पानी पार्ने प्रणाली नभित्रिएकाले देशभर गर्मी बढ्न थालेको मौसमविद्ले बताएका छन्।
अहिले नेपालको मौसमी प्रणालीमा पश्चिमी र स्थानीय वायुको आंशिक मात्रै प्रभाव छ।
बुधबार कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना पनि छ।
तर देशभरका तराईका भूभागमा भने गर्मी बढ्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। मंगलबार सुदूरपश्चिम प्रदेशका एक–दुई वटा केन्द्रमा अधिकतम ४० डिग्री तापक्रम मापन गरिएको उनले बताए।
‘देशभर तापक्रम बढिरहेको अवस्था छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा केन्द्रहरूमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि मापन भएको अवस्था छ,’ उनले भने, ‘त्यो सँगसँगै मधेस प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमको अधितकत तापक्रम ३८ डिग्री आसपास रहेको छ।’

आगामी दुई दिन पनि मौसम पूर्वानुमान हेर्दा कुनै पनि मौसमी प्रणाली त्यति धेरै सक्रिय नभएको देखिएको उनले बताएका छन्।
‘पश्चिमी वायुको र स्थानीय वायुको पनि आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम बढ्ने नै देखिन्छ,’ उनले भने।
उनले तातो हावाको लहर चल्न सक्ने औंल्याएका छन्। र, आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेका छन्।
सामान्यतया अधिकतम ४० डिग्रीभन्दा माथि तापक्रम रहन थालेपछि तातो हावा चल्ने पूर्वानुमान गरिन्छ।
‘दुई–तीन दिन निरन्तर ४० डिग्री अधिकतम तापक्रम रहनुपर्ने लगायत दुई–तीनवटा मापदण्ड छन्। हिजो केही स्थानमा ४० डिग्री तापक्रम रह्यो। आज र भोली पानी पर्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले तापक्रम बढ्ने नै देखिन्छ। आज र भोलिसम्मको मूल्यांकन गरेर हामी बताउनेछौं,’ मौसमविद् गोविन्द झाले बताए।
मौसमविद्का अनुसार शनिबारसम्म नेपालमा पानी पार्ने प्रणाली सक्रिय हुने छैन। शनिबारसम्म गर्मी बढ्ने, सुख्खा छाउने मौसमविद् विनोद पोखरेलले बताए।
‘यो हप्ता राम्रै गर्मी र सुख्खा हुने देखिन्छ। तर खुसीको कुरा अर्को वर्षालाई मनसुनसम्म कुनु पर्दैन,’ उनले भने।
उनले शनिबारदेखि पूर्वी नेपाल र बागमतीका पहाडी भेगमा वर्षा सुरू हुने उनले बताए।
‘अर्को हप्ता लगभग फेरि गएको हप्ताको जस्तै धेरै ठाउँमा वर्षा हुने देखिन्छ। आज पनि केही ठाउमा वर्षा भएको थियो,’ उनले भने।