राधिकरणले कसरी लिएको छ? प्राधिकरणको कमजोरीले यो घटना भएको हो कि होइन? हामीले यसबारे प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई सोधेका छौं।
प्रमुख ठाकुरले ताप्लेजुङमा भएको घटनालाई ‘दुर्घटना’ भन्दै प्राधिकरणको यसका दोष नरहेको बताएका छन्। दुर्घटना सधैं दुःखद् हुने बताउँदै उनले दुर्घटनाको प्राविधिक कारणबारे बताएका छन्।
‘हिजो राति त्यहाँ हावाहुरी र चट्याङसहित पानी परेको रहेछ, चट्याङले बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिने तारलाई च्यानलबाट तल झारिदिएछ,’ ठाकुरले भने, ‘बिजुलीको पोलमा त्यसरी तार राखेको ठाउँमा माटोको डल्लो पनि राखिएको हुन्छ। चट्याङले पहाडी इलाकामा त्यो डल्लो फुटाइदिन्छ। हिजो पनि फुटायो अनि तार च्यानलभन्दा तल खस्यो।’
पोलको च्यानलबाट तल झरेको तार यदि जमिनमा छोइएको भए त्यसले ‘फिडर ट्रिप’ हुन्थ्यो।
‘यसको अर्थ त्यो पोलमार्फत प्रवाह हुने ठाउँमा विद्युत अवरूद्ध हुन्थ्यो। त्यसरी बत्ती गएको भए प्राधिकरणका कर्मचारी समस्या खोज्न निस्कन्थे। तत्कालै समाधान भइहाल्ने थियो,’ उनले भने ‘तर, तार हावामा लत्रिएर रहेछ, भुइँमा छुनै पाएन। त्यसो हुँदा बत्ती पनि गएन। प्राधिकरणलाई केही थाहै भएन। बिहान हिँडेको गाडीमा छोइँदा मात्रै तार झरेको थाहा भयो।’
प्रमुख ठाकुरका अनुसार बिजुलीको तारले गाडीको छतमा छोइँदैमा मात्रै त्यसरी मान्छेलाई करेन्ट लाग्ने र गाडीमै आगलागी हुने अवस्था आउँदैनथ्यो।
‘त्यहाँ हिजोको पानीले बाटो हिलो भएको थियो भन्ने रिपोर्ट छ। त्यो तार गाडीको छतमा अड्कियो, गाडीको कुनै विद्युतीय सूचालक धातु (मेटल) ले जमिनमा छोएको हुनुपर्छ,’ उनले थपे ‘त्यसरी छोइँदा गाडीभित्र धुवाँ आएको हुनुपर्छ। जब धुवाँ आउन थाल्यो होला, भित्रका मान्छे बाहिर निस्कने क्रममा जमिनमा र गाडीमा एकैचोटि खुट्टा राख्दा गाडीभरि करेन्ट प्रवाह भएको हुनसक्छ।’
उनका अनुसार गाडीमा करेन्ट प्रवाह हुँदा पनि त्यहाँभित्र रहेका मान्छेको सम्पर्क जमिनसँग नभएको भए पनि मानवीय क्षति नहुन सक्थ्यो।
‘उहाँहरू आत्तिएर बाहिर निस्कने क्रममा एउटा खुट्टा गाडीमा र एउटा खुट्टा जमिनमा भएको हुनुपर्छ, जब खुट्टाले जमिन भेट्यो, करेन्ट सबैतिर फैलिएको हुनसक्छ,’ उनले थपे, ‘यदि उहाँहरू गाडीबाट सोझै भुइँमा हामफालेको भए करेन्टले असर गर्ने थिएन। तर करेन्ट फैलिएको गाडीमा रहेका उहाँहरूले जमिनमा पनि सम्पर्क स्थापित गर्नुभयो भन्ने लाग्छ।’
त्यस्तो अवस्थामा बाक्लो जुत्ता लगाएको भए पनि करेन्टको असर कम हुनसक्थ्यो।
‘तर, कि उहाँहरू पातलो जुत्तामा कि खाली खुट्टा हुनुहुन्थ्यो होला भन्ने देखिन्छ,’ उनले भने ‘अब घाइतेहरूको बयानबाट थप कुरा खुल्नसक्छ।’
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारले गएरातिको चट्याङका कारण इन्सुलेटरमा क्षति पुग्दा पोलबाट तार लत्रिएको बताए।
'राति चट्याङ परेर तार लत्रिएको रहेछ। यो भवितव्य घटना हो। गाडीले तार लत्रिएको नदेखेर पोलको छेउबाट गुडाउँदा यो दुःखद् घटना घट्यो। मानवीय क्षति हुनु अझ धेरै दुःखद् भयो,' उनले सेतोपाटीसँग भने।
प्रारम्भिक रूपमा घटनाबारे नियाल्दा उक्त सडकको कुनातर्फ पानी जमेको र छेउबाट गुडाउँदा लत्रिएको तार छोइएर घटना भएको देखिएको उनले बताए।
प्राधिकरणले अझ यसबारे विस्तृत अध्ययन पनि गर्ने उनले बताए।
'यो घटना कसरी भयो भनेर अझ हामी यसबारे अध्ययन गर्छौं,' उनले भने।