कोशीमै रोकिएको मनसुनी वायु १४ दिनपछि फैलिएर पूर्वी लुम्बिनीसम्म पुगेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बुलेटिन जारी गर्दै मनसुनी वायु कोशी प्रदेशको बाँकी भू–भाग, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा प्रवेश गरेको बताएको हो।
नेपालमा यस वर्षको मनसुन सरदरभन्दा १५ दिन छिटो जेठ १५ गते राति नै नेपाल भित्रिएको थियो। तर मनसुनी वायु त्यति शक्तिशाली बन्न नसक्दा र बंगालको खाडीमा न्यूनचापीय प्रणाली पनि नबन्दा अन्यत्र फैलन सकेको थिएन।
नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ।