यौनिक तथा अल्पसंख्यक समुदायका कथा
एक दिनको कुरा हो। युबी मगर कार्यालय जाँदै थिए। अचानक बाटोमा दुई–तीन वर्षअघि चिनजान भएकी केटी साथी भेटिइन्।
नजिकै आएर ती साथीले भनिन्, 'तिमी त केटीजसरी हिँड्ने रहेछौ। पछाडिबाट हेर्दा म झुक्किएँ।'
यति भनेर साथी गलल्ल हाँसिन्।
युबी मुस्कुराए मात्र।
'एक दशकदेखि यही सुन्दै आएको छु। हिजडा, छक्का के के भन्थे, भन्थे। पहिले पहिले त मन दुख्थ्यो। अचेल मन ढुंगाजस्तो भइसक्यो। स–साना तीरले घोच्दैन,' २७ वर्षीय युबीले भने।
चार वर्षअघिसम्म युबी यस्ता थिएनन्। अरूले आफ्नो शारीरिक हाउभाउमा गर्ने टिप्पणी सुनेर उनी आफै पनि अलमल हुन्थे। किनभने उनलाई आफ्नो यौनिकताबारे यकिन थिएन। अहिले भने निर्धक्क आफूलाई 'गे' (समलिंगी पुरूष) भन्न सक्ने हिम्मत जुटाएका छन्।
युबीले आफ्नो वास्तविक पहिचान आमाबुबालाई भने प्रत्यक्ष रूपमा सुनाएका छैनन्। उनी सञ्चार माध्यमहरूमा भर्खरै खुलेर बोल्न थालेका हुन्। त्यहीँबाट आमाबुबाले थाहा पाऊन् भन्ने उनको चाहना छ।
'उहाँहरूले सोध्नुभयो भने म गे हुँ भन्ने हिम्मत पलाएको छ। झुट बोल्दिनँ,' उनले भने।
युबीको जन्म सुनसरीको धरान उपमहानगरपालिका–४ मा २०५५ सालमा भएको हो। आमाबुबाका आठमध्ये सातौं सन्तान हुन्। उनका आमाबुबा खेतीपाती गर्थे।
युबी दुई/तीन वर्षको हुँदासम्म एक दाइ, दुई दिदीको बिहे भइसकेको थियो। अरू दाइदिदी पढ्न मोरङको केराबारी बस्थे। त्यहाँ पनि उनीहरूको घर छ।
तीन वर्षको हुँदा युबी पनि केराबारी गए। उनी दाइदिदीकै छत्रछायामा हुर्किए, पढे र बढे। स्कुलमा उनको नाम टीका बालामपाकी मगर थियो। प्रमाणपत्रहरूमा पनि यही नाम छ। तर उनी आफूलाई युबी मगर भनेर चिनाउँछन्।
उनी स्कुलका हरेक कार्यक्रमहरूमा नाच्थे। हरेक पटक उनको नाचको चर्चा हुन्थ्यो।
'जहिल्यै केटीजस्तो नाच्छ भन्थे,' उनले पुराना दिन सम्झिँदै भने, 'साथीहरूले त केटा होइन कि क्या हो पनि भन्थे।'
नाच मात्र होइन, अनुहार, हिँडाइ, हाउभाउ समेत केटीको जस्तो भन्दै गिज्याउँथे उनलाई।
उनकी आमाले पनि एकपल्ट भनेकी थिइन्, 'तँ केटीजस्तो छस्, कुन केटीले हेर्ली तँलाई!'
यसरी आफन्त, साथीहरूले आफ्नो पहिचानमाथि प्रश्न गरिरहँदा उनी केही बोल्न सक्थेनन्। त्यति बेला उनी आफैलाई पनि आफ्नाबारे थाहा थिएन।
जसले जे भने पनि उनले नाच्न छाडेनन्। उनको यो रूचि देखेरै उनलाई सबैले नाच सिक्न सुझाव दिए। उनलाई पनि नाच सिकाउने ठाउँमै गएर आफ्नो कला निखार्न मन भयो। आमाबुबाले उनको आग्रह माने।
२०७४ सालमा एसइई दिएपछि उनी धरानमै नाच सिक्न थाले। उनको नृत्य र मेहनतको कदर र प्रशंसा गर्दै डान्स एकेडेमीले उनलाई जागिर नै दियो।
'बिहान म सिक्थेँ। दिउँसो तीन वटा स्कुलमा गएर एक/एक घन्टा सिकाउँथेँ,' उनले भने, 'त्यसवापत मासिक १० हजार रूपैयाँ पाउँथेँ। खर्च पुग्थ्यो।'
स्कुल पढ्दा सोधिने प्रश्नले उनलाई कलेजमा पनि छाडेन। उनी सदाझैं मौन रहे। आफूसँग जबाफ नभएपछि पहिचान माथि प्रश्न गर्ने साथीहरूसँग बोलचाल बन्द गरे। प्रश्न कसैगरी नरोकिएपछि उनले साथी बनाउनै छाडे। एक्लै बस्न, हिँडडुल गर्न थाले।
बिहान कलेज जानु र नाच सिक्नु, दिउँसो स्कुलमा गएर विद्यार्थीलाई सिकाउनु उनको दिनचर्या थियो। साथी नबनाई उनको प्लस–टू सकियो।
त्यसपछि पनि उनले नाच सिकाउने काम गरिरहे। केही भिडिओ एकेडेमीले सामाजिक सञ्जालमा राखेको थियो। ती भिडिओ हेरेर काठमाडौंबाट एक दम्पतीले उनलाई फोन गर्यो।

'उनीहरूले तपाईंको नाच एकदम राम्रो छ, काठमाडौं आएर हामीसँग काम गर्नुहोस्, राम्रो तलब दिन्छौं भनेपछि आउन राजी भएँ,' युबीले भने।
युबीलाई काठमाडौं आउन बसको टिकट पनि उनीहरूले नै काटिदिए। मुखैमा आएको तिहार छाडेर उनी काठमाडौं हानिए।
यो २०७७ सालको कुरा हो।
सो दम्पती बस्ने र नाच सिकाउने कार्यालय नयाँबानेश्वरमा थियो। युबी उनीहरूसँगै बसेर नाच सिकाउन थाले। उनले आफ्नो भविष्य उज्यालो देखिरहेका थिए।
'म उनीहरूसँगै बसेर बिहान–साँझ नाच सिकाउँथेँ। तर दिउँसो उनीहरूको घरको सबै काम गरिदिनुपर्थ्यो। बालबच्चा हेरिदिनुपर्थ्यो,' युबीले भने, 'ठुल्ठूला सपना देखाएर बोलाएका थिए। यथार्थ अर्कै भयो।'
युबीलाई उनीहरूको घरमा बस्न धेरै सकस भयो। तर काठमाडौंमा उनको चिनजान कसैसँग थिएन। त्यसैले झट्ट निस्केर हिँडिहाल्न सकेनन्। एक महिनापछि त्यो दम्पतीसँगै युबी नयाँबानेश्वरबाट डेरा सरेर डल्लू पुगे। कोठा फेरिए पनि युबीको दैनिकी फेरिएन।
यसपछि भने उनले त्यहाँबाट निस्किने उपाय सोच्न थाले।
एक दिन, डल्लू सरेको डेढ महिना भएको थियो, युबी घुम्न जान्छु भनेर कामको खोजीमा सुन्धारा पुगे। त्यहाँका बारहरू छिर्दै 'डान्सर चाहिएको छ' भनेर सोधे।
'आफूले जानेको त्यही नृत्य थियो। त्यसैले त्यही काम खोज्दै हिँडे,' उनले भने।
एउटा बारका मालिकले उनलाई साँझ ५ बजे आएर नाच देखाउनू, अनि मात्र जागिर दिन्छु भने। युबी बारमा दिउँसो गएका थिए, त्यसैले फर्किए। हतार हतार घरको सबै काम सकेर बार पुग्दा साँझ ६ बजिसकेको थियो। उनी पुग्दा त्यहाँ अरू डान्सरहरू नाचिरहेका थिए। उनलाई पुग्नासाथ दर्शकका अगाडि नाच्न भनियो।
'मलाई जुत्ता लगाएर नाच्नू भने। तर म चप्पल लगाएर गएको थिएँ। अनि त्यहीँ काम गर्ने एक जनासँग जुत्ता मागेर नाचेँ,' उनले भने, 'त्यो दिन मलाई जुत्ता दिने त्यो साथीलाई म कहिल्यै बिर्सिन सक्दिनँ।'
उनको नाच त्यहाँ उपस्थित धेरैले मनपराए। केहीले टिप्स पनि दिए। दर्शकले नै मनपराएपछि बार मालिकले उनलाई जागिर दिए।
उनी बिहान त्यही दम्पतीकोमा नाच सिकाउँथे। दिउँसो उनीहरूको घरको काम गर्थे। साँझ बारमा नाच्थे। बारमा काम थालेपछि उनको कमाइ पनि हुन थाल्यो। तर यो कुरा दम्पतीलाई चित्त बुझेन।
'बारमा काम थालेपछि उनीहरू अपशब्द बोल्न थाले। नराम्रो व्यवहार गरे,' उनले भने।
त्यहीबीच उनका गाउँका साथीसँग फेसबुकमा कुराकानी भयो। संयोग, ती साथी काम गर्न भनेर काठमाडौं आएर बस्न थालेका रहेछन्। युबीले आफ्नो समस्या सुनाए। साथीले आफूसँगै आएर बस्न भने।
युबीलाई के चाहियो, उनी डल्लूबाट भागेर सातदोबाटो पुगे। योसँगै उनको सुन्धाराको बारको जागिर छुट्यो। उनी फेरि काम खोज्न थाले। चाबहिलको एक बारमा काम पाए। ६ महिनापछि उनी नयाँ बसपार्कको अर्को बारमा काम गर्न थाले। सातदोबाटोबाट आउजाउ गर्न टाढा भयो। त्यसैले नयाँ बसपार्कमै बार नजिकै एउटा कोठा खोजे र एक्लै बस्न थाले।
'एक्लै बस्दा भोक र अभाव झन् धेरै बुझियो,' उनले भने।
बारमा नाच्दानाच्दै उनलाई मोडलिङ गर्ने अवसर मिल्यो। तर त्यहाँ पनि धेरैले उनलाई 'केटी जस्तो' भन्दै जिस्क्याए।

एक साथीले भने शारीरिक रूपमा केटा भए पनि भावनात्मक रूपमा केटी हुन सक्ने भन्दै यौनिक तथा अल्पसंख्यक समुदायका बारेमा जानकारी दिइन्। त्यसपछि यो समुदायका मान्छेसँग भेटघाट र कुराकानी गरे।
अन्ततः चार वर्षअघि, उनलाई आफू समलिंगी पुरूष भएको थाहा भयो।
'बल्ल मेरो मनको हलचल शान्त भयो। आफूले त्यतिका समय भोगेको कुराहरूको जड थाहा भयो। तर यो कुरा मैले कसैलाई भनिनँ। मनमा कुरा राखिरहँदा पनि उकुसमुकुस हुन्थ्यो। छाति पोल्थ्यो,' उनले भने, 'अनि बिस्तारै आफ्नै समुदायका व्यक्तिहरूसँग मात्र बोल्न, भेटघाट गर्न सजिलो लाग्न थाल्यो।'
यौनिक तथा अल्पसंख्यक समुदायका कतिपय व्यक्तिले गर्वसाथ आफ्नो पहिचान खुलाएको देख्दा उनलाई पनि हिम्मत आउन थाल्यो। आफूसँग मिल्ने साथीहरूलाई आफू समलिंगी भएको बताउँदै गए। कतिले सामान्य रूपमा स्वीकार गरे, कतिले नकारात्मक माने। जे भए पनि युबीलाई आफ्नो पहिचानको ठूलो अलमल मेटिएझैं भयो।
'आफ्नो वास्तविकता पहिले आफूले स्वीकार गर्न सक्नुपर्ने रहेछ। अनि बाहिर भन्न सकिने रहेछ,' उनले भने, 'अरूले जे भनेपछि आफू के हुँ भन्ने प्रश्नको आखिरमा अन्त्य भयो। वास्तविकता स्वीकार गर्दा म आफू भएर बाँच्न पाएँ।'
कामको सिलसिलामा उनको कला क्षेत्रका मानिसहरूसँग चिनजान बढ्दै गयो। एक–दुइटा गीतमा मोडलिङ पनि गरे। त्यही बेला उनको भेट नृत्य कलाकार ममता माझीसँग भयो जो स्पा–थेरापी पनि गर्थिन्। ममताले युबीलाई थेरापी सिक्न भनिन्।
विदेश जाने सोच राखेर तीन वर्षअघि युबीले स्पा–थेरापी सिके।
'म्यानपावर पैसा र पासपोर्ट लिएर फरार भएपछि जान पाइएन,' उनले भने, 'पासपोर्ट र पैसा फिर्ता पाउन झन्डै एक वर्ष लाग्यो।'
विदेश जान नपाए पनि थेरापी सिकेको फाइदा भयो। उनले राम्रो तलबको काम पाए। यसपछि बारमा नाच्न छाडिदिए। विभिन्न कार्यक्रमहरूमा भने आफ्नो कला देखाउन छाडेका छैनन्। हाल उनी काठमाडौं महानगरपालिका–२६ ज्याठामा बस्छन्।
केही महिनाअघि उनले एउटा भिडिओमा आफू गे भएको जानकारी गराएका थिए। सो भिडिओ हेरेर दाइदिदीले फोन गरे र गाउँमा उनको कुरा काटिरहेको सुनाए।
युबीले पनि गाउँले कुरा काटेर केही फरक पर्दैन, जे सत्य हो त्यही भनेको हुँ भनिदिए।
यति भइसक्दा पनि उनका आमाबुबाले उनलाई प्रत्यक्ष रूपमा सोधेका छैनन्।
'गाउँभरि हल्ला हुँदा आमाबुबालाई थाहा भयो होला। थाहा नभए पनि यो कथाको माध्यमबाट थाहा होस् भन्ने चाहन्छु,' उनले भने, 'केही महिनादेखि नै मैले आफ्नो बारेमा सञ्चार माध्यममा खुलस्त भनिरहेको छु। त्यसैले अब प्रश्न गरे मसँग उत्तर छ।'
युबीले थपे, 'किनभने, म आफू समलिंगी भएको थाहा पाएपछि नै स्वतन्त्र भएर बाँच्न थालेको हुँ।'