काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू तत्काल विद्यालय फर्कने अवस्था नदेखेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेको छ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि प्रदर्शन गर्दैछन्।
कक्षा १२ को परीक्षा आउन दुई दिनमात्रै बाँकी रहेको अवस्थामा सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्। शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नपाउने देखेपछि राजीनामा दिएकी थिइन्।
यो पनि: शिक्षक आन्दोलन चर्किरहेका बेला यसकारण दिइन् शिक्षा मन्त्री भट्टराईले राजीनामा
शिक्षकहरूको सडक आन्दोलन र शैक्षिक हड्तालका बीच दुई दिनपछि सरकारले कसरी परीक्षा सञ्चालन गर्छ भन्ने चासो छ।
कक्षा १२ कै परीक्षाका सन्दर्भमा छलफल गर्न मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक पनि बस्यो।
शिक्षकहरू विद्यालय नफर्कने अवस्था बनेका खण्डमा निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा बोर्ड उभिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐनका लागि शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नरहने भन्दै अविलम्ब वार्ता गरी विद्यालय फर्कन आग्रह गरिरहेको अवस्थामा बोर्डले पनि सम्भव भएसम्मका विकल्प खोजेर कक्षा १२ को परीक्षा चलाउन खोजेको हो।
बोर्ड बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष महाश्रम शर्माले परीक्षाको वातावरण बनाउन फेरि अनुरोध गर्ने निर्णय भएको बताए।
‘कक्षा १२ को परीक्षाका लागि यसअघि नै परीक्षा केन्द्र तोकिएको छ। विद्यार्थीहरू पनि समयमै परीक्षा होस् भन्ने चाहेका छन्,’ उनले भने, ‘हामीले विगतदेखि नै शिक्षक महासंघ, शिक्षकहरू, अभिभावकहरू, जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षाको वातावरण बनाउन अनुरोध गर्दै आएका छौं, आज पनि फेरि अनुरोध गर्ने कुरा भयो।’
वैशाख ११ गतेदेखि नै कक्षा १२ को परीक्षा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन बोर्डले जिल्ला परीक्षा समन्वय समितिदेखि आन्दोलनरत शिक्षकहरूलाई पनि अनुरोध गरेको छ भने विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न भनेको छ।
‘परीक्षाको मिति तलमाथि भएको छैन, अहिलेसम्मको अवस्थामा वैशाख ११ देखि नै कक्षा १२ को परीक्षा सञ्चालन हुन्छ,’ उनले भने, ‘विद्यार्थीहरू पनि परीक्षा तयारी गर्नुहोस्।’
कक्षा १२ को परीक्षाको तयारीमा पाँच लाख ५० हजारभन्दा बढी विद्यार्थी छन्। तोकिएको समयमै परीक्षा हुने वा नहुने अन्यौलबीच विद्यार्थीहरू परीक्षा तयारीमा छन्।
शिक्षकहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षणलगायत काम प्रभावित बनेको छ। यस्तो अवस्थामा कक्षा १२ को परीक्षा प्रभावित नबनोस् भन्ने पक्षमा बोर्ड र सरकार देखिन्छ।
शिक्षकहरूले गरेको शैक्षिक हड्तालका कारण देशभरका २८ हजार बढी सामुदायिक विद्यालयमा भर्ना अभियानलगायत प्रभावित भएको छ भने कतिपय स्थानीय तहहरूले शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्दै सूचना निकाल्न थालेका छन्।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकमा कतिपय सदस्यहरूले जिल्ला परीक्षा समन्वय समितिलाई थप सक्रिय बनाउँदै कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि नै गरिनुपर्ने र मिति सार्न नहुनेमा जोड दिएका थिए।
‘सिडिओलाई थप सक्रिय बनाउँदै कक्षा १२ को परीक्षा चलाउन सकिन्छ, सबै शिक्षक आन्दोलनमा आएका पनि छैनन्, उपलब्ध शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक तोक्ने र शिक्षकहरू उपलब्ध नभए निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्नुपर्छ,’ बोर्डमा उठेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘शिक्षकहरू विद्यालय नफर्केको अवस्थामा निजामती कर्मचारी राखेर पनि परीक्षा चलाउन सकिन्छ, लोक सेवाको परीक्षामा कर्मचारी नै खटिन्छन्, कर्मचारीले पनि विद्यालयका परीक्षा चलाउन सकिहाल्छन् नि!’
विगतमा सरकारसँग भएका सहमतिलाई समेट्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको आन्दोलन जारी रहेको बताए।
‘हाम्रो आन्दोलन यथावत् छ, आज पनि माइतीघर मण्डल आउनुहोला,’ उनले शिक्षकहरूलाई आग्रह गर्दै भनेका छन्, ‘आन्दोलनलाई निर्णायक बनाउन अझ जोड बलसहित जुटौं। आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधिबाहेक अन्य कार्यमा संलग्न नहुनुहोला।’
आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्न पनि उनले शिक्षकहरूलाई आग्रह गरेका छन्।
यो पनि: शैक्षिक हड्ताल घोषणा गरेका शिक्षकका माग के हुन्, अहिलेसम्म किन पूरा भएनन्?