क्यान्सरका बिरामीहरूमा व्यायामले मृत्युको जोखिमलाई एक तिहाइले घटाउने एउटा नयाँ अध्ययनले देखाएको छ।
त्यस्तै व्यायामले ट्युमर फर्कनबाट रोक्ने र औषधिभन्दा पनि बढी प्रभावकारी हुन सक्ने पनि देखाएको छ।
अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, क्यानडा र इसराइलका बिरामीहरू समावेश भएको सो परीक्षणले उपचारपछि व्यवस्थित व्यायामले मृत्युको जोखिम, रोग फर्कने वा नयाँ क्यान्सर विकास हुने जोखिमलाई नाटकीय रूपमा कम गर्न सक्ने पत्ता लगाएको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
यो खोजले विश्वभर क्यान्सर बिरामीलाई दिइने चिकित्सकीय उपचार विधिमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
उसो त दशकौँदेखि क्यान्सरको जोखिम कम गर्न स्वस्थ जीवनशैली अपनाउन चिकित्सकहरूले सिफारिस गर्दै आएका छन्। तर अहिलेसम्म क्यान्सर पत्ता लागेपछि व्यायामको प्रभावबारे थोरै मात्र प्रमाण उपलब्ध थियो। त्यसैले बिरामीहरूको दैनिक जीवनमा व्यायामलाई समावेश गर्न कमै आधार थियो।
तर पछिल्लो खोजले भने क्यान्सर लागिसकेपछि पनि व्यायामले हुने फाइदा देखाएको छ।
यसको नतिजा भर्खरै सकिएको विश्वको सबभन्दा ठूलो क्यान्सर सम्मेलनमा प्रस्तुत गरिएको छ।
अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको (एस्को) सिकागोमा भएको वार्षिक बैठकमा यसको नतिजा प्रस्तुत गरियो भनेर न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनले लेखेको छ।
परीक्षणमा अनुसन्धानकर्ताहरूले २००९ देखि २०२३ सम्म ८८९ कोलन (ठूलो आन्द्रा) क्यान्सरका बिरामीहरूलाई समावेश गरेका थिए। धेरैजसो (९०%) मा स्टेज तीन क्यान्सर थियो। बिरामीहरूमध्ये ४४५ जनालाई संरचनागत व्यायाम कार्यक्रममा भाग लिने अनि ४४४ लाई केवल स्वस्थ जीवनशैली अपनाउने भनेर पुस्तिका दिएको थियो। यस्तो विभाजन बिना कुनै योजना गरिएको थियो।
व्यायाम समूहमा रहेकाहरूका लागि सुरूमा महिनाको दुई पटक अनि पछि एक पटक व्यक्तिगत प्रशिक्षकबाट प्रशिक्षण सत्रको व्यवस्था गरिएको थियो। यस्तो तीन वर्षसम्म गरिएको थियो।
व्यायाम समूहलाई हरेक हप्ता तीनदेखि चार पटक ४५ देखि ६० मिनेटसम्म हिँड्ने लक्ष्य दिइयो। उनीहरूलाई कसरी सक्रिय हुने भनेर छनोट गर्ने छुट दिइएको थियो। केहीले कायाकिंग वा स्कीइंग समेत गरे।
पाँच वर्षपछि व्यायाम समूहका बिरामीहरूमा अन्य समूहको तुलनामा क्यान्सर बल्झिने वा नयाँ क्यान्सर लाग्ने जोखिम २८ प्रतिशत कम थियो। आठ वर्षपछि उनीहरूमा केवल स्वस्थ जीवनशैली पुस्तिका दिइएकाहरूको तुलनामा मृत्युको जोखिम पनि ३७ प्रतिशत कम थियो।
यो अध्ययनमा भाग नलिएकी एस्कोकी प्रमुख चिकित्सा अधिकारी डा. जुली ग्रालोले यो नतिजालाई उच्चतम स्तरको प्रमाण भन्दै यसले उपचारको क्रममा र पछि शारीरिक गतिविधिलाई प्रोत्साहन गर्नुको महत्त्वलाई पुष्टि गरेको बताइन्।
क्यान्सर सम्मेलनको सत्रमा यो अध्ययनलाई 'औषधिको जस्तै राम्रो' भन्ने शीर्षकमा प्रस्तुत गरिएको थियो।
'म भए यसलाई 'औषधिभन्दा राम्रो' भनेर शीर्षक राख्थें। किनभने यसमा औषधिको जस्तो साइड-इफेक्टहरू हुँदैनन्,' उनले भनिन्।
व्यायामबाट हुने फाइदा क्यान्सरको उपचारका लागि मान्यता दिइने धेरै औषधिहरूको हाराहारी भएको उनले जिकिर गरिन्।
'योभन्दा कम फाइदाका लागि औषधिहरू स्वीकृत हुन्छन्। र ती औषधिहरू महँगा र विषाक्त पनि हुन्छन्,' उनले जोड दिइन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)