हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पनि महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
प्रि–मनसुन सिजनमा उल्लेख्य वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा काभ्रेको पनौती क्षेत्रमा मध्यम वर्षा भयो। त्यहाँ बाढी नै आएको र एक महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ४३.६ मिलिमिटर वर्षा भएको छ।
अन्यत्र धेरै स्थानमा पनि मध्यम वर्षा मापन भएको छ।
गुल्मीको तम्घासमा ५६.४, मुसिकोटमा ३४.४, काभ्रेको रोशी खोलामा ४१, स्याङ्जाको पञ्चमूलमा ३५.२, पर्वतको कार्किनेटामा २३, स्याङ्जाको स्याङ्जामा २०.८ मिलिमिटर वर्षा भएको छ।