नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर रेशम राज पौडेललाई पक्राउ गरेको छ।
प्रहरीले बागलुङ निसिखोला गाउँपालिका-४ का ३६ वर्षीय रेशमराज पौडेललाई पक्राउ गरेको हो।
उनी 'ड्राइभर रेशम' भनेर परिचित छन्। उनको सोही नामबाट युट्युब च्यानल समेत सञ्चालनमा छ।
केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा साइबर ब्युरोको टोलीले उनलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरेको हो।
उनले युट्युबबाट व्यक्तिहरू, संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्द प्रयोग गरेको एसपी दीपकराज अवस्थीले बताए।
कानुनले वर्जित गरेका शब्द र सामग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएर सार्वजनिक नैतिकता तथा शिष्टाचारविरूद्ध सामग्री प्रसारण गरेको आरोप छ।
उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।