जेठ १५ गते एकाबिहानै चितवनका सञ्चारकर्मी शालिग्राम नेपालले नागढुंगा–नौबिसे खण्डमा यात्रुले व्यहोर्दै आएको सकस चित्रण गर्दै फेसबुकमा स्ट्याटस लेखे।
त्यसको अघिल्लो दिन राति उनी भरतपुर जान कलंकीबाट गाडी चढेका थिए। थानकोट छिचोल्नै झन्डै साढे तीन घन्टा लाग्यो। त्यहाँबाट जेनतेन पास भएका उनी रात ढल्किएसँगै आफू पनि सिटमा ढल्किएका थिए। ब्युझिँदा भरतपुर पुगियो होला भन्ठानेको, नागढुंगा चेकपोस्ट पनि कटेका रहेनछन्।
चार–पाँच घन्टामा पुगिने दुरीमा उनी झन्डै १२ घन्टा जाममा फसेका थिए। त्यसले उनले स्ट्याटस लेखे, 'जेठ १४ गते राति ९ बजे कलंकीबाट भरतपुर हिँडेको थिएँ, थानकोट कटेपछि जाममा परियो। अब खुल्दै जाला भनेर बसमै सुतियो। बिहान भरतपुर पुगियो होला भनेर हेरेको त नागढुंगा चेकपोस्ट पनि आएको रहेनछ।'
यो नागढुंगा–नौबिसे खण्ड हुँदै यात्रा गर्ने जो कसैको साझा सकस हो। घुम्ती नै घुम्ती र दुइटा गाडी मुस्किलले अट्ने यो खण्डमा एउटा सवारी साधन बिग्रियो वा दुर्घटना पर्यो भने यात्रुको भागमा सकस थपिन्छ। घन्टौं जाममा बस्नुपर्छ। घ्याच्च–घ्याच्च रोकिँदै अघि बढ्ने सवारी साधनले कहिले गन्तव्यमा पुर्याउँछ भन्न सकिँदैन।
त्यसैले केही यात्रुले यो अत्यास र उच्चाटलाग्दो सकस छल्न हवाई मार्ग रोज्छन्। महँगै मूल्य तिरेर भए पनि हवाई मार्गबाट गन्तव्य पुग्छन्। हवाई यात्रा गर्न नसक्ने र नियमित आउजाउ गरिरहनुपर्नेलाई भने यो सकस बाध्यतापूर्ण बनेको छ।
अब यो सकसबाट पार पाउने गरी विकल्प तयार भएको छ। अर्थात्, यो अत्यासलाग्दो जाम छिचोल्दै सिधै सिस्नेखोलाबाट टुटीपाखा पुगिने गरी अघि सारिएको नागढुंगा सुरूङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। यसको काम ९० प्रतिशत पूरा भइसकेको सुरूङ परियोजनाले जनाएको छ।
सुरूङ सञ्चालनमा आएपछि करिब ८ किलोमिटर दुरी छोट्टिन्छ भने बलम्बुबाट सिस्नेखोला ३ देखि ५ मिनेटमै पुग्न सकिनेछ।
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगाबाट बाहिरिने खण्ड अर्थात् टुटीपाखामा सुरूङ शिलान्यास गरेका थिए। ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो। कोरोना, स्थानीयसँगको विवाद, ढिलासुस्ती लगायत संक्रमण व्यहोर्दै सुरूङ मार्ग ५३ महिनामा 'ब्रेकथ्रू' भएको थियो। २०८१ वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरूङको ब्रेकथ्रू भएको हो।
त्यसको एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी तयारी थालेको भए पनि केही काम बाँकी छन्। अहिले मुख्य सुरूङभित्र बत्ती र सिसिटिभी जडान भइरहेको छ। रङरोगन पनि जारी छ।
सरकारले आगामी दसैंबाट सुरूङ मार्गमा सवारी आवतजावत गराउने तयारी गरेको छ। निर्माण पक्षले भने अझै केही समय लम्बिने जानकारी दिएको छ।
आयोजनाको परामर्श संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार नागढुंगा सुरूङ सञ्चालनको प्रारूप तयार भइरहेको छ। केही उपकरणको जडान कार्य बाँकी छ। त्यो सकिएपछि विज्ञहरूको उपस्थितिमा परीक्षण हुनेछ।
धादिङको धुनीबेसी–९ सिस्नेखोलाबाट प्रवेश भएर चन्द्रागिरि–१ टुटीपाखा जोड्ने मुख्य सुरूङ २ किलोमिटर ६८८ मिटर छ। त्योसँगै अर्को समानान्तर सुरूङ पनि छ। त्यसको लम्बाइ २ किलोमिटर ५५७ मिटर हो।
मुख्य सुरूङमा सवारी साधन आवतजावत गर्छन्। त्यसमा पनि केही सीमा छन्। सिस्नेखोला–बलम्बु सुरूङ मार्गमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनले प्रवेश पाउँदैनन्। ठूला मालवाहक सवारी र मोटरसाइकललाई पनि सुरूङ मार्ग निषेध छ।
सुरूङ मार्गमा विशेष सुरक्षा प्रणालीको प्रबन्ध गरिएको छ। मुख्य सुरूङबाट ३० मिटरको फरकमा समानान्तर रूपमा बनाइएको अर्को सुरूङलाई 'इभ्याकुएसन' सुरूङ भनिन्छ। यसलाई निकासी अर्थात् आपतकालीन सुरूङ पनि भनिन्छ। आपतकालीन अवस्थामा मात्र यो सुरूङ प्रयोग गर्न सकिन्छ।
सुविस्तासँग दुईतर्फी सवारी ओहोरदोहोर गर्न मिल्ने सुरूङभित्र बीचबीचमा दायाँबायाँ केही फराकिलो ठाउँ राखिएका छन्। कथम् दुर्घटना भइहाले सवारी साधन त्यहाँ राख्न (पार्क गर्न) सकियोस् भनेर ती ठाउँ छुट्टयाइएका हुन्।
यति मात्र होइन, हरेक ३७५ मिटर दुरीमा आपतकालीन द्वार बनाइएका छन्। ती ढोका जसले पनि खोल्न सक्छन्। ती ढोकाबाट 'इभ्याकुएसन' सुरूङमा जान सकिन्छ।
'आगलागी भइहाले सबभन्दा पहिला धुवाँ सुरूङको सिलिङतर्फ जान्छ। त्यहाँबाट तल झर्दै मानिसको सास फेर्ने तहसम्म आइपुग्न लाग्ने समयमै उक्त आपतकालीन ढोकाबाट अर्को सुरूङमा पुग्न सकियोस् भनेर समय र दुरी गणना गरिएको छ,' इन्जिनियर कोइरालाले भने।
अहिले त्यो आपतकालीन सुरूङको काम पनि अन्तिम चरणमा छ। आपतकालीन सुरूङको सिलिङ र भित्ता खस्रो नै छाडिएको छ। मुख्य सुरूङजस्तो चिल्याइएको छैन। बत्ती र हावा ओहोरदोहोर गर्ने प्रबन्ध भने छ। अहिले उक्त सुरूङको भुइँ ढलान भइरहेको छ। त्यो पनि अन्तिम चरणमा पुगेको छ।
सुरूङभित्र आगलागी भइहाले निभाउने उपकरणसहितका 'फायर हाइड्रेन्ट' को प्रबन्ध पनि ठाउँ ठाउँमा गरिएको छ। धुवाँ, धूलोको सहज निकासका लागि १५ वटा जेट फ्यान प्रबन्ध गरिएको छ।
'यी उपकरणले सुरूङलाई अत्यन्तै व्यवस्थित र सुरक्षित बनाएको छ। हामी विज्ञ र प्राविधिकहरूको उपस्थितिमा यी उपकरण परीक्षण गर्नेछौं,' उनले भने।


सरकारले नागढुंगा सुरूङ सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ। सुरूङ मार्ग प्रयोग गर्ने सवारीले दस्तुर तिर्नुपर्नेछ। भित्रिने र बाहिरिने सुरूङको दुवैतर्फको मुखमा काउन्टर खडा गरिएको छ।
नागढुंगादेखि सुरूङतर्फको मुखबाट बलम्बुसम्म जोड्न आकर्षक फ्लाइओभर सहित २.३०७ किलोमिटरको तीन लेनको बाटो निर्माण गरिएको छ। त्यहाँ स्थानीयको पहुँच मार्गसमेत हुने गरी सर्भिस लेनको प्रबन्ध गरिएको छ।
'हुन त ललितपुरको ग्वार्कोमा पनि फ्लाइओभर बनिरहेको छ। हामीले चाहिँ फरक प्रकृतिको स्टिलको फ्लाइओभर बनाएका छौं। यो नेपालको सन्दर्भमा नयाँ हो,' इन्जिनियर कोइरालाले भने।
सुरूङतर्फ जाने खण्डमा तीनवटा पुल र छवटा कल्भर्ट छन्। ती सबै निर्माण पूरा भइसकेको छ।
सडक पूर्वाधार निर्माणमा नागढुंगा सुरूङ कोशेढुंगा भएको कोइरालाले बताए। नेपालमा पहिलो सुरूङ चुरियामाईमा बनेको थियो, राणाकालमै। त्यसयता पनि सुरूङ बनेका छन्। विशेषतः जलविद्युत परियोजनाको महत्त्वपूर्ण अंग सुरूङ बनेका छन्।
झन्डै २७ किलोमिटर लामो सुरूङ खनेर हेलम्बुको पुछारबाट काठमाडौंको सुन्दरीजलसम्म हिउँद याममा दैनिक २१ करोड लिटरसम्म पानी काठमाडौं ल्याइएको छ।
जलविद्युत परियोजनाका सुरूङ मात्रै चार सय किलोमिटरभन्दा बढी बनिसकेका छन्।
तर सडक पूर्वाधारको महत्त्वपूर्ण अंगका रूपमा प्रयोग गर्ने गरी बनेको नागढुंगा सुरूङ पहिलो हो। तराई–मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्गमा छवटा सुरूङ परिकल्पना गरिएका छन्। तीनवटामा धमाधम काम भइरहेका छन्। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पनि सुरूङ बनाउने काम भइरहेको छ।
सुरूङ खर्चिलो प्रविधि मानिन्छ। मेलम्ची खानेपानीमा सुरूङसहितको संरचना बनाउनुपरेकैले लागत बढेर ३२ अर्ब रूपैयाँभन्दा माथि पुगेको थियो।
नागढुंगाको लागत पनि २२ अर्ब रूपैयाँ हाराहारी पुगिसकेको इन्जिनियर कोइरालाले बताए। सुरूङको संरचना बनाउन जापानी निर्माण कम्पनी हाज्मा–आन्दो जेभीले साढे १३ अर्ब हाराहारीमा ठेक्का पाएको थियो। बलम्बु–सुरूङको मुख टुटीपाखा जोड्ने सडकका लागि ७ अर्ब मुआब्जामा खर्च भएको छ।
नागढुंगा–सिस्नेखोला बनाउन जापान सरकारले १६ अर्ब रूपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ। यसको ब्याजदर ०.०१ प्रतिशत हो। नेपाल सरकारले ६ अर्ब रुपैयाँ खर्च गरेको छ।
अब हामी तपाईंहरूलाई सिस्नेखोलादेखि बलम्बुसम्म सुरूङ यात्रा गराउनेछौं। सुरूङको संरचना कस्तो बनेको छ? के–के सहुलियत छन्? के–के निर्माण बाँकी छन्? हामी सँगै हेर्नेछौं।
तस्बिर/भिडिओ: नवीनबाबु गुरूङ/सेतोपाटी

