धेरै मान्छेको नाम र उसले भोगिरहेको जीवनबीच प्रायः मेल खाँदैन।
भनिएकै छ त, 'धनबहादुर यहाँ भीख मागिरहेको हुनसक्छ, गरिबदास सम्भ्रान्त कहलिएको पनि हुनसक्छ!'
त्यसैले त नाममा त्यस्तो के छ भन्ने बहस लामो समयदेखि जारी छ। सम्भवतः पछिसम्म जारी रहनेछ।
लेखक, गायक, संगीतकार अनि लामो समय प्रशासकको भूमिका पनि निर्वाह गरिसकेका गणेश (राई) रसिक पनि यो नियतिको अपवाद थिएनन्।
उनलाई नजिकबाट चिन्नेहरूका अनुसार नाम पछाडि जोडिएको 'रसिक' ले उनको केही स्वभावको प्रतिनिधित्व गर्थ्यो। तर उनले आफ्नो जीवनकालमा शृंखलाबद्ध रूपमा जे–जति वियोगका चोटहरू सहनुपर्यो, ती पीडाका अघि उनको उपनामले पक्कै अन्याय महसुस गरेको हुनुपर्छ।
उनी एकपछि अर्को वियोगका घाउबाट ताडित थिए। एउटा पीडाबाट तंग्रिन खोज्थ्यो, अर्को विपत्ति थाप्लोमा बज्रिहाल्थ्यो!
बहुआयामिक व्यक्तित्वका धनी रसिक लगातारजसो आइपरेको पारिवारिक वियोगको चोट सहन सधैं अभिशप्त रहे। पहिले भाइहरू गुमाएका रसिकले पछि छोरा गुमाए त्यसपछि पत्नी।
उनका दुई जना भाइहरूमध्ये शम्मीको २०४० सालमै निधन भएको थियो। प्रहरी सेवामा रहेका भाइ प्रजु पनि इलामको पशुपतिनगरमा माओवादी आक्रमणमा मारिए। २०६० सालमा प्रहरी निरीक्षक भाइ गुमाएका रसिकले त्यसको सात वर्षपछि छोरा निमेशको अस्ताएको अनुहार हेर्नुपर्यो।
२०६७ मंसिरमा इलामको फिक्कल रम्फोकस्थित निवासमा सुतेकै ठाउँमा उनका छोरा निमेश मृत भेटिएका थिए। पुत्र वियोगको पीडा रसिकले आफ्नो कृति 'दशगजामा उभिएर' को नयाँ संस्करणमा विम्बित गरेका छन्।
३२ वर्षको उमेरमै जीवन गुमाएका छोरा निमेशको सम्झनामा उनले लेखेका छन्, 'तैंले बाँचुञ्जेल दिएको असह्य मानसिक यातना र परपीडा भन्दा तैंले छाडेर गएको एउटै तेरो अभाव र शून्यताको पीडा हाम्रा लागि असह्य र कष्टकर भएको छ।'
असमयमै आमाबुबालाई छाडेर जाने सन्तानसँग गुनासो गर्दै रसिकले अगाडि लेखेका छन्, 'तैंले पनि हामीले जस्तै आमा र बाबु भएर उमेर पुगेको सन्तानको शोक छातीमा राखेर बाँच्नुपरेको भए थाहा पाउने थिइस् निष्ठुरी! सन्तान के हो? आमाबाबुको माया कस्तो हुन्छ? अब त तैंले लान नसकेको अथवा लान नचाहेर छाडेको नासो सपनाहरू हाम्रा पनि सपना भए। खै के भनौं निमेश तँलाई, तँजस्तै मर्न पनि सकिएन, अब त आकाशका ताराहरूमा आफ्ना सपनाहरू सजाएर बाँच्ने प्रयत्न गरिरहेका छौं।'
रसिकको जीवनमा आइलागेको पीडाले पूर्णविराम पाएको भए न्याय हुन्थ्यो।
तर नियतिले उनीमाथि घनछिनो बजार्न छाडेन।
२०७८ कात्तिकमा पत्नी निरा शेरचनको जीवन पनि कोभिड महामारीले छिन्यो। त्यसअघि क्यान्सर जितेकी निरा कोभिडसँग भने हारिन्। पत्नी वियोगको घटनापछि रसिक थकित सुनिन थालेका थिए। यद्यपि सिर्जनात्मक सक्रियतालाई जीवनकै अंग भने बनाइरहेकै थिए।
यसरी उनकै शब्दमा 'आकाशका ताराहरूमा आफ्ना सपनाहरू सजाएर बाँच्ने प्रयत्न गर्दागर्दै' रसिक आफैले भौतिक रूपमा बाँचिरहने कर्मलाई आइतबार बिट मारे।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचारकै क्रममा ७८ वर्षको उमेरमा उनको जीवनलीला समाप्त भएको छ।
'रसिक दाइको जीवन लगातार स्वजनको वियोगको पीडामा रूमलियो,' उनीसँग २०३० सालदेखि नै निकट रहेका संगीतकार चन्द्र भण्डारीले भने 'ती पीडाका बाबजुद उहाँको सिर्जनकर्म सदासर्वदा फैलिरह्यो।'
२००४ सालमा भोजपुरको हाल टेम्केमैयुङ गाँउपालिका वडा नम्बर २ छिनामखुको नौलागाँउमा जन्मिएका रसिक आफ्नो समयका ख्यातनाम लेखक हुन्। गीत, कविता मात्रै होइन, आख्यानमा पनि उनको बलियो उपस्थिति छ।
उनका 'क्षितिजलाई छुन खोज्दा' र 'एउटा सारंगी छुन खोज्दा' कथा संग्रह, 'रसिकका गीतहरू' र 'स्वाधीनताको पीडा', 'आकाशगंगाको ओतमुनि' (उपन्यास), 'जब सिस्नुहरू टेक्दै हिँडे', 'दशगजामा उभिएर', 'पेरूंगो' लगायत कृति साहित्य क्षेत्रमा उनलाई दर्बिलोसँग उभ्याउने प्रमाण हुन्।
२०४४ सालमा पत्रकार तीर्थ कोइरालालाई 'मातृभूमि' अखबारका लागि दिएको अन्तर्वार्तामा रसिकले आफू लेखन र गीत–संगीत सबैतिर सक्रिय भए पनि लेख्नमै बढी आनन्द लाग्ने बताएका छन्। लेखनमा आनन्द मान्ने बताए पनि उनी नेपाली गीत संगीत क्षेत्रका 'लिजेन्ड' गायक र संगीतकारका रूपमा पनि खडा हुन पुगेका छन्।
उनका गीतहरू बालबालिकादेखि पाकाहरूसम्मले गुनगुनाएका छन्। कुनै बेला विद्यालय शिक्षाका हरेकजसो कक्षागत गीत उनकै सिर्जना थिए। 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' होस् वा 'हामी धेरै साना छौं' नै किन नहोस्! 'तराई हेर कति राम्रो हरियो वन हुनाले' जस्ता गीतका कारण पनि उनी चिनिएका प्रतिभा हुन्।
उनको निधनको खबर नेपाली कला साहित्य क्षेत्रका लाखौं अनुरागीका लागि नमिठो क्षण बनेको गायक तथा संगीतकार शम्भु राई बताउँछन्। राई नेपाली संगीत क्षेत्रमा पूर्वेली लोकभाकालाई स्थापित गराउने संगीतकर्मी भनेर चिनिन्छन्। नेपाली सुगम संगीतका पनि अगुवा राई रसिकलाई सम्झिँदा भावुक बने।
'उहाँ जति उम्दा कलाकार हुनुहुन्थ्यो, मेरा लागि उत्तिकै प्रेरक अभिभावक पनि,' अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका राईले भने, 'जति बेला म र मजस्ता धेरै कलाकार नेपाली संगीत क्षेत्रमा हिँड्ने जमर्को गर्दै थियौं, हामीजस्ता संघर्षशीलहरूलाई अभिभावकीय छहारी दिने अग्रज हुनुहुन्थ्यो गणेश दाइ। उहाँकै छत्रछाया पाएकै कारण त्यस बेला काठमाडौंमा बाँच्न सकियो।'
राईले गाएका धेरै गीत चर्चित छन्। तीमध्येको एउटा हो, 'तिमीले सम्झे नि लाखै छ, तिमीले बिर्सेनि लाखै छ।'
यो गीतका लेखक तथा संगीतकार रसिक नै हुन्।
'यो र नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर सहित धेरै वटा गीतमा गणेश दाइसँग मेरो सहकार्य भयो,' शम्भुले सम्झिए, 'नेपाली जनजीवनको यथार्थ नेपाली शैलीमा लेख्ने र संगीत गर्ने पोख्त संगीतकर्मी हुनुहुन्थ्यो उहाँ।'
सुरू सुरूमा रसिकका गीतहरू सुन्दा राईलाई लाग्थ्यो रे, यस्तो पनि गीत हुन्छ र!
'जब आफूले पनि जीवन भोग्दै गइयो, समाजलाई बुझ्दै गइयो, उहाँका गीतमा त्यही समाजको यथार्थ भेट्न थालेँ,' उनले थपे, 'उहाँको लेखाइले जसरी समाजलाई अभिव्यक्त गर्थ्यो, उहाँले भर्ने संगीतमा हाम्रै समाजको ढुकढुकी समेटिएको हुन्थ्यो। त्यसैले गणेश दाइका गीत हिजो पनि जनजिब्रोमा झुन्डिएका थिए। आज पनि झुन्डिरहेकै छन्। कालजयी गीत भन्नु त्यस्तै त हुन्।'
उनले भने जस्तै रसिकका बहुसंख्यक गीतहरू नेपाली दर्शक–स्रोतामाझ उत्तिकै लोकप्रिय छन्। हिरण्य भोजपुरे सहितको टिममा रहेर झण्डै ५१ वर्षअघि 'लेकाली' समूह गठन गरेर साँस्कृतिक अभियानमा होमिएका रसिक र उनका टिमका गीतहरू देशभक्तिले ओतप्रोत र सामाजिक यथार्थको एकदमै नजिक सुनिन्छन्।
'राते भाले क्वायँ, क्वायँ', 'धेरै सम्झे धेरै हुन्छ', घरबेटी नानी आँगनीमा देऊ न मलाइ बास', 'ओ शून्यता', 'नखेल्नु जुवा र तास' जस्ता केही प्रतिनिधि गीतहरू हुन्, जसले रसिकलाई नेपालको 'लिजेन्डरी' संगीतकर्मीका रूपमा सदा उभ्याई रहनेछन्।
सांस्कृतिक संस्थानमा लामो समय रसिकसँगै काम गरेका गायक राई उनी एक कुशल प्रशासक पनि भएको बताउँछन्।
रसिकका अर्का पुराना सहकर्मी श्याम प्रधान साझा प्रकाशनमा अध्यक्ष र महाप्रबन्धक एकै व्यक्ति हुने दुर्लभ रेकर्ड रसिककै नाममा भएको बताउँछन्।
'म त शनिबार मात्रै उहाँलाई भेट्न अस्पताल पुगेको थिएँ,' प्रधानले भने, 'उहाँले भेट्न गएका हामी सबैलाई मज्जाले चिन्नुभएको थियो। उहाँको चेतन दिमाग एकदमै सक्रिय पाएको थिएँ। शरीर सुन्निएको थियो। आज एक्कासि उहाँ बितेको खबर पाउँदा खिन्न भएँ।'
प्रधानका अनुसार रत्न रेकर्डिङ संस्थानदेखि, सांस्कृतिक संस्थान, साझा प्रकाशनसम्मको अनुभव अनि पछिल्लो समय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवका रूपमा रसिकले सफल प्रशासकको छवि पनि बनाएका थिए।
'सबै सिर्जनात्मक मान्छेहरू अब्बल र सफल प्रशासक नहुन सक्छन्। किनभने व्यवस्थापकीय क्षमता फरक कुरा हो,' संगीतकार चन्द्र भण्डारीको भनाइ छ, 'तर रसिक दाइ कलासाहित्य र व्यवस्थापन दुवैतिर अब्बल देखिनुभयो।'
लामो समय विभिन्न संस्थाहरूलाई नेतृत्व प्रदान गरेका अनि लेखन र संगीतकर्ममा उचाइ प्राप्त गरिसकेका उनको फिक्कलस्थित घर, चियाबारी धेरै लेखक कलाकारलाई स्वागत गर्ने थलो थियो।
'उहाँको फिक्कलको घर धेरै लेखक कलाकारका लागि तीर्थ जस्तो थियो,' लेखक एवं पत्रकार केदार शर्माले भने, 'पछिल्लो समय भने उहाँ यहाँको सबै जग्गा घर बिक्री गरेर काठमाडौंतिर लाग्नुभएको थियो।'
'हटी होइन डटी लड्ने' गीतको एउटा पंक्तिमा भनिएको छ — त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ।
त्यस्तै 'तराई हेर कति राम्रो' बोलको गीतमा पनि एउटा लाइन छ — राजारानी मेरा दुइटा आँखा भइदिनाले।
गीतहरूमा यस्ता शब्दहरू प्रयोग गरेका कारण मात्रै होइन, २०४६ सालको परिवर्तनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट इलाममा निर्वाचन लडेका कारण पनि रसिकलाई 'कडा राजावादी' भएको आरोप लागिरह्यो। २०५६ सालको निर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईले प्रतिनिधि सभामा जित्दा इलाममा झलनाथ खनाल र रसिक पराजित बनेका थिए।
'राजावादी' भनिएकाबारे उनले खुलेर कतै प्रतिवाद नगरेको बरू उनका सिर्जनाहरूले त्यसको जबाफ दिएको शम्भु राई बताउँछन्।
'उहाँले जति बेला ती गीतहरू रचना गर्नुभयो त्यो पञ्चायत र राजाको जगीजगीको बेला थियो,' उनले भने, 'उहाँ जस्ता हजारौं, लाखौंले त्यसै गरे नि त्यो बेला। त्यसकै आधारमा उहाँको ठूलो कला र साहित्यिक योगदानलाई कम आँक्नै मिल्दैन। दुई, तीनटा गीतमा उहाँले के लेख्नुभयो भन्ने हेर्ने कि उहाँको समग्र सिर्जनशील जीवनको मूल्यांकन गर्ने?'
लेखक गोविन्द गिरी प्रेरणाका शब्दमा अच्छा राई रसिकको प्रभावका कारण गणेश राईले नामका पछि 'रसिक' उपनाम जोडेका थिए। सिमाना पारिका नेपालीभाषी लेखक अच्छा राई रसिकको प्रभावबाट प्रेरित भएर 'रसिक' लेख्न थालेका गणेश राई प्रकारान्तरमा 'रसिक' नामले ज्यादा चिनिन थाले।
अहिले रसिक भन्ने बित्तिकै अच्छा राईभन्दा पहिले उनै गणेश राई धेरैको सम्झनामा आइहाल्छन्।
'उहाँको भव्य सिर्जनात्मक जीवनको सबैभन्दा ठूलो उपलब्धि नै यही हो,' संगीतकार भण्डारीले थपे, 'भोजपुरमा जन्मेर, इलाम, ओखलढुंगा, धरान, विराटनगर हुँदै काठमाडौं पुगनुभएका उहाँलाई भोजपुर फर्केर आफ्नो कर्म गर्ने रहर थियो। केही वर्षअघिदेखि सुरू भएको क्यान्सरले उहाँको बाटो छेक्यो।'
यस्ता कालजयी स्रष्टाको भौतिक देह अब हामीबीच छैन। तर उनको अथक संघर्ष र नित्यनिरत साधनाद्वारा सिर्जित गीत–संगीत र सिर्जनाहरू हामीमाझ छन्। तिनैमा उनी बाँचिरहनेछन्।