मेरूदण्डमा हुने समस्यालाई हामीले तीन 'टी' भन्ने गर्छौं।
पहिलो 'टी' भनेको ट्रमा अर्थात् चोटपटक हो।
भर्खरका युवाहरू विभिन्न खालका दुर्घटनामा परेका हुन्छन् भने उमेर बढ्दै गएपछि सामान्य ठोक्किँदा, लड्दा पनि मेरूदण्डलाई असर गर्छ।त्यसैले मेरूदण्डलाई असर गर्ने पहिलो कारण 'ट्रमा' अर्थात चोट नै हो।
दोस्रो 'टी' भनेको ट्युमर हो। सामान्यत, यो युवा उमेरकालाई हुँदैन। वृद्धवृद्धालाई ट्युमरको समस्या धेरै हुन्छ।
अर्को भनेको 'टिबी' (क्षयरोग) हो।
हाम्रो जस्तो देशमा एउटालाई क्षयरोग भयो भने अर्कोलाई पनि सर्न सक्छ। किनकि एउटै कोठामा ६/७ जनाभन्दा धेरै बस्न पर्ने बाध्यता हुन्छ।
क्षयरोग भयो स्वास्थ्यको अवस्था, खानपिन अनि बासस्थानको अवस्थाले भने धेरैलाई सर्ने हुन्छ। यसले धेरै असर पारिरहेको हुन्छ।
यो तीन कारण बाहेक मेरूदण्डभित्र रहेका साना-ठूला अंगहरू खिइने कारणले पनि समस्या हुन्छ।
उमेरसँगै हड्डी खिइने अनि हड्डी खिएसँगै हड्डीको बीचबाट गएका नसाहरू च्यापिने समस्या हुन्छ।
यसको उपचार पनि समस्या के हो भन्ने आधारमा हुन्छ।
जस्तो: चोटपटक लागेको छ भने त्यसकै आधारमा उपचार गरिन्छ अनि ट्युमर भएको छ भने त्यही अनुसारको उपचार हुन्छ।
कहिलेकाहीँ चोटपटकले गर्दा पक्षघात समेत हुन्छ।
ट्युमर भएको छ भने पनि कस्तो खालको भन्ने आधारमा उपचार गरिन्छ।
क्षयरोग भनेको किटाणुका कारण हुने समस्या हो। त्यसलाई एन्टिबायोटिक दिएर ठीक पारिन्छ।
हड्डी खिइने, नसा च्यापिने, जन्मजात रूपमा हड्डी बाङ्गो भएकाहरूको उपचार गर्ने आ-आफ्नै तरिका छन्।
'स्पाइनल सर्जरी' का सन्दर्भमा सबै खालका प्रविधिहरू हरेक ठाउँमा हुँदैनन्। काठमाडौं बाहिरका ठूला अस्पतालहरूमा यो सुविधा उपलब्ध हुन थालेको छ। १० वर्ष अगाडिसम्म नेपालमा २/३ ठाउँ बाहेक अन्यत्र अपरेसन हुँदैनथ्यो। त्यसको लागि भारत नै जानुपर्ने बाध्यता थियो।
देशका संघीय अस्पतालमध्ये भरतपुरमा पनि १ दशकभन्दा अघिदेखि हाडजोर्नी विभाग बनाएर काम गरिरहेका छौं। हामीकहाँ मेरूदण्ड उपचार केन्द्र र पुनर्स्थापना केन्द्र छुट्टाछुट्टै छ। जसले गर्दा उपचारमा थप सजिलो भएको छ।
भरतपुर अस्पतालमा मेरूदण्डका धेरै सेवा उपलब्ध छन्। भरतपुरमै क्यान्सर अस्पताल भएकाले ट्युमरको खासै उपचार गर्दैनौं। यसका बिरामीलाई किमोथेरापी, रेडियो थेरापी लगायत चाहिने भएकाले उतै पठाइन्छ।
मेरूदण्ड समस्याको कुरा गर्ने हो भने रूखबाट लडेर मेरूदण्ड भाँचिएका बिरामी धेरै आउँछन्। भीरपाखाबाट लडेर अनि सडक दुर्घटनामा परेर मेरूदण्ड भाँचिने पनि छन्।
हामीकहाँ यो सहित क्षयरोग, हड्डी खिइने, नसा च्यापिने लगायतको उपचार हुन्छ। दुरपिनको सहायातले समेत नसा च्यापिएको उपचार गर्ने प्रविधि हामीले ल्याएका छौं।
मेरो १८ वर्षे अनुभवमा ढाड भाँचिएको, घाँटी भाँचिएको उपचार नेपालमा निकै कम हुन्थ्यो। क्षमता हुनेहरू भारत पुग्थे भने कतिले रोग पालेर बस्थे। काठमाडौं बाहिर त यसको उपचार हुने कल्पनै थिएन।
भीरपाखा र रूखबाट लड्नेहरू गरिब वर्गकै बिरामी धेरै हुन्छन्। उनीहरू आउने भनेको सरकारी अस्पताल हो। तर सरकारी अस्पतालमा यो सेवा नहुँदा त्यो वर्ग ठूलो मर्कामा परेको थियो। अहिले बीमा अनि विपन्न नागरिक उपचार कार्यक्रमले धेरै सहज बनाएको छ। अर्थात् पैसाको अभावमा उपचार नभइकन फर्किन पर्ने बाध्यताको लगभग अन्त्य भएको छ।
भरतपुर अस्पतालमा हामीले मेरूदण्डको मात्र नभएर काठमाडौंमा उपलब्ध सबै खाले सेवा सुविधा दिने गरी काम गरिरहेका छौं।
देशभरका संघीय अस्पतालमध्ये हामी सबभन्दा अब्बल बन्न सफल भएका छौं। न्यूनतम सेवा मापदण्डमा हामी पहिलो भएको हो। त्यसमा ८ सय वटा बुँदा हुन्छन् हामीले सबभन्दा धेरै ८८ नम्बर पाएका छौं। अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मेहेनतले यो सम्भव भएको हो।
केही भिडभाड भएर पालो पर्खिन परे पनि हामीले सहजतापूर्वक सेवा दिने प्रयास गरिरहेका छौं।
हाम्रो उद्देश्य मेडिकल कलेज स्थापना हो। यसलाई प्रतिष्ठान मोडेलमा मेडिकल कलेज सञ्चालन गर्न हामी सक्षम भइसकेका छौं।
भरतपुर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने हाम्रो लक्ष्य हो। सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ र हामीसँग पर्याप्त पूर्वाधार समेत छ। केही प्रक्रिया पूरा गर्न बाँकी रहेर मात्र काम हुन रोकिएको छ।
(वरिष्ठ हाडजोर्नी तथा मेरूदण्ड रोग विशेषज्ञ प्राध्यापक.डा. कृष्णप्रसाद पौडेल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन्।)