चितवनका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्। उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन्।
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका छन्। पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आउएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने। कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे।
‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने?’ यही सोचले उनले गएको मातातीर्थ औंसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन्। उनले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएका छन्।
‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ,’ उनले भने।
पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ। त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए। बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैले बस–बसमा गएर खबर गर्छन्।
दस बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् भने उनले एकजना बिरामीको भाडा लिँदैनन्।
बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउने गरेका छन्। त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाउँछन्।
विदेश जाने तयारीमा रहेका अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको बताए। ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु,’ उनले भने।
सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन्।