काठमाडौं जिल्ला अदालतले बिहीबार मध्यराति तीनकुने घटनाका ७ जना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दियो।
बिहीबार दिउँसो नै थुनछेक बहस सकिएको थियो। तर आदेश मध्यराति मात्रै आयो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा मुख्य कसुरदारको रूपमा प्रहरी र सरकारी वकिल कार्यालयले नवराज सुवेदी संयोजक रहेको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेको कमाण्डर दुर्गा प्रसाईंलाई उभ्याएको थियो।
बिहीबार नै थुनछेक बहस सकिएको हुँदा आदेश आउनेबारे उनका समर्थकहरूले पनि थाहा पाए।
आदेश आउने थाहा पाएपछि मध्यरातिसम्म पनि जिल्ला अदालत काठमाडौं परिसरमा भीड थियो।
न्यायाधीश ध्रुवराज कार्कीले इजलासमा आदेश लेखिरहँदा दुर्गा प्रसाईंसहित ३९ जना भने पुर्पक्षको लागि के आदेश आउला भनेर कुरेर बसेका थिए।
१२ बजिसकेपछि भने न्यायाधीश कार्कीको इजलासले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। अन्य ३२ जनाको हकमा धरौटी माग गरिएको थियो।
दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो।
तर न्यायाधीश कार्कीले भने प्रसाईंको आदेशमा आपराधिक उपद्रवबारे मात्रै बोलेको उनका वकिल स्वागत नेपालले बताए। उनी जनआन्दोलन समितिका प्रवक्ता समेत हुन्।
‘हिजो राति आदेश सरसर्ती हेरियो। त्यसमा के छ भने ज्यान मुद्दा सम्बन्धमा आदेश भएको होइन। खाली आपराधिक उपद्रवसँग सम्बन्धी आदेश भएको हो,’ उनले सेतोपाटीसँग भने, ‘ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी प्रारम्भिक रूपमा नै स्थापित हुन नसकेको भन्ने छ।’
यस्तै अदालतले कारागार कार्यालयलाई प्रसाईंको उपचारको लागि प्रबन्ध गर्न समेत आदेश गरेको उनले बताए।
दुर्गा प्रसाईंले तीनकुने घटनाबारे अदालतमा पनि कुनै पनि आपराधिक घटनामा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन्।
उनले प्रहरीतर्फ गाडी चलाएको विषयमा पनि आफू जोगिनका लागि प्रहरीतर्फ गएको बयानमा बताएका छन्।
‘सो कार्यक्रममा जाँदै गर्दा म मञ्चको करिब १५० मिटरको दुरीमा पुग्दा मेरो कानको छेउबाट गोली गएको र केही छिनमा नै म सवार रहेको गाडीमा अश्रु ग्याँस खसेकोले गर्दा मलाई मार्ने योजना साँचो रहेछ भन्ने सोची मैले सो गाडीबाट हाम फालेर ड्राइभरलाई ओराली मैले आफै गाडी चलाई सुरक्षित स्थानतिर जान लाग्दा तीनकुनेको मोडमा पुग्दा घुम्तीको कारणले मैले प्रहरीलाई देखिनँ,’ उनले अदालतको बयानमा भनेका छन्, ‘म कान्तिपुरको छेउमा पुगेपछि मैले पुलमा प्रहरीहरू उभिएको देखेँ, त्यसपछि मैले प्रहरी रहेको स्थानमा गएपछि म सुरक्षित हुन्छु भन्ने सोची मेरो ज्यान बचाउन म प्रहरीको घेराभित्र छिरेको हुँ।’
कसैलाई पनि चोट नलागोस् भन्ने उद्देश्य रहेको पनि उनको भनाइ थियो।
‘म सो घेरामा छिर्दा कसैलाई चोट पटक नलागोस् र कोही घाइते नहून् भनेर गाडीको हाफ क्लजमा ब्रेक लगाउँदै सचेत अवस्थामा अगाडि बढेको थिएँ,’ उनले भनेका छन्।
त्यसदिन फिल्डमा खटिएका प्रहरीहरूले दुर्गा प्रसाईंले आफूहरूमाथि गाडी चलाएर ज्यान मार्ने उद्योग गरेको भन्दै कागज गरेका थिए।
अदालतले प्रसाईंलाई राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, ज्यानसम्बन्धी कसुर र संगठित अपराधतर्फ अहिले नै कसुरदार हो भनेर विश्वास गर्ने मनासिब आधार नदेखिएको उल्लेख गरेको हो।
‘यी प्रतिवादी उपर राज्य विरूद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरतर्फ उक्त कसुरको कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार नदेखिएकोले उक्त कसुरहरूका हकमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै अवस्था भएको,’ आदेशमा भनिएको छ।
त्यस्तै पत्रकार सुरेश रजकको हत्या गरी मारेको भन्ने विषयमा पनि प्रमाण पेस नभएको इजलासले उल्लेख गरेको छ।
‘दुर्गा प्रसाईंले पत्रकार सुरेश रजकको कर्तव्य गरी ज्यान मारेको भन्ने कुरा देखिने कुनै प्रमाणवादी पक्षबाट अभियोगपत्र तथा पेस भएको देखिँदैन,’ आदेशमा भनिएको छ।
त्यसैगरी प्रहरीले दुर्गा प्रसाईंले आपराधिक समूहहरू खडा गरेको दाबी गरेको थियो। त्यसबारे अदालतले आपराधिक समूहले आर्थिक लाभ लिएर काम गरेको पुष्टि हुने तत्काल प्रमाण पेस नभएको पनि बताएको छ।
‘तीनकुने घटनामा आपराधिक समूहहरू: अनवरत तत्पर फौज, नागरिक प्रतिरक्षा बल, शाही युवा शक्ति नेपाल, रोयल टाइगर फोर्स, शिव सेना नेपाल, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ती भनेर उल्लेख गरेको देखिन्छ। तर उक्त समूह आपराधिक समूहहरू भएको र आर्थिक लाभको लागि काम गरेको पुष्टि हुने तत्काल कुने प्रमाण पेस भएको देखिँदैन,’ आदेशमा भनिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले अन्य कसुरबारे पछि ठहरेबमोजिम हुने बताए पनि आपराधिक उपद्रवको कसुरमा भने केही आधार प्रस्तुत गरी प्रसाईंलाई थुनामा पठाउन आदेश गरेको हो।
पहिलो आधारको रूपमा किटानी जाहेरीलाई मानेको छ। अदालतले प्राप्त किटानी जाहेरीका आधारमा उनी आपराधिक उपद्रव कसुरको कसुरदार हुन् भनेर विश्वास गर्ने आधार भएको उल्लेख गरेको छ।
त्यस्तै, सहप्रतिवादीहरू अर्थात् अन्य प्रतिवादीहरूले गरेको बयानमा प्रसाईंको नाम उल्लेख गरेका छन्। यसलाई अदालतले दोस्रो आधार मानेको छ। प्रतिवादी अनुप राजावादी भन्ने गोकर्ण शाहीले आफूलाई निर्देशन दिने व्यक्ति प्रसाईं, रवीन्द्र मिश्र लगायत व्यक्तिहरू भएकाले कारबाही हुनुपर्छ भनेर बयान गरेको पनि उल्लेख छ।
तेस्रोमा मिसिलमा संलग्न मोबाइल सेट परीक्षणको प्रतिवेदन पनि उल्लेख भएको छ।
प्रमाणको रूपमा पेस भएको एक मोबाइलको परीक्षण रिपोर्टबाट ‘सरकारलाई आगो लगाउनुपर्छ, अब चाहिँ सबै जिल्लाहरूमा यस्तै गर्न पर्छ। ठाउँ/ठाउँमा आगो लगाउने हो। कान्तिपुर, अन्नपूर्ण पनि जलाउन पर्छ’ भन्ने लागतयको मेसेज पठाएको पनि उल्लेख छ।
कल डिटेललाई चौथो आधार बनाएको छ।
पाँचौंमा अदालतले प्रहरी प्रतिवेदन समेतका कागज प्रमाणहरू तथा मिसिलमा संलग्न घटना विवरण समेतका कागजातहरूलाई उल्लेख गरेको हो।
‘...यी प्रतिवादी दुर्गा प्रसाई अभियोग दाबी बमोजिम आपराधिक उपद्रव कसुरको कसुरदार हुन् भनी विश्वास गर्ने मनासिब आधार देखिएकाले पछि ठहरे बमोजिम हुने गरी हाललाई पुर्पक्षको लागि थुनुवा पुर्जी दिएर स्थानीय कारागार कार्यालय पठाइदिनू,’ आदेशमा भनिएको छ।