विराटनगरका मेयर नागेश कोइराला पछिल्लो पाँच दिनदेखि युद्धग्रस्त इसराइलमा अड्केर बसेका थिए। कृषिकर्म र सहकारी अभ्यासबारे बुझ्ने उद्देश्यसहित जेठ २६ गते उनी त्यहाँ पुगेका हुन्।
भ्रमणकै बीचमा मध्यपूर्वका दुई देश इसराइल र इरान युद्धमा होमिए। आधुनिक हतियारले सुसज्जित यी दुई देशबीच अनियन्त्रित रूपमा चलिरहेको गोलाबारीले विश्वकै टाउको दुखाइरहेका बेला नेपालबाट गएका मेयर कोइराला भने युद्धभूमिमै अड्किनुपर्यो।
गत बिहीबार युद्ध सुरू भएदेखि नै उनको धेरैजसो समय बंकरभित्र बित्दै आएको थियो।
मिसाइल आक्रमण सुरू भएको साइरन बजेपछि उनी र भ्रमण टोलीका अरू सदस्य बंकरभित्र पस्थे, अनि साइरन निभेपछि केही बेरका लागि बाहिर निस्कन्थे।
हामीले सोमबार फोन कुराकानी गर्दा मेयर कोइरालाले भनेका थिए, 'बंकरभित्र र बाहिर गर्दै पाँच दिन बित्यो, अब त नेपाल फर्कन पाइने दिनको प्रतीक्षामा छु।'
उनको यो प्रतीक्षाको घडी समाप्त भएको छ।
युद्धका कारण इसराइलका सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि उनी सीमावर्ती मुलुक जोर्डन हुँदै नेपाल फर्कन लागेका छन्।
इसराइली राजधानीबाट झन्डै ३० किलोमिटर दुरीमा रहेको सेफाइम सहरको एक सहकारी अतिथि गृहमा बसिरहेका उनी मंगलबार बिहान जोर्डनतिर लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
'उहाँ आज बिहान जोर्डन जानुभएको खबर हामीले पाएका छौं,' परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले सेतोपाटीसँग भने, 'मैले त्यही बुझेको छु।'
मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले पनि यसको पुष्टि गरे।
उनका अनुसार कोइराला जोर्डनबाट कुवेत जाने छन्। कुवेतबाट भारतको मुम्बई र त्यहाँबाट दिल्ली हुँदै नेपाल आउने तय भएको श्रेष्ठले जानकारी दिए।
'बुधबार साँझसम्म नेपाल आइपुग्ने कुरा छ,' श्रेष्ठले भने, 'अहिले सायद बाटोमा भएर होला सम्पर्क हुन सकेको छैन।'
हामीले सोमबारै इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग कुरा गरेका थियौं। उनले मेयर कोइरालालाई सकेसम्म छिटो सुरक्षित स्थानतिर पठाउने तयारीमा दूतावास लागेको बताएका थिए।
सेफाइमबाट अढाई घन्टाको मोटर दुरीमा जोर्डन सिमाना रहेको जानकारी पनि उनले दिएका थिए।
'अर्को कुनै छिमेकी देशको भिसा लगाएर सुरक्षित ठाउँमा पठाउन दूतावास लागिपरेको छ,' उनले भनेका थिए।
प्रेस संयोजक श्रेष्ठका अनुसार सोमबार साँझ नै कोइरालाको जोर्डनको भिसा आइपुगेको थियो।
राजदूत पण्डितका अनुसार अहिलेसम्म इसराइलमा रहेका सबै नेपाली सुरक्षित छन्। दुई देशको सरकारी कार्यक्रममार्फत् इसराइल पुगेका नेपालीको संख्या २ हजार जति छ। त्यसबाहेक कृषि क्षेत्रमा काम गर्न गएका ३५० जना छन् भने विद्यार्थी ७ जना छन्। त्यस्तै, भारतीय पासपोर्ट बोकेर गएका नेपालीको संख्या १ हजार हाराहारी छ। अन्य देशबाट इसराइल पसेका नेपालीहरू पनि छन्।
'इसराइलमा ५ देखि ७ हजार नेपाली होलान् भन्ने अनुमान छ,' राजदूत पण्डितले भने, 'तर यहाँ ठ्याक्कै कति नेपाली छन् भन्नेबारे नेपाल र इसराइल दुवैलाई थाहा छैन।'
इसराइलमा विभिन्न कामले बसिरहेका सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए।
परराष्ट्र मनत्रालयका अनुसार इरानमा पनि १२ जना नेपाली छन्।
उनीहरू पनि अहिलेसम्म सुरक्षित अवस्थामै छन्।
यो पनि:
युद्धग्रस्त इसराइलको बंकरमा कसरी बसिरहेका छन् विराटनगरका मेयर?