अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी एक-दुई हप्ताभित्र व्यापारिक साझेदारहरूलाई पत्र पठाएर उच्च भन्सार महसुल लगाउने धम्की दिएका छन्।
ट्रम्पले अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई भन्सार लगाउने घोषणा गरेका थिए। तर अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। उनले दिएको ९० दिन जुलाई ९ मा सकिँदै छ। त्यसअघि सबै देशले अमेरिकासँग अहिले व्यापार वार्ता गरिरहेका छन्।
यस्तोमा ती देशलाई आफ्ना सर्त मान्न दबाब हाल्नका लागि उनले पत्र पठाएर उच्च भन्सार महसुल लगाउने धम्की दिएको मानिन्छ।
'हामी करिब डेढदेखि दुई हप्तामा देशहरूलाई सम्झौता के हो भनेर बताउँदै पत्रहरू पठाउँदैछौं, कुनै विन्दुमा, हामीले केबल पत्रहरू पठाउनेछौं। यो सम्झौता हो, तपाईंले यो मान्न सक्नुहुन्छ वा नमान्न सक्नुहुन्छ भनेर। मलाई लाग्छ तपाईंले बुझ्नुभयो,' उनले पत्रकारहरूलाई भने।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए।
सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।
अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।
तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।
चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो।
ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकाशिएर १४५ प्रतिशत पुग्यो।
अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो। यसरी चीनले जबाफी कदम चाले पनि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्यो।
स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे। यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ।
फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ।
अमेरिका र चीनले त्यसपछि ९० दिन सम्ममा सहमति गर्न वार्ता गरिरहेका छन्। अरू देशले पनि ९० दिनको समयभित्र व्यापार सम्झौता गर्न अमेरिकासँग वार्ता गरिरहेका छन्।
व्यापार सम्झौता धेरै जटिल भएकाले लामो समयसम्म मिहिन रूपमा छलफल गरेपछि मात्रै टुंगो लगाउन सकिन्छ। सबै देशसँग अमेरिकाले ९० दिनभित्र बेग्ला-बेग्लै व्यापार सम्झौता गर्न असम्भव हुने विज्ञहरूले बताउँदै आएका छन्।
ट्रम्प सामु नझुकेका कारण चीनलाई फाइदा भएको देखेपछि अरू देशले पनि ट्रम्पका कडा सर्त नमान्ने लक्षण देखिन थालेको छ। यस्तोमा उनीहरूलाई दबाव हाल्न ट्रम्पले पत्र पठाएर उच्च भन्सार महसुल लगाउने धम्की दिएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)