शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भयो। ३१ जना घाइते भए।
घाइतेमध्ये तीन जनाको अहिले पनि एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर र दुई जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
एलाइभ हस्पिटलमा उपचाररत मकवानपुरको हेटौंडा ८ की गंगा घलानको अवस्था गम्भीर छ। अन्य सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
दुर्घटनामा मृत्यु भएका सात जनामध्ये तीन जना एउटै परिवारका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार गर्भवती रहेकी रेनुका कँडेलको 'डेलिभरी' का लागि उनीहरू भरतपुर आउँदै थिए।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कि रेनुका श्रीमान सरोज पहाडी र सासू मैयाँकुमारी न्यौपाने पहाडीलाई साथ लिएर अस्पताल आउँदै थिइन्।
'सुत्केरी हुने मिति आइसकेको रहेछ। डाक्टरले अस्पताल आउने समय दिएपछि उनीहरू अस्पताल आउँदै रहेछन्। तर दुर्घटना भएर पुरानो मेडिकल कलेज पुर्याउँदा रेनुकाको मृत्यु भइसकेको थियो। त्यतिखेरसम्म उनको गर्भमा रहेको बच्चाको पनि मृत्यु भइसकेछ,' डिएसपी खनालले सेतोपाटीसँग भने।
३५ वर्षीय सरोजको पनि पुरानो मेडिकल कलेजमै मृत्यु भएको थियो। ५३ वर्षीया मैयाँकुमारीको भरतपुर अस्पतालमा मृत्यु भयो। रेनुका र सरोजका दुई छोरी छन्।
राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको भ्यान ठोक्किएका थिए। दुर्घटनामा मृत्यु हुने सातै जना भ्यानका यात्रु रहेको डिएसपी खनालले जानकारी दिए।
दुर्घटनामा रेनुका, सरोज, मैयाँकुमारीसहित मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङको मृत्यु भएको थियो।
मृत्यु भएकी अर्की एक जना अन्दाजी १८/१९ वर्षकी युवतीको अझै सनाखत हुन सकेको छैन।