के कतिपय 'विज्ञ' हरूले अड्कलबाजी गरेजस्तै पृथ्वी तात्ने क्रम तीव्र भएकै कारण करेत र गोमनजस्ता विषालु सर्प तराई र उष्ण भेगबाट माथि माथि चढ्दै पहाड आइपुग्न थालेका हुन्?
यस्तो प्रश्न सोध्यो कि प्राणीशास्त्री करण शाह किन 'इरिटेट' हुन्छन्। अर्थात् थोरै चिढिन्छन्, झर्किन्छन्।
यथार्थ के हो?
उनलाई सर्पबारे यति धेरै ज्ञान छ कि एक नयाँ प्रजातिको हरेउलाई उनकै नाम दिइएको छ। त्यो पनि झन्डै ३० वर्ष अघि।
सन् १९९६ को वर्षा याममा ललितपुरको फूलचोकी क्षेत्रमा पहिलो पटक भेटिएको हरेउलाई दुई रूसी वैज्ञानिकले एक वर्षपछि एक प्राज्ञिक लेखमार्फत औपचारिक रूपमै उनको नाम दिएका थिए — 'Trimeresurus karanshahi' 'ट्रिमेरसुरस करनशाही', अथवा 'करनको हरेउ'।
त्यति धेरै ख्याति कमाएका प्राणीशास्त्री ७१ वर्षीय प्राध्यापक शाहलाई हिजोआज निकै झोक चल्न थालेको छ।
प्राध्यापक करण शाह
प्राध्यापक करण शाहको नाम दिइएको हरेउ सर्प
कारण— विभिन्न अनलाइन समाचार र सञ्जालहरूमा बारम्बार आइरहने सर्पबारे मिथ्या तथा भ्रामक जानकारी।
अझै चिन्ताजनक कुरा के छ भने, नेपालका सर्पबारे झुट समेटिएका त्यस्ता भाइरल समाचार, फोटो वा भिडिओ क्षणभरमै संसारैभर फैलिइन्छन्।
त्यस्ता भ्रामक समाचारका केही उदाहरण यहाँ राखेको छु।
उदाहरण नम्बर १— केही दिनअघि मात्र भारतको टाइम्स अफ इन्डियाको अनलाइन पोर्टलमा एउटा सनसनीपूर्ण समाचार छापियो।
त्यसले भन्यो — 'नेपालमा १० वटा विषालु गोमन फेला, वैज्ञानिक भन्छन्– यो ठूलो संकटको सूचक हो।'
नेपालकै एक अंग्रेजी दैनिकमा छापिएको समाचारका आधारमा छापिएको त्यो खबरका अनुसार 'गएको एक महिनामा काठमाडौं र वरिपरिका क्षेत्रमा ९ वटा राजगोमन र एउटा गोमन गरी दस वटा विषालु सर्प फेला परेका छन्। गर्मी हुने स्थानका खाडी खेत र वनमा मात्र पाइने सर्प हिजोआज सगरमाथा हिमालदेखि १६० किलोमिटर पर पाइन थालेको छ।'
त्यो खबरमा एक विज्ञले भनेका छन्, 'यसरी हिमाल नजिकै त्यस्ता सर्प पाइनु तापक्रम बढ्नु र जलवायु परिवर्तनको असर हुन सक्छ।'
उदाहरण नम्बर २ — त्यसको दुई साताअघि सर्पबारे अर्को समाचार छाप्न र सञ्जालमा हालेर भाइरल बनाउन तँछाडमछाड भयो।
मे २८ तारिकमा छापिएको सो समाचारले भन्यो — विराटनगरमा दुर्लभ 'स्पिटिङ कोब्रा' फेला।
विराटनगर– ४ मा पर्ने नोबेल अस्पताल पछाडि भेटिएको त्यो सर्पले शम्भु घिमिरेलाई परैबाट विष छर्किदिएपछि त्यो घटनाप्रति मानिसहरूले निकै चासो दिए। तुरून्तै अस्पताल पुर्याइएका घिमिरेलाई विषले धेरै असर गर्न पाएन। तर त्यो सर्पको फोटो र भिडिओले भने हप्तौं बितिसक्दा पनि सामाजिक सञ्जालमा मानिसको ध्यान तान्न छाडेको छैन।
मे २८ (२०२५) मा विराटनगरमा भेटिएको कालो गोमन सर्प जसले परैबाट मानिसलाई विष फालिदिएको थियो। तस्बिर: फेसबुक/ हाम्रो दमक राम्रो दमक
विराटनगरमा भेटिएको त्यो गोमनले नयाँ नाम पाएकामा प्राणीशास्त्री करण शाह छक्क मात्र परेका छैनन्; उनी क्रुद्ध छन्।
भन्छन्, 'त्यो मोनोक्लेड कोब्रा हो। यो पनि एक प्रकारको गोमन हो, जुन नेपालका धेरै ठाउँमा पाइन्छ। टाउकोमा गोलो चिह्न भएको यसको नेपाली नाम पनियादराद हो। कुनै कुनै पनियादरादले त्यसरी परैबाट विष फाल्छ। 'तर यो सर्प थाइल्यान्ड इजिप्ट वा अफ्रिकामा पाइने जस्तो स्पिटिङ कोब्रा होइन।'
त्यसैले विराटनगरमा परैबाट विष छर्ने गोमन भेटिनु कुनै दुर्लभ घटना नभएको प्राणीशास्त्री शाहको भनाइ छ।
गोमनबारेका अन्य भ्रमबारे पनि उनी चिन्तित छन्। तराईबाट मुडा, पराल वा अन्य सामानसँगै ट्रक चढेर राजगोमन र गोमन सर्प काठमाडौं वा अन्य कुनै पहाडी जिल्ला आइपुगेको हुन सक्ने जस्ता अड्कलबाजीप्रति उनको घोर आपत्ति छ।
त्यस्ता अड्कलबाजी कहिलेकाहीँ चिकित्सक र सर्प उद्घारमा खटिने नयाँ नयाँ 'विज्ञ' हरूबाट हुने गरेकामा सर्पविद तथा प्राणीशास्त्री शाह खिन्न छन्।
इन्टरनेटमा सर्प हाल्ने होडबाजी
हो सर्प, चितुवा र अन्य वन्यजन्तु इन्टरनेटमार्फत् निकै सेयर हुन्छन्। तर हतार हतार लेखेर अनलाइनमा हालिने कैयन सूचना तथा फोटो भिडिओले पाठक वा दर्शकमा मिथ्या जानकारी दिने वा भ्रम फैलाउन थालेको पनि वर्षौं भइसक्यो।
के कतिपय 'विज्ञ' ले अड्कलबाजी गरेजस्तै पृथ्वी तात्ने क्रम तीव्र भएकै कारण करेत र गोमनजस्ता विषालु सर्प तराई र उष्ण भेगबाट माथिमाथि चढ्दै पहाडतिर आइपुग्न थालेका हुन्? यथार्थ के होला? यसको चर्चा केही बेरमा। पहिले नेपालमा पाइने विषालु सर्प चिनिहालौं।
प्राध्यापक शाहका अनुसार नेपालमा हालसम्म ८२ प्रजातिका सर्प भेटिएका छन्। तीमध्ये करिब २१ प्रजातिका विषालु पाइएका छन् भने बाँकी ६१ प्रजातिका विषालु छैनन्।
सबैभन्दा विषालु सर्प करेत
करेत सर्पको प्रजाति। तस्बिरः edcd.gov.np
नेपालमा पाइने सबभन्दा विषालु सर्प करेत हो। यसका ६ वटा प्रजाति नेपालमा पाइएका छन्।
'करेत सर्प तराई भित्री मधेस र इलाम, दोलखा र कास्की जस्ता पहाडी जिल्लामा पाइएको छ,' शाहले भने, 'तर करेत काडमाडौं उपत्यका र वरिपरि अहिलेसम्म फेला परेको छैन।'
उनका अनुसार करेतको ६ मिलिग्राम विष मानिसको शरीरमा पसेपछि मृत्यु हुन सक्छ।
'तर करेतले टोक्दा त्योभन्दा धेरै वढी विष मानिसको शरीर भित्र पसिसकेको हुन्छ र जोखिम झनै बढी हुन्छ,' उनले भने।
हिमालयन करेत नाम गरेको अर्को प्रजाति पनि छ।
उनले थपे, 'मैले निकै वर्ष अगाडि इलाममा १,६०० मिटरमा हिमालयन करेत भेटेको थिएँ। काठमाडौं र वरपर भने अझै भेटिएको छैन।'
राजगोमन र गोमन
राजगोमन वा नागराज। तस्बिरः edcd.gov.np
प्राध्यापक शाहका अनुसार नेपालमा तीन प्रजातिका गोमन सर्प पाइएका छन् — विराटनगरमा पाइएजस्तै टाउकोमा गोलो चिह्न भएको पनियादराद (मोनोक्लेड कोब्रा), राजगोमन (किङ कोब्रा) र सामान्य गोमन।
महत्त्वपूर्ण कुरा यो हो — यिनीहरू तराई र भित्री मधेसका २६ जिल्लामा मात्र सीमित छैनन्। पनियादराद, राजगोमन र सामान्य गोमन तराईदेखि पहाडसम्मै भेटिएका छन् त्यो पनि दशकौं अघिदेखि नै।
तराई र भित्री मधेसमा मात्र होइन, राजगोमन धेरै अगाडि नै नेपालका ३७ जिल्लामा भेटिइसकेको हो। गोमन सर्पका प्रजातिहरू तराईको सबभन्दा कम उचाइमा बसेको झापादेखि सगरमाथा शिखर रहेको जिल्ला सोलुखुम्बूको झन्डै ३ हजार मिटर उचाइसम्म भेटिइसकेका प्राध्यापक शाहले बताए।
हालै विराटनगरमा भेटिएको जस्तो गोमन सर्प। तस्बिरः edcd.gov.np
'हामीले ३०–३५ वर्ष अघिदेखि अध्ययन गर्न थालेयता नै राजगोमन र अरू गोमनका प्रजाति पहाडी भेगमा पनि भेट्दै आएका छौं। हिजोआज गर्मी बढेकाले भेटिएको भन्ने कुरा सत्य होइन। ती पहिले पनि थिए,' उनले भने।
त्यसो भए राजगोमन र गोमनबारे समाचार हिजोआज किन बढी आउन थालेका?
यसमा शाहको बुझाइ छ, 'हिजोआज मानिसको हात हातमा मोबाइल र क्यामरा हुन भएकाले ती तत्कालै सार्वजनिक हुन थालेका हुन्।'
काठमाडौं वरपरका राजगोमन विचरण गर्ने स्वर्ग
विश्वकै लामो र धेरै परिमाणमा विष फाल्न सक्ने राजगोमन सर्प हालसम्म काठमाडौं उपत्यका वरिपरिका सिमसार क्षेत्र सहित नेपालका करिब ५० जिल्लामा भेटिएको छ। राजगोमन २,५६६ मिटरको उचाइसम्म भेटिएको छ। त्यो भनेको मकवानपुरको दामनको उचाइ हो।
राजगोमन र गोमन सर्प प्रशस्तै पाइने काठमाडौं वरपरका केही स्थान यी हुन्: नागार्जुन, शिवपुरी, सुन्दरीजल, चित्लाङ, इन्द्रसरोवर, तामाकोसी, जिरी इत्यादी।
२०५५ सालतिर जिरीमा प्राध्यापक शाहको टोलीले कैयन राजगोमन र गोमन देखेको थियो। तर त्यति बेला 'सैनिकको ट्रकमा सामानसँगै तराईबाट आएको हो' भनेर भ्रामक समाचार छापिए।
करिब २०५५ सालतिरै अर्को घटना भयो।
काठमाडौंको नागार्जुन नजिकै इचंगु क्षेत्रमा गोमन सर्प खाँदै गरेको राजगोमनलाई मानिसले ढुंगाले हानिरहेको भेटियो। त्यसपछि ती सर्पको उद्धार गरेर शाह त्यति बेला निर्देशक रहेको प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भूमा ल्याएको उनले बताए।
अर्को चर्चित घटना १० वर्षअघि, २०७२ साल चैतमा कागेश्वरी मनोहराको आलापोटमा भएको थियो।
त्यति बेला आलापोटको एउटा घरमा पसेको ठूलो सर्प निकाल्न कृष्णकमल फुयाललाई डाकियो। ४६ वर्षीय स्थानीय बासिन्दा कृष्णकमल 'सर्प खेलाउने' व्यक्तिका रूपमा चिनिन्थे। कृष्णकमलले त्यो घरबाट १२ फिट लामो सर्प निकाले। सजिलै समातेर घाँटीमा बेरे र निकैबेर बजार डुलाएर। भेटीघाटी पनि बटुले।
तर आलापोटबाट हिँडेर सुन्दरीजलतर्फ लागेका उनी ४ घन्टापछि बेहोस भेटिए।
उनको नाडी र हत्केलामा सर्पले डसेको डाम थिए। अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो।
प्राध्यापक शाह र अन्य सरीसृत विज्ञका अनुसार राजगोमनले मानिसलाई विरलै टोक्छ। ज्यादै कस्ट दिएको अवस्थामा भने डसिदिन्छ।
विश्वकै सबभन्दा लामो र अति विषालु मानिने राजगोमन धेरै पानी पाइने सिमसार क्षेत्रमा पाइन्छ। त्यहाँ पाइने गोमन र करेत जस्ता सर्पलाई राजगोमनले आहारा बनाउँछ।
शाहका अनुसार गोमनको १२ मिलिग्राम विष मानिसको शरीरमा पस्यो भने मृत्यु हुन सक्छ।
'तर गोमनले त्यो भन्दा धेरै विष फाल्ने गर्छ। राजगोमनले अझै बढी विष फाल्न सक्छ,' उनले भने।
अन्य विषालु सर्प
मुगा सर्प अर्थात् कोरल स्नेक। तस्बिरः edcd.gov.np
अर्को विषालु सर्प हो मुगा सर्प अर्थात् कोरल स्नेक। यो तराईदेखि पहाडसम्मै पाइएको छ। काठमाडौं उपत्यका र वरपर पनि पाइएको छ।
'यो पनि करेत र गोमन जस्तै निकै विषालु सर्प हो,' शाहले भने।
करेत र गोमनपछिको सबैभन्दा बढी विष फाल्ने सर्प भने रसेल्स भाइपर अर्थात् बाघे सर्प हो। यो प्रजातिको सर्प पनि तराई र भित्री मधेस क्षेत्रमा पाइन्छ।
रसेल्स भाइपर अर्थात् बाघे सर्प। तस्बिरः edcd.gov.np
बाघे सर्पको १५ मिलिग्राम विष मानिसको शरीरमा पसेमा त्यो प्राणघातक हुन सक्ने शाह बताउँछन्।
नेपालमा पाइने अर्काथरी विषालु सर्प भनेका भाइपर जातिका हुन्। यिनमा बाघेसहित हरेउ, आँधो सर्प आदि पर्छन्।
१४०० मिटर उचाइमा पाइएको माउन्टेन पिट भाइपर वा बाघे सर्प। तस्बिरः edcd.gov.np
यिनीहरूमध्येको एक प्रजाति हिमाली आँधो सर्प ४,८०० मिटरको उचाइसम्म पाइएको छ। तर यी प्रजातिका विषालु सर्पले तुलनात्मक रूपमा कम विष फाल्छन्। त्यसैले यिनलाई कम विषालु मान्ने गरिएको शाहले बताए।
सर्पले टोकेमा के गर्ने?
शाहका अनुसार सर्पले टोकेमा बिरामीलाई तुरून्तै नजिकैको अस्पताल पुर्याइहाल्नुपर्छ।
त्यसअघि टोकेको भाग र वरपरको अंग समेत ढाक्ने गरी खुकुलो गरी कपडाको पट्टी बाँध्न सकिन्छ। जस्तो कि हातमा टोकेको छ भने पाखुरा वा खुट्टामा छ भने घुँडासम्म ढाकिने गरी खुकुलो ब्यान्डेज बाँध्नुपर्छ।
'त्यसो गरेमा पूरै शरीर भरी विष फैलिन पाउँदैन,' प्राध्यापक शाहले भने।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal