दाङको तुलसीपुरस्थित सामुदायिक वनमा 'मिनि जु' सञ्चालनमा छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको गणेश सामुदायिक वनमा राप्ती शान्ति उद्यान सञ्चालनमा छ।
यहाँ जीवजन्तु र पंक्षी हेर्न पाइन्छ।
हालै पोखराबाट यहाँ चितुवाका दुई वटा बच्चा ल्याइएका छन्। डिभिजन कार्यालय कास्कीबाट मानव बस्तीमा फेला परेका चितुवाका दुई महिना उमेरका भाले र पोथी चितुवाका बच्चालाई मंगलबार उद्यानमा ल्याएका हुन्।
शान्ति उद्यान विगतदेखि नै 'मिनि जु' का रूपमा परिचित छ। जहाँ डिभिजन कार्यालय कपिलवस्तुले पालनपोषणका लागि प्रदान गरेको झन्डै ४ वर्ष उमेरको एउटा भाले चितुवा पनि संरक्षण गर्दै आइएको छ।
त्यसअघि पनि यहाँ चितुवा पालिएको थियो। तर ६ महिनाअघि उक्त चितुवा मरेको थियो। अर्को एउटा चितुवा भने यहाँबाट भागेको थियो।
शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीका अनुसार अहिले सात वटा मृग, ६ वटा रतुवा, २ वटा अजिङ्गर, २ वटा अष्ट्रिज, एउटा दुम्सी, दुई वटा बाँदर, वन खरायो, चाइनिज मुसा, लाटोकोसेरो, चिललगायका पशुपंक्षीहरू संरक्षण गरिएका छन्।
उद्यानमा रहेको चितुवालाई दुई दिनको अन्तरालमा पााच केजी राँगाको मासु दिने गरिएको छ। मंगलबार बिहान आइपुगेका दुई चितुवाका बच्चालाई कुखुराको मासु दिन पशु चिकित्सकले सुझाएका छन्। साथै कुकुरका बच्चालाई खुवाउने दूध पनि खुवाउन चिकित्सकले सुझाएको अध्यक्ष भण्डारीले बताए।
चितुवाका बच्चालाई केही समय छुट्टै राखेर हेरचाह र पालनपोषण गरेपछि 'मिनि जु' मा अवलोकनका लागि राखिनेछ।चितुवाको बच्चा पाल्नका लागि मासिक बढीमा दश हजार जति खर्च आउने उनको अनुमान छ। चितुवाका बच्चाको नाम पनि राखिनेछ।
मिनी जुमा राखिएका पशुपंक्षीको व्यवस्थापन र आहार खर्च शान्ति उद्यानले टिकट शुल्कबाट उठाउँदै आएको छ। उद्यान भित्र प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ। विद्यार्थीलाई प्रति व्यक्ति ३५ रुपैयाँ लाग्छ भने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकले नि:शुल्क प्रवेश पाउँछन्।
अध्यक्ष भण्डारीका अनुसार सामुदायिक वनका सदस्यका परिवारले मात्रै उद्यानभित्र आउने पाहुना र पर्यटकको फोटो खिच्न पाउने व्यवस्था गरिएको छ।

अवलोकनमा आउनेहरूले आफै फोटो खिच्न पाउँदैनन्। फोटो खिच्नेहरूबाट मासिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको छ। टिकट शुल्कबाट मात्रै उद्यानको मासिक आम्दानी झन्डै १३ लाख जति हुँदै आएको भण्डारीले बताए। त्यसमध्ये आधा जति व्यवस्थापन तथा निर्माण कार्यमा खर्च हुने गरेपनि आधा रकम मासिक रुपमा बचत हुँदै आएको छ।
मेडिकल व्यवसायी हरि रिजालले उक्त वनमा उद्यानको रूपमा विकास गरेका हुन्। यो उद्यान २०६९ माघ ८ गते स्थापना भएको थियो।
यहाँ जंगलसहित क्षेत्रफल १६ बिघा छ भने पछिल्लो समय बाहिर छुट्टै विकास गरिएको पार्किङ र पिकनिक स्पटसहित १८ बिगाहा क्षेत्रफलमा उद्यान फैलिएको छ।

सुरूमा यो उद्यानको विकासका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता स्वर्गिय देबेन्द्र गिरीले जिल्ला विकास समितिको सभापति छँदा बजेट छुट्याएका थिए।
त्यसपछि नेपाली कांग्रेसबाट निर्वाचित संविधान सभा सदस्य बुद्धिराम भण्डारी र नेकपा (एकीकृत समाजवादी) की नेता अनारकली मियाले सांसद विकास कोषको झन्डै ३५ लाख बजेट दिएका थिए।
हालसम्म राज्य र उद्यानको आफ्नै कमाइ गरी झन्डै १२ करोड खर्च गरिएको शान्ति उद्यानमा वरिपरि पर्खाल लगाउनेदेखि भित्र बुद्धको मूर्ति, आकर्षक फाउन्टेन, बालबालिका, जेष्ठ नागरिक तथा युवायुवती लक्षित गरी विभिन्न आकर्षक संरचनाहरू निर्माण गरिएका छन्।
यो उद्यानले पार्क भित्रैको उत्तरकुनोमा तुलसिपुरका मञ्जित बाठालाई भाडामा दिएको छ। जहाँ बालबालिकाको लागि खाजा नास्ताको रेष्टुरेन्ट पनि सञ्चालन गरिएको छ।
गणेश सामुदायिक वनमा २०५९ सालमै शान्ति उद्यान स्थापना भए पनि तत्कालीन पदाधिकारीका विरूद्ध रकम हिनामिनाको आरोपसहित अख्तियारमा मुद्दा परेपछि यो केही वर्ष ओझेलमा परेको थियो।
हालका अध्यक्ष भण्डारीका अनुसार २०७७ सालपछि मात्रै उद्यानको चर्चा चुलिएको हो।
गत वर्ष मात्रै उद्यानभित्र लुम्बिनी प्रदेश सरकारले स्वीमिङ पुलमा लगानी गरेको थियो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पालामा स्वीमिङपुलमा लगानी भएपछि बोटिङमा रमाउनेहरूको संख्या पनि बढ्दै गएको छ।
