कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको हत्या आरोपमा देवर नाता पर्ने पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी थिइन। तुलसीले १६ दिन पहिले मात्रै छोरालाई जन्म दिएकी थिइन्।
तुलसीको हत्याको आरोपमा देवर २० वर्षीय नवीन नाथ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार प्रहरी हिरासतमा रहेका नवीनले प्रहरी समक्ष भाउजूको हत्या गरेको बयान दिइसकेका छन्।
घटनाको दिन जेठ २० गते नै नवीनका बुवा–आमा पुर्ख्यौली घर अछाम गएका थिए। घरमा सुत्केरी तुलसा, नवीनका दम्पत्ती र कक्षा ९ मा पढ्ने नवीनकी बहिनी थिए।
प्रहरीका अनुसार जस्ता पाताले छाएको दुई कोठाको घरमा नवीन, उनकी श्रीमती र बहिनी एउटै कोठामा सुतेका थिए। श्रीमती र बहिनी निदाएको थाहा पाएपछि नवीन सुटुक्क भाउजूको कोठामा प्रवेश गरी उनको हत्या गरेको बयान दिएका छन्।
हत्यापछि नवीनले तुलसाको कानमा रहेका आठ वटा सुनका रिङ निकालेका थिए।
चक्कुको सहायताले दुइटा कानका आठवटा मुन्द्रा निकालेको उनले प्रहरीसमक्ष बताएका छन्। त्यो सँगै उनले गलामा लगाएको पोते पनि झिकेको प्रहरीले बताएको छ।
सुनका गरगहना लुटिसकेपछि नवीन शव व्यवस्थापनमा लागेका थिए।
उनले भाउजूको शव घरदेखि झन्डै ८ सय मिटर टाढा पुर्याएर फालेको डिएसपी चन्दले बताए।
चन्दका अनुसार उनले घटनालाई भवितव्य देखाउने कोसिस गरेको देखिएको छ।
तुलसाको शरीरमा देखिने गरी कुनै चोटपटक वा घाउखत थिएन। नालामा लडेर वा सर्पदंशका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गर्न थालिएको थियो।
तुलसाको कानका आठ वटा मुन्द्राहरू फेला नपरेपछि प्रहरीलाई त्यहीँबाट आशंका पैदा भएको डिएसपी चन्दले बताए।
प्रहरीलाई शंका नहोस् भनेर शव फेला परेदेखि घटनास्थलमा आफै खट्ने र प्रहरी अनुसन्धानमा सघाउने काममा नवीन लागेका थिए।
सुनका गहना कुनै चोट नलगाइ सावधानीपूर्वक निकालेका तुलसाको हत्या लुटपाट वा चोरी गर्ने व्यक्तिले गरेका होइनन् भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको थियो।
त्यसपछि प्रहरीले नवीनमाथि नै निगरानी बढाएको थियो।
बुहारीको मृत्युको खबर सुनेपछि अछामबाट नवीनका बुवा आमा पनि घर फर्किसकेका थिए। नवीनलाई केही नभने पनि प्रहरीले तुलसाको शव हस्पिटल पुर्याउँदा वा पोष्टमर्टम गर्दा सँगसँगै लगेर निगरानी गरेको थियो।
नवीनमा देखिएको बेचैनी वा छटपटी पनि प्रहरीले सूक्ष्म रूपमा निगरानी गरेको थियो।
बाबु फर्किएर घर आएपछि नवीनले तुलसाका कानबाट झिकेका गरगहना राखेको ठाउँ देखाएका थिए।
तुलसाको हत्यापछि निकालेका गरगहना घरबाहिर ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको डिएसपी चन्दले बताए।
तुलसाका श्रीमान अर्थात् नवीनका दाजु रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा छन्। नवीन पनि भारतबाट गत चैतमा मात्रै घर आएका थिए। उनी बिरामी भएपछि घर फर्किएको परिवारले जानकारी दिएको छ।
भारतबाट फर्किएपछि नवीन बेरोजगार थिए। सामान्य खर्चका लागि पनि उनले भाउजूसँग पैसा माग्दै आएका थिए। प्रहरीसँगको बयानमा पनि उनले भाउजूसँग पैसा माग्ने गरेको तर उनले वचन लगाएकाले बदलाप्रेरित भएर हत्या गरेको बताएका छन्।