अमेरिकी खुद्रा बिक्रेता अमेजन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सारका कारण बढेको भाउ सामानसँगै उल्लेख गर्ने योजनाबाट पछि हटेको छ।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।
ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका छन्। ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन्। त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन्।
उनले चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाएका छन्। पटक पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।
यसरी ट्रम्पले लगाएको भन्सार महसुलका कारण अमेरिकाले आयात गर्ने लगभग सबै वस्तुको भाउ बढेको छ। यस्तोमा भाउ बढाउँदा उपभोक्ता नरिसाउन् भनेर अमेजनले ट्रम्पले लगाएको भन्सारका कारण बढेको भाउ पनि मूल्यमा उल्लेख गर्ने योजना बनाएको समाचारहरू आएका थिए।
तर ट्रम्पको दबावका कारण अमेजन सो योजनाबाट पछि हटेको छ। सो योजनाबारे समाचार आएपछि ट्रम्पले अमेजनका मालिक जेफ बेजोसलाई फोन गरेर विरोध जनाएका थिए।
ट्रम्प सरकारका अधिकारीहरूले पनि अमेजनको सो योजनालाई शत्रुवत र राजनीतिक कार्य भनेर आलोचना गरेका थिए। त्यसपछि अमेजन सो योजनाबाट पछि हटेको छ।
पछि हट्ने मात्रै नभएर अमेजनले त्यस्तो योजना नै नभएको दाबी गर्यो। शुरूमा त्यस्तो दाबी गरे पनि पछि भने सो योजनाको अनुमोदन भएको थिएन र अब लागु पनि नहुने बताएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
ट्रम्पको पहिलो कार्यकालमा बेजोसको द वासिङटन पोस्टले उनको व्यापक विरोध गरेको थियो। दोस्रो कार्यकाल पनि जित्ने लक्षण देखिएपछि भने गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचन अघिदेखि नै बेजोस उनलाई खुशी पार्न लागेका छन्।
निर्वाचनअघि बेजोसले कुनै पनि उम्मेदवारलाई वासिङ्टन पोस्टले अनुमोदन नगर्ने निर्णय गरेका थिए।
अमेरिकामा प्रायः जसो पत्रिकाले हरेक राष्ट्रपतीय निर्वाचनमा कुनै न कुनै उम्मेदवारलाई अनुमोदन गर्छन्। वासिङ्टन पोस्ट आफैले पनि सन् १९७६ मा डेमोक्र्याटिक पार्टीका जिमी कार्टरलाई अनुमोदन गरेपछि सन् १९८८ बाहेक हरेक चुनावमा कोही न कोहीलाई अनुमोदन गरेको थियो।
सबभन्दा धेरै पाठक भएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि गत चुनावमा डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसलाई अनुमोदन गरेको थियो।
वासिङ्टन पोस्टले पनि उनैलाई अनुमोदन गर्ने अपेक्षा थियो। पोस्टको सम्पादकीय लाइन निर्धारण गर्ने र विचार पृष्ठ हेर्ने सम्पादकीय बोर्डले ह्यारिसालाई अनुमोदन गरेको लेख लेखिसकेपछि पोस्टका मालिक बेजोसले अन्त्यमा कसैलाई अनुमोदन नगर्ने निर्णय गरेका थिए।
अरू धेरै व्यवसाय गर्ने अमेजनका संस्थापक बेजोसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई खुसी पार्न वा उनी रिसाउलान् भनेर डराएर यस्तो निर्णय गरेको भनेर सम्पादकीय बोर्डका सदस्य लगायत कर्मचारी र पूर्व कर्मचारीहरूले व्यापक विरोध गरेका थिए। बेजोसको सो निर्णयपछि वासिङ्टन पोस्टका लाखौं सबस्क्राइबर घटेका थिए।
अमेरिकाको सरकारी संस्था नासासँग ३.४ अर्ब डलरको करार भएको बेजोसको कम्पनी ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पले ट्रम्पसँग भेट गरेकै दिन बेजोसले अनुमोदन नगर्ने निर्णय गरेका थिए।
निर्वाचनपछि पनि बेजोसले ट्रम्पको शपथ ग्रहणका लागि ठूलो रकम चन्दा दिएका थिए। पोस्टले निष्पक्ष लाइन लिने भनेर उनले सम्पादकीय नीति नै परिवर्तन गरेर ट्रम्प विरोधी लेखहरू छापिन छोडेपछि धेरै पत्रकारहरूले पोस्ट छोडेका छन्।
ट्रम्पलाई खुशी पार्न स्ट्रिमिङ सेवा पनि चलाउने अमेजनले चार करोड डलर तिरेर अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पबारे डकुमेन्ट्री बनाउने सम्झौता पनि गरेको छ।
यस्तोमा ट्रम्पको दबावपछि उनले लगाएको भन्सारका कारण बढेको भाउ सामानसँगै उल्लेख गर्ने अमेजनको योजनाबाट पनि बेजोस पछि हटेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)