सरदरभन्दा १५ दिनअगावै भित्रिएको मनसुन कोशी प्रदेशबाट विस्तारित हुन सकेको छैन।
अन्यत्र पश्चिमी र स्थानीय वायु समेतका प्रभावले निरन्तर वर्षा भइरहेको छ।
अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। पछिल्लो १२ घन्टामा देशैभरका वर्षा केन्द्रमा मध्यम वर्षा मापन भएको थियो।
यो क्रम बिहीबारसम्म रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
शुक्रबारदेखि चार–पाँच दिनका लागि वर्षाले ब्रेक लिने सम्भावना रहेको पनि बताएका छन्।
‘हिजो रातिदेखि नेपालभरि वर्षा भइरहेको छ। यो क्रम भोलिसम्म मात्र रहने छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शुक्रबारदेखि चार–पाँच दिनका लागि वर्षाको सम्भावना एकदम कम भएकाले किसानहरूले त्यसै अनुसार तयारी गर्नु होला।’
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ।
विशेष गरी कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशका उत्तरका भूभाग र गण्डकी प्रदेशको धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ।