युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्।
यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
आइतबार सामाजिक संजाल एक्समा लेख्दै जेलेन्स्कीले सो प्रस्तावको स्वागत गरेका छन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘रूसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न सुरू गरेको कुरा एक सकारात्मक संकेत हो’ भनेका छन्।
साथै उनले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए।
बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले शुक्रबार किभमा जेलेन्स्कीसँग भेटेपछि ३० दिने युद्धविरामको प्रस्ताव गरेका थिए। उनीहरूले सोमबार सम्ममा सो प्रस्ताव कुनैपनि शर्त नराखी स्वीकार गर्न रूसलाई आग्रह गरेका थिए।
पुटिनले भने सो प्रस्ताव अस्वीकार गर्दै बरू युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। पुटिनको सो प्रस्तावको स्वागत गरे पनि जेलेन्सकीले तत्काल युद्धविरामको पनि माग गरे।
‘विश्वले यो कुराको लागि धेरै लामो समयदेखि प्रतीक्षा गरिरहेको छ। र कुनै पनि युद्धलाई साँच्चै समाप्त गर्ने पहिलो कदम भनेको युद्धविराम हो। एक दिन पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन। हामी रूसले भोलि, मे १२ देखि पूर्ण, दिगो र विश्वसनीय युद्धविराम गर्नेछ भन्ने अपेक्षा गर्छौं। अनि युक्रेन वार्ताका लागि तयार छ,’ उनले एक्समा लेखेका छन्।
त्यसअघि पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गर्दै त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्कीका राष्ट्रपति रजिप तयिप अर्दोगानलाई भनेको पनि बताएका थिए। अर्दोगान रूस-युक्रेन युद्धविरामको पहलका लागि तयार भएको पनि पुटिनले जानकारी दिएका थिए।
रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आएका छन्।
अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।
तर ती वार्ताहरूबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पटक-पटक पुटिनसँग लामा-लामा छलफल गरेर युद्धविराम सहमतिका लागि प्रयत्न गरेका थिए। तर सफल हुन सकेको छैन।
यसअघि अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सिमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका थिए।
पुटिन युद्धविरामका लागि तयार नभए रिसाएर रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने ट्रम्पले चेतावनी समेत दिएका थिए। युरोपेली मुलुकहरूले पनि रूसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका छन्।
शुक्रबार चार युरोपेली सरकार प्रमुखहरूले ३०-दिने युद्धविरामको प्रस्ताव गर्दा पनि रूसले सो प्रस्ताव नमाने ट्रम्पसँग सहकार्य गरेर अझै कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)