अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत साता सामाजिक सञ्जालमा युद्ध छेडेको विषयमा टेस्लाका मालिक इलन मस्कले पछुतो मानेका छन्।
'मलाई गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पबारे गरेका पोस्टहरूमध्ये केहीबारे पछुतो छ। तिनले (पोस्टहरू) हद पार गरेका थिए,' मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा बुधबार पोस्ट गरे।
मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई घृणित र घिनलाग्दो भनेर झगडाको सुरूआत गरेका थिए।
गत महिना प्रतिनिधि सभाबाट एक भोटले मात्रै पारित सो विधेयकलाई ट्रम्पले ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन्।
उनले मात्रै नभएर उनको सरकारका मन्त्री र अरू वरिष्ठ अधिकारी अनि उनीनिकट रिपब्लिकन सांसदले पनि त्यसलाई ठूलो र सुन्दर विधेयक भनेर तारिफ गरिरहेका छन्।
तर केही रिपब्लिकन सांसदले नै त्यसको विपक्षमा भोट हालेका थिए। रिपब्लिकन पार्टीको पारम्परिक सिद्धान्त मान्ने विज्ञहरूले पनि त्यसको विरोध गरिरहेका छन्।
रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले पनि कर काट्ने र व्यापार प्रोत्साहन गर्ने केही व्यवस्था भए पनि त्यसले संघीय बजेट घाटा र राष्ट्रिय ऋण दुवै बढाउने भनेर आलोचना गरेको छ।
मस्कले सो विधेयक पास हुने बित्तिकै पनि विधेयक कि त ठूलो हुनसक्ने कि त सुन्दर, तर ठूलो र सुन्दर दुवै हुन नसक्ने भनेर संक्षिप्त प्रतिक्रिया दिएका थिए।
तर गत साता भने उनले सो विधेयकलाई घृणित र घिनलाग्दो भनेका थिए।
'मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिनँ,' आफ्नो सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका थिए, 'यो विशाल, अपमानजनक, र सांसदको स्वार्थले भरिएको संसदीय खर्च विधेयक एक घृणित, घिनलाग्दो कुरा हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नुपर्छ: तपाईंलाई थाहा छ तपाईंले गलत गर्नुभयो। तपाईंलाई यो थाहा छ,' उनले जोड दिएका थिए।
तर मस्क त्यतिमै रोकिएनन्। उनले ट्रम्पबारे व्यक्तिगत आक्षेप पनि लगाएका थिए।
शक्तिशाली र धनाढ्यलाई बालिकाहरू वेश्याका रूपमा मिलाउने जेफ्री एपस्टिन बारेको अनुसन्धान फाइल आफू पनि सो काण्डमा मुछिने भएकाले ट्रम्पले सार्वजनिक नगरेको आरोप लगाएका थिए।
जेलमा रहेका एपस्टिनले ट्रम्पको पहिलो कार्यकालमा २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए।
ट्रम्पले मस्कका कम्पनीलाई दिइरहेको अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने समेत बताएका थिए। उनले ट्रम्पलाई आफैले राष्ट्रपति बनाएको समेत दाबी गरेका थिए।
राष्ट्रपतिसँगको झगडाले आफ्नो व्यवसायमा नोक्सानी हुने भएपछि मस्कले ती पोस्टहरूबारे पछुतो भएको भनेर सार्वजनिक रूपमा घुमाउरो पाराले माफी मागेका हुन्। तर उनले सिधै माफी भने मागेका छैनन्। त्यस्तै, ट्रम्पविरूद्ध उनले गरेका धेरै पोस्टहरूमध्ये कुन-कुनमा पछुतो लागेको भनेर पनि खुलाएका छैनन्।
मस्कले पछुतो मानेको पोस्ट गर्नुअघि ट्रम्पसँग मंगलबार राति फोनमा कुराकानी समेत गरेको भनेर द न्यु योर्क टाइम्सले खुलासा गरेको छ।
मस्कले सम्बन्ध सुधार्ने प्रयास गत शुक्रबार नै सुरू गरेका थिए। उनले पहिले ट्रम्पकी चिफ अफ स्टाफ सुसी वाइल्स र उपराष्ट्रपति जे डी भान्ससँग फोनमा कुरा गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। भान्स मस्कसँग नजिक छन् र मस्ककै सिफारिसमा ट्रम्पले उनलाई उपराष्ट्रपति उम्मेदवारका लागि चयन गरेको मानिन्छ।
मंगलबार ट्रम्पसँग फोनमा कुरा गरेपछि मस्कले बुधबार पछुतो लागेको भनेर पोस्ट गरेका हुन्।
तर मस्क र ट्रम्पको झगडा अहिले मत्थर भए पनि उनीहरू बीचको सम्बन्ध पहिलेको जस्तो सुमधुर नहुने देखिन्छ। मस्कको आक्रमणबाट ट्रम्पलाई रिस उठ्नुभन्दा पनि धेरै उनको चित्त दुखेको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
आफू रक्सी वा कुनै पनि मादक पदार्थ सेवन नगर्ने ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग मस्कले लागुपदार्थ सेवन गरेर त्यसरी झगडा गरेको अनुमान गरेका थिए भनेर समाचारहरू आएका छन्।
द वाल स्ट्रीट जर्नल र द न्युयोर्क टाइम्सले मस्कले ट्रम्पको चुनावी अभियानका दौरान र त्यसअघि केटामिन, साइकेडेलिक च्याउ, ‘एक्स्टसी’ सहित अवैध लागुपदार्थ प्रयोग गरेको भनेर केही समयअघि समाचार नै लेखेका थिए।
ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन मस्कले २५ करोड डलरभन्दा धेरै खर्च गरेका थिए। त्यसैले चुनाव जितेपछि ट्रम्पले मस्कलाई सरकारी सेवा प्रभावकारी बनाउन खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) को प्रमुख बनाएका थिए।
ट्रम्पसँगको निकटताका कारण मस्कलाई धेरै नोक्सानी भएपछि भर्खरै उनले डोज छोडेका हुन्।
यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको अप्रिलमा सार्वजनिक भएको थियो। त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए।
अघिल्लो वर्ष पहिलो त्रैमासमा टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो। यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ।
यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ।
गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुबै ह्वात्तै बढेको थियो।
ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुने लगायत अरू फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।
ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्।
त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्। त्यसैकारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ।
टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो।
टेस्ला कम्पनीलाई नोक्सान भएको बेला ट्रम्पले अरू कम्पनीलाई पनि हानि पुर्याउन सक्ने भएकाले मस्कले आफ्नो व्यवहारका लागि पछुतो लागेको भनेर सम्बन्ध सुधार गर्न खोजेको देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)