पोखरा सहरको कथा
पुरानो डुंगा पानीको छाल पार गरूँ कसरी
उनी छिन् पारी तरेर लौ न भेटुँ म कसरी!
स्वरः कर्णदास, शब्दः बिबि थापा, संगीतः सुन्दर थापा
बिहान ४ः३० बजेको छ।
होटल र रेस्टुरेन्टमा बालिएका चम्किला बत्ती फेवातालमा टल्किरहेकै छन्।
त्यही बेला ताल वरिपरि स–साना घरमा बसोबास गर्ने जलारी समुदाय मोबाइल लाइट बालेर फेवातालतिर बढ्छन्। अन्धकारमा मोबाइल लाइट पिलपिल पार्दै हिँडेको जलारी समूह जूनकिरीका लहरजस्तै देखिन्छन्।
उनीहरूले फेवाताल किनार आ–आफ्ना डुंगा बाँधेका छन्।
चौपायालाई दाम्लोले बाँधेझैं रूखमा गाँठो पारेर बाँधिएका यिनै डुंगामा जलारीहरूको पुस्तैनी जीवन बाँधिएको छ।
उनीहरू डुंगाको दाम्लो फुकाएर मोबाइल लाइटमा फेवातालतर्फ बहन थाल्छन्।
पर्यटकले नौका विहार गर्ने बाराहीघाट वा बेगनासघाट जस्तो चहलपहल जलारीघाटमा हुँदैन। पर्यटक चढ्ने डुंगाजस्तो रंगीन र चम्किलो पनि उनीहरूका डुंगा छैनन्। रङ उडेका डुंगामा तालको पानी चुहिन्छ। चुहिएर डुंगामा भरिँदै गरेको पानी उबाएर फेवातालमा फाल्दै उनीहरू अघि बढ्छन्।
आकाशमा लाली चढ्दै गर्दा तालभरी जलारीका डुंगा फैलिन थाल्छन्।
डुंगाका गति र दिशा एकनास हुँदैन। जसले बहना छिटो चलाउन सक्छ, उही अघि पुग्छ। अघि जानु उनीहरूको उद्देश्य होइन। उनीहरूको ध्याउन्न साँझपख तालमा फिँजाएका तियारी जाल खोजेर निकाल्नुमा छ। जाल पहिचान गर्न कसैले चप्पलका टुक्रा बाँधेका हुन्छन्, कसैले प्लास्टिकका खाली बोतल बाँध्छन्। कतिपय अनुभवी जलारीलाई भने कुनै चिह्न चाहिँदैन। आफ्नो जाल र थापेको ठाउँ सजिलै पत्ता लगाइदिन्छन्।
तालबाट जाल निकाल्दा कहिले माछा भरिएर आउँछ, कहिले भने भ्यागुता पनि पर्दैन। रित्तो जाल तान्नुभन्दा बढी पीडा उनीहरूलाई त्यति बेला हुन्छ, जति बेला उनीहरूको जाल चोरिन्छ, च्यातिन्छ। फेवातालका गहिराइमा बसेका ठुल्ठूला ढुंगा र रूखका ठुटामा पनि जाल अड्किन्छ। यस्तो बेला उनीहरू आफै जाल च्यातेर निकाल्छन्।
कहिलेकाहीँ त माछाहरूले पनि जाल च्यातिदिन्छन्। जाल तोड्न सफल माछाहरू पानी संसारमा पुनः स्वतन्त्र हुन्छन्।
तालमा माछा चोरी हुने डर पनि उत्तिकै हुन्छ। त्यसैले कहिलेकाहीँ रातभर रेखदेख गरेर बस्छन्। कहिले जाल थाप्न जाँदा नै तालपारीका केही व्यक्तिले धम्क्याउने र थर्काउने गर्छन्।
'एकचोटि म र आमा तालमा जाल थाप्न जाँदा खुँडा लिएर थर्काउन आएका थिए। हामीले जाल च्यात्ने र माछा चोर्ने व्यक्तिविरूद्ध प्रहरीमा उजुरी पनि दिएका थियौं,' हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले भने, 'माछा जसले मारे पनि हुन्छ भनेर प्रहरीले त्यसै छाडिदियो।'
अर्को एकचोटि आमासँग माछा उठाउन जाँदा उनीहरूको भेट लुटेरासँग भयो। लुटेराले आक्रमणको धम्की दिए पनि ज्ञानबहादुर डराएनन्।
'तिम्रा घरको भकारी फोर्न आएका होइनौं हामी। तिमीहरूले लगाएका मकै भाँच्न आएका होइनौं। खुला आकाशमा राज्यको लाइसेन्स लिएर माछा मार्न आएका हौं। तिमीहरूलाई डिस्टर्ब गरेका छैनौं। यति दु:ख गरेर समातेको माछा लुट्न आउने हो! म दिन्नँ। कहाँ जाने हो जाम्,' ज्ञानबहादुरले नडराई भने।
उनले यति भन्नु के थियो, माछा लुट्न आएका लुटेर फर्किएर गए।
हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
तालका माछाले जसरी जलारीका जीवन धानेका छन्, उसैगरी माछाका जीवन जोगाउन पनि जलारीले जति योगदान कसैले गरेका छैनन्। एकअर्काका परिपूरक बनेका छन्, पोखराका ताल र जलारीहरू।
चाउरे जलारी ६७ वर्षका भए। उनी १०–१२ वर्ष उमेरमै अमाबुबासँग फेवातालमा जाल खेल्न जान्थे। पौडिन पनि सिके। जसरी चाउरेले आमाबुबासँग माछा मार्न सिके, उसैगरी उनका छोरा कृष्ण र छोरी विमलाले पनि जाल थाप्न र पौडी खेल्न सिके।
चाउरेका अनुसार त्यति बेला अहिलेजस्तो तियारी जाल विकास भएको थिएन। हातेजाल हानेर माछा मार्नुपर्थ्यो। आमाबुबासँग दिनभर जाल खेल्दै तालतलैया र खोलानाला चहारेको याद छ उनलाई।
करिब २५ वर्षअघि तियारी जालको विकास भयो। डोरीजस्तै लामो तियारी जाल साँझ तालमा थापेर छाड्ने र बिहान उठाउन जाने चलन त्यसपछि सुरू भयो। हातेजाल हान्दै हिँड्नुका दु:खबाट जलारीले मुक्ति पाए।
तर दु:ख एउटा मात्र भए पो!
चाउरेका डुंगामा फेवातालको पानी चुहिन्छ। डुंगाको रङ उडेर फिक्का भएको छ। काठ मक्किएको छ। उनले यो डुंगा बनाउन आफैले काठ किनेका थिए। सिकर्मीलाई ज्याला दिएर बनाएका थिए। जलारीहरूका डुंगा प्राय: यस्तै पुराना हुन्छन्।
फेवातालमा हेलिँदा कहिलेकाहीँ मौसमले पनि रोक्छ। हावाहुरी चलेका बेला डुंगा अघि बढ्न सक्दैन। फेवातालमा उर्लिएका छालले डुंगालाई अघि बढ्न दिँदैन, पछाडि लैजान पनि दिँदैन। तालको छालमा छचल्किएर बस्छ।
'तालमा हावाहुरी चलेका बेला जान हुँदैन। यस्तो बेला बहना खियाएर डुंगा चलाउन सकिँदैन,' चाउरे भन्छन्, 'छालले कहिलेकाहीँ डुंगा नै पल्टाइदिन्छ।'
तर हिउँदको सिरेटो होस् कि बर्खाको मुसलधारे झरी, उनीहरू सबेरैदेखि तालमा हेलिएकै हुन्छन्। पानी पर्दा रेनकोट लगाएर तालमा हेलिने उनीहरू बिहान ९ बजेसम्म बाहिर आइसक्नुपर्छ। पर्यटकले नौका विहार गर्ने बेला जलारी जाल खेल्न जाँदैनन्। त्यसबीच भाग्यमा जति छ, त्यति माछा उनीहरूको!
फेवातालमा पहिले हातेजाल हाल्दा पनि प्रशस्त माछा पर्थे। ती माछा बेच्नै समस्या हुन्थ्यो। अहिले माछा कम पर्छन्। त्यसमाथि स्थानीय प्रजातिका स्वादिला माछा झनै कम भएका छन्। माछा खाने मान्छे भने बढेका छन्। पोखरा महानगर कृषि महाशाखाका अनुसार पोखरामा वार्षिक ७ सय टन माछाको माग छ। पोखराका तालतलैयाले ३ सय टन मात्र माछा उत्पादन गर्छ। बाँकी ४ सय टन भारत लगायत विभिन्न ठाउँबाट ल्याउनुपर्छ।
माछा घट्नुमा फेवातालको आकार घट्नुलाई कारण मान्छन् चाउरे। पानी प्रदूषण बढ्नुले पनि माछा मौलाउन नपाएको उनी बताउँछन्।
फेवातालमा चाउरे जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
विमला जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
तालबिना माछा रहँदैन, माछाबिना जलारी कसरी रहलान्!
माछाको घट्दो संख्याले आफ्नो पुस्तैनी पेसा नै संकटमा पर्ने डर छ हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुरलाई।
पछिल्लो समय होटल र रेस्टुरेन्टमा तालका माछाको स्थान भारत र अन्य ठाउँबाट ल्याइने माछा, सी फुड र विदेशबाट प्याकिङ भएर आउने काँडाविहीन माछाले लिएको उनको ठम्याइ छ। भारतबाट आउने माछालाई फेवातालको माछा भनेर झुक्याइने गरेको पनि उनले देखेका छन्।
डरको कारण अर्को पनि छ।
पुस्तौंदेखि माछा मारेर जीविका चलाएका जलारी समुदायसँग खेतीपाती गर्न जग्गा छैन। अरू काम गर्न सीप, पुँजी र पढाइ छैन। त्यही भएर उनीहरू तालमा जाल मात्र थाप्दैनन्, संरक्षणमा पनि उत्तिकै ध्यान दिन्छन्। वैशाख–जेठ र कात्तिक–मंसिर गरी वर्षको दुईपटक तालमा लाखौं भुरा छाड्छन्। गएको वर्ष मात्र उनीहरूले १८ लाख रूपैयाँ बराबरको भुरा फेवातालमा छाडेका थिए।
यति मात्र होइन, जलारी समुदायका सबै घर–घरबाट उठेर हरेक महिना ३ गते फेवाताल सरसफाइ गर्छन्। ताल सफा गर्न बिहानभरी खटिनुपर्ने भएकाले अघिल्लो साँझ अर्थात् हरेक महिनाको २ गते जाल थाप्दैनन्। प्रत्येक साता शनिबारको दिन पनि तालमा जाल बिच्छ्याउन नपाउने नियम राखेका छन्।
पोखराका तालमा माछा मार्न जलारीले पनि पोखरा महानगरपालिकाको सिफारिसमा मत्स्य अनुसन्धान केन्द्रबाट लाइसेन्स लिनुपर्छ। लाइसेन्स बर्सेनि नवीकरण गर्नुपर्छ। उनीहरूले मारेको माछामा पनि पोखरा महानगरले कर लिन्छ। प्रतिकिलो ६ रूपैयाँका दरले महिनाको ४ हजारदेखि १८ हजार रूपैयाँसम्म उनीहरूले महानगरलाई कर तिर्ने गरेको ज्ञानबहादुर बताउँछन्।
फेवाताल वरिपरि मात्र होइन, जलारी समुदाय यहाँ धेरै ठाउँमा फैलिएको छ। बेगनास ताल वरपर पिप्ले गाउँमा ५० घर जलारी छन्। माझीकुनामा ७ घर, डिब्डीमा ३ घर र बिमिरेकुनामा १ घर जलारी बस्छन्। सबैजसो घरधुरी माछा मारेरै जीविका चलाउँछन्। एकाधले होटल र रेस्टुरेन्ट पनि खोलेका छन्।
स्थानीय ५९ वर्षीय राजेन्द्र जलारी १० वर्षको उमेरदेखि बेगनास तालमा माछा मारिरहेका छन्। बुबासँग हातेजाल खेल्न सिकेका उनले माछा मारेरै जीविका धानेका छन्। उनका अनुसार फेवातालमा जस्तै बेगनासमा पनि माछा चोरीका समस्या छन्। माछा अभावको समस्या उस्तै छ।
जलारी समाज कास्कीका अध्यक्ष झलक जलारी अब वैकल्पिक पेसा वा व्यवसायमा लाग्नुपर्ने बताउँछन्। यसो गर्न नसके जलारी समुदायको जीविकोपार्जनमै समस्या आउने उनले लख काटेका छन्।
'फेवा, बेगनास, रूपा सबै तालको पहिचान बनाउने हामी जलारीहरू हौं,' उनले भने, 'अहिले ताल मासियो, हाम्रो पहिचान पनि मेटाउन खोजियो।'
बेगनासताल मत्स्य व्यवसायी समिति अध्यक्ष राजेन्द्र जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
फेवातालमा मारेको माछा देखाउँदै कृष्ण जलारी र उनकी पत्नी दीपा जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
राज्यको मूलप्रवाहबाट छुटेका जलारी समुदायले पहिलोपटक स्थानीय सरकारमा शोभा जलारीलाई पाएको छ।
स्थानीय निर्वाचन २०७८ मा पोखरा महानगर वडा नम्बर ६ लेकसाइडबाट उनले वडा सदस्य जितेकी हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार भएर जितेकी शोभा कार्यपालिका सदस्यसमेत हुन्।
शोभा वडा सदस्य निर्वाचित भएपछि जलारी महिलाले उद्घोषण कला तालिम पाएका छन्। छ महिना लामो सिलाइकटाइ र साबुन बनाउने तालिममा पनि महानगरले सहयोग गरेको छ। यस्ता कार्यक्रम गर्न उनीहरूले 'जलारी दिदीबहिनी समूह' दर्ता गरेका छन्। समूहका अध्यक्ष मीना छिन् भने विमला कोषाध्यक्ष छिन्।
शोभा वडा सदस्य बन्नुअघि जलारी समुदायका एक जना महिला वडास्तरीय तालिममा भाग लिन गएकी थिइन्। त्यति बेला उनलाई अपमानपूर्वक तालिमबाट निकालिएको थियो। 'तिमीहरूका लागि होइन यो तालिम' भनेर आयोजकले भनेपछि जलारी दिदीबहिनी उठेर वडा कार्यालय पुगेका थिए।
'जनप्रतिनिधि आफ्नै समुदायको नहुँदासम्म कुनै सुविधा नपाइने रहेछ,' विमलाले भनिन्।
जलारीहरूमाथिको यस्तो उत्पीडन सदियौंदेखि चलिआएको छ। पोखरा उपत्यकामा मानिसहरू फैलिनुअघि नै ताल छेउछाउ बस्ती बसाएका जलारीहरूलाई कथित उपल्लो जातिले छुवाछुतको व्यवहार गर्थे। कतिले त उनीहरूले मारेका माछासमेत खाएनन्।
हामीले जलारीहरूको बसोबासको इतिहास खोतल्दै जाँदा उनीहरू पोखराको नयाँबजारबाट चारैतिर फैलिएको पाइयो।
उनीहरूले २०३१ सालअघि नै नयाँबजारमा बस्ती बसाएका थिए। उनीहरूको बस्तीलाई 'पोडे टोल' भनेर चिनिन्थ्यो। चाउरेसँग २०३१ वैशाख ६ गते लिएको नागरिकता अहिले पनि छ, जसमा उनको ठेगाना नयाँबजार राखिएको छ।
त्यति बेला नयाँबजारमा प्रदर्शनी केन्द्र बनाउन सरकारले जग्गा अधिग्रहण गर्न थाल्यो। चाउरेसहित जलारीहरूका जग्गा अधिग्रहण भए। अनि आमाबुबासँगै फेवाताल किनार बसाइ सरेको चाउरे सम्झन्छन्।
बेगनासतालका राजेन्द्र जलारी पनि नयाँबजारबाटै गएका हुन्। नयाँबजारबाट बेगनास बसाइ जाँदा उनी जम्मा एक बर्षका थिए।
यसरी तालतलैया किनार बसोबास थालेका जलारीको जनसंख्या पोखरामा मात्र करिब ५०० छ। तीमध्ये ९९ प्रतिशत माछा मारेर जीवन चलाउँछन्।
तालमा बसोबास थाल्दा मात्र होइन, नयाँबजार बस्दा पनि उनीहरू हातेजाल खेल्न ताल र खोलानालामा पुग्थे। जाल खेल्दै कहिले स्याङ्जाको आँधीखोलादेखि तनहुँ र लमजुङको सिमाना मादी नदीसम्म पुगेको, कहिले सेती, विजयपुर, मोदीखोला र कालीगण्डकीसम्म गएको चाउरे बताउँछन्।
नयाँबजारबाट तालकिनार बसोबास थालेपछि उनीहरू अन्यत्र बसाइ गएका छैनन्। अधिग्रहणमा नपरेका जलारीका घर अहिले पनि नयाँबजारमा छन्। उनीहरू अरू नै पेसामा अभ्यस्त भइसकेका छन्।
नयाँबजारबाट तालहरूमा फैलिएका यी जलारी पोखरा चाहिँ कसरी आइपुगे? कहाँबाट आए? किन आए?
जलारी समुदायसँग यी प्रश्नको प्रमाणित जबाफ छैन। बूढापाका केही कथा कहानी भने हालिरहन्छन्।
बेगनास तालमा डुंगा खियाउँदै जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
बेगनास तालमा डुंगा खियाउँदै जलारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
जलारी समुदायका वयोवृद्ध चाउरेलाई यसबारे आफ्नी अजी (हजुरआमा) ले सुनाएको कथा याद छ।
त्यो कथाले उनीहरूको पोखरा आगमनको केही झलक दिन्छ।
चाउरेकी हजुरआमा लक्ष्मी १०६ वर्ष बाँचेकी थिइन्। उनले भनेअनुसार पोखराका जलारी काठमाडौंबाट आएका हुन्। पहिले उनीहरू जलारी थर लेख्थेनन्। चाउरे र उनका बुबाले पनि नागरिकतामा 'पोडे' थर लेखेका छन्।
लक्ष्मीको कथा मान्ने हो भने जलारीहरू तत्कालीन राजा सुरेन्द्रविक्रम शाहका पालामा पोखरा आएका हुन्। राजा सुरेन्द्रविक्रमकी श्रीमती बिरामी पर्दा एक पोडे परिवारले झारफुक गरेर निको पारिदिएको थियो। बिमार रानीलाई बिसेक बनाइदिएपछि राजाले पोखराको नयाँबजारमा जग्गा बक्सिस दिएर बसोबास गर्न पठाएको भनाइ छ।
राजा सुरेन्द्रविक्रमको शासनकाल विक्रम सम्बत् १९०४ देखि १९३८ सम्म थियो। उनले काठमाडौंका पोडेलाई पोखरामा जग्गा बक्सिस दिएर पठाएको मान्ने हो भने जलारीहरू आजभन्दा लगभग १५० वर्षअघि पोखरा आएको हुनुपर्छ।
तर सुरेन्द्रविक्रमका पालामा काठमाडौंका पोडेले पोखरामा जग्गा बक्सिस पाएको लिखत भेटिएको छैन। कोही भने जलारी समूह माछा मार्दै जाँदा पोखरा आइपुगेको र ठाउँ मन पराएर यतै बसोबास गरेको तर्क पनि गर्छन्।
पोखराको नयाँबजारमा बस्ती बसाउन कसरी आइपुगे भन्नेबारे यकिन नभए पनि उनीहरू काठमाडौंका बासिन्दा भएकोमा दुबिधा छैन। किनभने, उनीहरूले पहिले नागरिकतामा लेख्ने 'पोडे' थर नेवारकै एक समूह हो। उनीहरू अहिले पनि नेवारी भाषा नै बोल्छन्।
लेखक तथा संस्कृति अध्येता राजेन्द्र महर्जनले 'पोडे जाति' शीर्षकमा एउटा लेख लेखेका छन्। उनका अनुसार काठमाडौंका पोडे जाति सरसफाइ गर्ने र माछा मार्ने भनी चिनिएका थिए। नेवार समुदाय सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा सम्पन्न भए पनि पोडे जातिलाई कथित अछुत जातिमा राखिएको उनको भनाइ छ। उनको यो भनाइ पोखराका जलारीहरूको इतिहास र वर्तमानसँग मेल खान्छ।
फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी पनि उनीहरूका पुर्खाले पोडे नै थर लेख्ने गरेको बताउँछन्। अहिले पनि कहिलेकाहीँ कथित उपल्लो जातिका मानिसबाट अछुत व्यवहार भोग्नुपरेको उनको भनाइ छ।
'जलारी थर लेख्न थालेको अहिलेका युवा पुस्तादेखि मात्र हो। अघिल्लो पुस्ताका प्राय: सबैले पोडे नै लेख्थे। जलारी लेख्न पनि कथित उपल्लो जातिका मानिसले नै सुझाएका हुन्,' उनले भने, 'जाल हान्ने जलारी वा जल अर्थात् पानीमा आहारा खोज्ने जलारी भनेर हामीलाई यो थर लेख्न भनेका हुन्।'
चाउरेका अनुसार पोखरामा बसोबास गर्ने जलारीका चार गोत्र छन् — नालामो, गोल्मे, चिलामे र नाभुँ।
एउटै गोत्रका केटाकेटीवीच विवाह हुँदैन। गोत्र फरक भएपछि मात्र विवाहबारी चल्ने चाउरे बताउँछन्। यस हिसाबले काठमाडौंबाट पोडे आउँदा एउटै गोत्रका आएका थिएनन्। कम्तिमा चारवटा फरक फरक गोत्रका परिवार आएको अनुमान गर्न सकिन्छ।
गोत्रअनुसार जलारीहरूका आ–आफ्नै मन्दिर छन्। कसैले डाँडापाखातिर मन्दिर बनाएका छन् त कसैले जलारी गाउँभित्रै। नाँभु र गोल्मे गोत्रका परिवारले खसी र कुखुरा बलि चढाउँछन् भने चिलामे र नालामेले सुँगुर चढाउँछन्। यसरी पूजा गर्दा उनीहरू आ–आफ्नो गोत्रको परिवार मन्दिरमा जम्मा हुन्छन्। सामूहिक पुजाआजा गर्छन्।
उनीहरूले केही नेवार संस्कृति पनि जीवित राखेका छन्। बालिकाहरूको बेलविवाह र गुफा त्यसैमध्ये एक हो।
नेवार परम्पराअनुसार बेल विवाहपछि स्यानरोज जलारी।
६२ वर्षीया शान्ति जलारीले आफ्नी नातिनी स्यानरोज जलारीको ९ वर्ष उमेरमा नेवार परम्पराअनुसार बेल विवाह गरेकी थिइन्। अहिले स्यानरोज ११ वर्षकी भइन्। यही वर्ष अन्त्यमा गुफा राखिदिने उनले तयारी गरेकी छन्।
त्यस्तै, तिहारमा म्ह पूजा मनाउने चलन पनि कायम छ।
'वेशभूषा र भाषा नेवारकै छ, संस्कृति पनि नेवारकै मान्छौं अनि हामी कसरी नेवार नहुने?' उनले भनिन्, 'मेरो त ममी शाक्य, बुबा गोशली। नेवार समुदायमै हुर्किएकाले पनि नेवारी संस्कृति मान्छौं।'
शान्तिका अनुसार नयाँबजारबाट जलारीहरू विस्थापित हुनुअघि पनि म्ह पूजा गर्थे। गुफा भन्ने चलन नभए पनि महिनावारी हुँदा ११ दिन लुकाएको उनलाई याद छ।
भाषा, वेशभूषा, संस्कार र संस्कृतिले जलारीहरू नेवार जातिकै एउटा थर भए पनि पहिचानको संकट भोगिरहेका छन्। कहिले उनीहरू नेवारभित्रकै एउटा थर भएकाले जनजाति बनेका छन् त कहिले दलित।
जलारी समाज कास्कीका महासचिव देवी जलारीले छोरी रियाको अध्ययनका लागि सिफारिस लिन जाँदा जनजातिको सिफारिस पाइन्। रियाले पुल्चोक क्याम्पसमा १०० जनाभित्र नाम निकालेकी थिइन्। दलितको सिफारिस पाएको भए शतप्रतिशत छात्रवृत्ति पाउने उनी बताउँछिन्।
उता फेवाताल किनार बसेका सुब्बा जलारीले जेठा छोराको निम्ति वडाबाट पहिले जनजातिको सिफारिस लिएका थिए। जिल्ला प्रशासन कार्यालयले उनलाई जनजातिको सिफारिस दिएन। दलितको सिफारिस ल्याउन भन्यो। सुब्बाले फेरि वडामा गएर दलितको सिफारिस मागे।
यसरी एउटै समुदायमा फरक फरक पहिचान छ जलारीको। राष्ट्रिय दलित अयोगले पनि पोडे, जलारी जस्ता नेवार जातिको थरलाई दलितमा समावेश गरेको छ। यसले पनि आफूहरूको पहिचान मेटाएको देवी बताउँछिन्।
उनले नेवार राष्ट्रिय संगठन नेवाः देय दबूमा पत्राचार गरेर संगठनमा आबद्ध गराइदिन माग गरेकी छन्। उनको मागमा नेवाः खलः कास्की र गण्डकी प्रज्ञा प्रतिष्ठानले सिफारिस गरेको छ। सरकारले गर्ने सूचीकरणमा जलारी समुदायलाई नेवारअन्तर्गत जनजातिमा समावेश गराउन यसरी पत्राचार गरेको देवी बताउँछिन्।
'हामीलाई कहिले जनजातिमा कहिले दलितमा राख्ने काम भयो। भाषा, संस्कार र संस्कृति नेवारसँग मिल्ने र नेवारकै एउटा थर भएकाले हामीलाई जनजातिमा सूचीकृत गर्न पत्राचार गरेका हौं,' उनले भनिन्।


पहिचानको संकट मात्र होइन, सर्वोच्च अदालतले फेवाताल किनारबाट ६५ मिटरभित्रका संरचना भत्काएर खाली गर्न आदेश दिएपछि अधिकांश जलारीको थातथलो पनि संकटमा छ। सर्वोच्चको आदेश लागू गर्दा उनीहरूको घर हटाउनुपर्ने हुन्छ।
'मापदण्ड लगाउँदा हामी घरबारविहीन हुन्छौं। जलारी समुदायलाई व्यवस्थित गरेर मात्र सरकारले मापदण्ड लगाउनुपर्छ,' सुब्बा जलारीले भने, 'बरू सरकारले हामीलाई जलारी नमूना गाउँ वा पकेट एरिया बनाइदिनुपर्छ।'
बेगनासतालका जलारीको हालत फेवातालको भन्दा खराब छ। बेगनास किनार पिप्ले गाउँ बसालेका जलारीसँग आफूले हकभोग गरिआएको जग्गाको लालपुर्जा छैन। सर्वोच्च अदालतले बेगनासतालको मापदण्ड किनारबाट १०० मिटर तोकेको छ। मापदण्ड लागू गर्दा पिप्ले गाउँको नामनिसान मेटिने जलारी समाज कास्कीका अध्यक्ष झलक जलारी बताउँछन्।
उनले लालपुर्जा दिन पटक पटक सरकारसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए।
'हामी सुकुम्बासी अवस्थामा छौं। यहीँ बसेर आमाबुबा बित्नुभयो, हामी पनि यहीँ पुराना भइसक्यौं,' झलकले भने, 'हामीलाई सरकारले यहीँको लालपुर्जा देओस्। नभए कतै व्यवस्थापन गरिदेओस्।'
पोखराका तालतलैया जोगाउन भूमिका खेलेका जलारीहरू अहिले आफ्नै पेसा, थातथलो र पहिचान गुम्ने चिन्ताले पिरोलिएका छन्।
ज्ञानबहादुरका आँखैअगाडि फेवाताल प्रदूषित भए। पुरिँदै गए। अतिक्रमित हुँदै गए। पहिलेजस्तो माछा अहिले फेवातालमा छैन। पहिलेझैं तालको पानी उबाएर खान मिल्दैन। हेर्दाहेर्दै माछा देखिनै छाड्दैछ फेवातालमा।
तालमा माछा पौडिरहेको दृश्य अहिले पनि ज्ञानबहादुरलाई रोमाञ्चक लाग्छ। ताल संरक्षण बजेटबाट किनारमा लगाइएको पर्खालले माछा छेकिएको छ।
रातभर अत्याधिक प्रकाशको झिलिमिली फेवातालमा पुर्याएको पनि ज्ञानबहादुरलाई मन परेको छैन। प्रकाश प्रदूषणले माछालाई असर पर्न सक्ने उनको चिन्ता छ। लाइटले रातमा पनि माछा किनारमा आउन छाडेको उनी बताउँछन्।
'हेर्दाहेर्दै हामी र माछा उस्तै भयौं,' उनले भने, 'पोखराका तालहरूबाट हराउँदै गएका माछाजस्तै एकदिन हामी पनि हराउन सक्छौं। पोखराको नयाँबजारबाट ताल किनार लखेटियौं, अब यहाँबाट कहाँ लखेटिने हो?'
कुनै बेला आफ्नो माछा जोगाउन लुटेराहरूसँग कड्केर बोलेका ज्ञानबहादुर अहिले आफूलाई कति निरीह ठान्छन् भने, आफ्नो पहिचान र थातथलो संकटमा पर्दा पनि उनी त्यसैगरी कड्किन सकेका छैनन्।
***