अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्न तयारी थालेका छन्।
पहिलो कार्यकालमा ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोङ्ग-उनसँग दुई पटक शिखर वार्तासहित तीन पटक भेटेका थिए। तर दुई पक्षबीच सहमति नजुटे पछि ती वार्ता विफल भएका थिए।
दोस्रो कार्यकालमा पनि ट्रम्प सरकारले उत्तर कोरियासँग वार्ता गर्नका लागि आन्तरिक तयारी र बाह्य विज्ञहरूसँग छलफल थालेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
हाललाई सारा विश्वसँग भन्सार युद्ध सुरू गरेको ट्रम्प सरकार व्यापार बाहेक रूस र युक्रेनबीच युद्ध रोक्न र इरानसँग शान्ति वार्ता गर्नमा व्यस्त छ। त्यसैले उत्तर कोरियासँग वार्ता प्राथमिकतामा छैन।
तर पनि फेरि पनि किमसँग भेट गर्ने ट्रम्पको चाहना रहेकाले सरकारले त्यसबारे तयारी थालेको भनेर एक्सियसले एक जना ट्रम्प सरकारका वरिष्ठ अधिकारी र तीन अरू स्रोतको हवाला दिँदै लेखेको छ।
किमसँग के शर्तमा वार्ता गर्ने भनेर आन्तरिक छलफल, वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूको छलफल र थिंक ट्यांक लगायतका बाह्य विज्ञहरू परामर्श भइरहेको हो।
त्यसबारे अमेरिकी अधिकारीहरू र विज्ञहरूसँग परामर्शका लागि उत्तर कोरियाका लागि स्वीडेनका राजदूतले गत हप्ता अमेरिकाको भ्रमण गरे।
उत्तर कोरियामा अमेरिकी दूतावास छैन र स्वीडेनका राजदूतले त्यहाँ अमेरिकाको पनि प्रतिनिधित्व गर्छन्।
स्वीडेनका राजदूतसँग वार्ताको सुरूमा उत्तर कोरियाका कुन अधिकारीसँग कुरा गर्ने भन्नेबारे पनि छलफल भएको एक्सियसले जनाएको छ।
ट्रम्पको पहिलो कार्यकालका बेला अमेरिकासँग वार्तामा संलग्न लगभग सबै उत्तर कोरियाली अधिकारीहरूलाई किमले सफाया वा कारबाही गरेर पुन: पार्टी नीति पढ्न पठाइसकेका छन्। किमले अमेरिकी मामिलाका लागि कसैलाई पनि दूत नतोकेकाले पनि अहिले वार्ता सुरू गर्दा को सँग गर्ने भन्ने प्रष्टता छैन।
पहिलो कार्यकालको सुरूमा ट्रम्पले किमलाई ‘रकेट मेन’ भन्दै उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की दिए पनि पछि किमलाई तीन पटक भेटेका थिए। सन् २०१८ जुनमा सिंगापुर अनि २०१९ फेब्रुअरीमा हनोइमा दुई पटक शिखर वार्ता अनि २०१९ जुनमा उत्तर र दक्षिण कोरियाको सिमानामा भेटेका थिए।
त्यतिबेला किमसँग वार्ता गर्ने क्रममा ट्रम्पले पटक-पटक चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग त्यसबारे परामर्श गरेको बताइन्छ। ट्रम्पले धेरै पटक फोन गरेर दिक्क लगाएपछि चिनियाँ पक्षले सी चीनको उत्तर कोरिया हेर्ने 'डेस्क अफिसर' होइनन् भनेर ट्रम्पको सचिवालयलाई भन्नु परेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)