उल्लेखनीय वर्षा नभएपछि देशभरि डढेलो फैलन थालेको छ।
आइतबार बिहानसम्म ३१ जिल्लामा डढेलोका घटना भएका छन्।
वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा अद्यावधिक विवरणअनुसार कैलाली र सुर्खेत जिल्लाका १६ स्थानमा डढेलोका घटना भएका छन्।
कञ्चनपुरमा ११, डडेलधुरा १०, मकवानपुरमा ८, प्यूठानमा ६ स्थानमा डढेलो लागिरहेको छ।
प्रणालीअनुसार गत वैशाख ८ गतेदेखि वैशाख १३ गतेसम्म देशभर २१२ स्थानमा डढेलोका घटना भएका छन्।
बढीजसो राष्ट्रिय निकञ्ज र मध्यवर्ती क्षेत्रमा डढेलो सल्किएका छन्। प्रणालीमा अद्यावधिक भएको विवरणअनुसार बर्दिया राष्ट्रिय निकुञ्जको आठ ठाउँमा र सोही निकुञ्जको मध्यवर्ती क्षेत्रको दुई ठाउँमा डढेलो लागेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र निकुञ्जमा गरी छ स्थानमा डढेलो लागेको छ। सोही राष्ट्रिय निकुञ्जको दुई स्थानमा डढेलो लागेको छ। मकालु वरूण राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्रको एक स्थानमा डढेलो लागेको छ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसहित पाँच ठाउँ र अपी नम्पा संरक्षण क्षेत्रको एक स्थानमा डढेलो लागेको छ। चितवन राष्ट्रिय निकुञ्जको तीन स्थानमा डढेलो लागेको छ।
-1745730803.gif)
पानी नपरेर सुख्खा बढेसँगै आगलागी र डढेलोका घटना बढेका हुन्। यसका अतिरिक्त सामुदायिक वनहरूमा पातपतिङ्गर, सुखेका रूख, हाँगाबिँगाहरू थुप्रिएर रहेका छन्। यस्ता ज्वलनशील वस्तुहरू समयमै जंगलबाट ननिकालिँदा डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको स्थानीयहरूले बताएका छन्।

डढेलो बढेसँगै देशभरको वायुको गुणस्तर पनि कमजोर बनेको छ।
पछिल्लो २४ घन्टामा धनगढीको एक्युआई १६०, काठमाडौंको शंखपार्कको १५८, भक्तपुरको १५५, रत्नपार्कको १५५, खुमलटारको १५३, अछामको १५२ पुगेको छ।
वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१– १०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ।
गत चैतको अन्तिम साता काठमाडौंसहित देशका केही स्थानको वायु हानिकारक तहमा पुगेको थियो।
चैतको अन्तिम सातादेखि नै सुरू भएको वर्षातले प्रदूषण र डढेलो दुवैलाई राहत दिएको थियो। त्यतिबेला देशका ४५ भन्दा बढी जिल्लामा डढेलो फैलिएको थियो।
यसपटक पनि आइतबार अपराह्नबाट देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यसका साथै बंगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।
जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार सोमबारदेखि तापक्रम घट्नेछ।
उनका अनुसार आजै अपराह्नबाट लगभग प्रत्येक दिन वर्षाको सम्भावना छ।
सोमबार अपराह्नबाट काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने उनले सम्भावना देखाएका छन्।
उनले सोमबारबाट तापक्रममा उल्लेखनीय कमी आउनेसमेत बताएका छन्।
यसबीचमा पानी पार्ने उल्लेखनीय प्रणाली नभएकाले सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो।
मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानको अधिकतम तापक्रम ३८ डिग्रीभन्दा माथि रहेकाले तातो हावा चल्नसक्ने समेत प्रक्षेपण गरिएको थियो।
आइतबार अपराह्नबाट भित्रने प्रणालीले गर्मीलाई मत्थर तुल्याउने मौसमविद्ले बताएका छन्।