सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी नौ वर्षपछि पक्राउ परेका छन्।
हालको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरी पक्राउ परेका हुन्।
पक्राउ परेका चौधरी बसका सहचालक हुन्।
२०६२ मंसिर १७ गते ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रूकुम पश्चिमको खारा गाविस घर भई तुलसीपुर वडा नम्बर ५ नयाँ बसपार्क बस्ने २१ वर्षीय विद्यार्थी बिबाकर वलीको मृत्यु भएको थियो। मृतक राप्ती बबई क्याम्पसमा अध्यनरत थिए ।
उक्त दिन बस चौधरीले नै हाँकेका थिए। यो घटना दिउँसो १ बजेतिर तुलसीपुर वडा नम्बर ६ गुम्ह्राचोकमा भएको थियो।
दाजु प्रकाश वलीका अनुसार त्यो दिन उनका भाइ बिबाकर अहिले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक विजय डाँगीलाई बसमा छोडेर घरतर्फ फर्किंदै गर्दा सहचालकले हाँकेको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट बिबाकरको घटनास्थलमै मृत्यु भएको थियो।
दाजु प्रकाशका अनुसार बसले ठक्कर दिएपछि फेरि ब्याक गरेर किचेर मारेको भन्ने कुरा प्रत्यक्षदर्शी बताएको दाबी गरे।
घटनापछि फरार चौधरीलाई प्रहरीले हाल पक्राउपछि सार्वजनिक गरेको हो।