इरानको आक्रमणबाट इसराइलमा पहिलो मृत्युको घटना सार्वजनिक भएको छ।
इरानले गएराति गरेको हवाई आक्रमणमा परी मानिसको मृत्य भएको पहिलो विवरण सार्वजनिक भएको हो।
अमेरिकी मिडिया सिएनएनका अनुसार रमत गान सहरमा एक महिलाको मृत्यु भएको छ।
रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।
त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इसराइली सैन्य अधिकारीहरूले बताएका छन्।
एक जना प्रहरी प्रवक्ताले ती महिलाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। त्यहाँबाट अरू घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
घटनास्थलमा आपतकालीन उद्धार अधिकारीहरू खटिएका छन्।
इरानले इसराइलमाथि शुक्रबार रातभरि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अधिकांश आक्रमण एयर डिफेन्स सिस्टमबाट निस्तेज पारिएको भए पनि केही प्रहारहरू ठूला भवन र अपार्टमेन्टहरुमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
राजधानी तेल अभिभ र जेरूसलेममा शुक्रबार राति विस्फोटका ठूला आवाज सुनिएको भनेर स्थानीयहरूले बताएका छन्।
‘हामी घर फर्कँदा सिसाका ट्क्राहरू छरपस्ट थिए। हामीले हाम्रो अपार्टमेन्ट जलिरहेको देख्यौं। केही बेरमा भवनको केही भागहरू भत्केर खस्न थाले। त्यहाँ विद्युत पनि अवरूद्ध छ। मानिसहरु भवनभित्रै अड्किएका छन्,’ तेल अभिभवासी एक पुरूषले सिएनएनसँग भनेका छन्।
इसराइलका विभिन्न अस्पतालहरुमा पनि घाइतेहरुको उपचार भइरहेको भनिकएको छ। कम्तिमा ३४ जना घाइते रहेको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इसराइली अधिकारीहरुले पनि शुक्रबार राति मात्रै इरानले एक सय ब्यालिस्टिक मिसाइल इसराइली शहरहरूलाई लक्ष्य गरेर प्रहार गरेको बताएका छन्। तीमध्ये अधिकांश मिसाइलहरू एयर डिफेन्स सिस्टमले निस्तेज पारेको त्यहाँका सैन्य अधिकारीहरूले बताएका छन्।
यद्यपि रमत गान र तेल अभिभमा धेरै भवनहरूमा क्षति पुगेको बताइएको छ।
इसराइलको आणविक कार्यक्रमका क्षेत्रहरूमा भने क्षति नपुगेको विज्ञहरूलाई बताएको भनेर रोयटर्सलेले लेखेको छ।
इसराइलले शुक्रबार बिहान इरानमाथि भीषण आक्रमण गरेपछि देशभर आपतकाल घोषणा गरेको थियो। उसले विद्यालयदेखि अस्पतालसम्म बन्द गरेको थियो। राति देखि नै देशभरका एयर डिफेन्स सिस्टम सक्रिय गराएको थियो।
शुक्रबार बिहानै इरानले इसराइलमा प्रहार गरेको सयभन्दा बढी ड्रोन त्यहाँका एयर डिफेन्स सिस्टमले निस्तेज गरेको थियो।
त्यसअघि उसले इरानको सैन्य संरचना, हवाइ अड्डा, आणविक हतियार बनाउने वैज्ञानिकहरूको मृत्यु हुनेगरी इरानमा आक्रमण गरेको थियो।
इसराइलको आक्रमणमा इरानको नतान्ज आणविक केन्द्रमा क्षति पुगेको छ। त्यहाँबाट धुवाँका मुस्लोहरू आइरहेको फोटो/भिडिओ सार्वजनिक भएका थिए।
इरानी रिभोलुसनरी गार्डका प्रमुख, इरानी सेनाका प्रमुख र उपप्रमुख लगायत अन्य सैन्य संरचनाका झन्डै २० जना अधिकारीहरु मारिएको इरानी अधिकारीहरुले बताएका छन्।
यसले इरानको सैन्य संरचनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। त्यसका लागि इसराइलले २०० लडाकू विमानसहित तीन सय बढी हतियारले इरानी भूभागलाई निशाना बनाएको थियो।
इसराइली हमलामा इरानमा कम्तिमा ८० जनाको मृत्यु र साढे ३ सय जना घाइते भएको संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सइद इराभनीले बताएका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका आणविक हतियार कार्यक्रमलाई नष्ट नगरी आक्रमण नरोकिने बताएका छन्।