त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष— विदेशबाट सुटकेस बोकेर हँसिलो अनुहार लिएर फर्किनेहरू थुप्रै थिए। कुरूवा कक्षमा फूल, माला, खादा बोकेर स्वागत गर्न बसेकाहरू पनि उत्तिकै थिए।
त्यही भिडमा कुर्सीमा बसिरहेकी सूर्याको (परिवर्तित नाम) अवस्था भिन्न थियो। उनको अनुहारमा न खुसी देखिन्थ्यो, न चमक।
उनले टाउकोमा पछ्यौरा बाँधेकी थिइन्। अनुहार सुन्निएको थियो। पासपोर्ट बोकेका हात कामिरहेका थिए।
उनी आफ्नो नाम, थर, ठेगाना समेत बताउन नसक्ने अवस्थामा थिइन्।
यो जेठ २८ गते दिउँसो कुरा हो।
त्यसरी कुर्सीमा बसिरहेकी सूर्यालाई एक जना पुरूषले सोधे, 'तपाईं कहाँबाट आउनुभएको?'
उनले काम्दै भनिन्, 'कुवेत।'
सूर्याको त्यस्तो अवस्था देखेर ती पुरूषले पासपोर्ट मागेर हेरे। उनी कुवेत गएको चार महिना नहुँदै फर्किएकी थिइन्। ती पुरूषले माइती नेपालमा कार्यरत उमा तामाङलाई सम्पर्क गरेर सूर्याको बारेमा बताइदिए।
'विमानस्थलबाट फोन गरेर एक जना महिला पीडित हुनुहुन्छ भन्नुभयो। त्यसपछि उहाँको फोटो, नाम, थर मगाएँ,' उमाले भनिन्, 'फोटोमै उहाँको अवस्था एकदमै नराम्रो देखिएको थियो।'
त्यसपछि विमानस्थल प्रहरीसँग समन्वय गरेर सूर्यालाई गौशाला प्रहरी वृत्त हुँदै माइती नेपाल पुर्याएको उनले बताइन्। काठमाडौंमा एक साताको उपचारपछि सूर्या गाउँ फर्किएकी छिन्।
कर्णाली प्रदेशकी बासिन्दा ४९ वर्षीया सूर्या दलित महिला वडा सदस्य हुन्।
उनी दुई छोरी र एक छोरासँग बस्थिन्। श्रीमानको अत्तोपत्तो हुँदैन थियो। एकाएक घर आउँथे, कसैलाई नभनी हिँड्थे। मिस्त्री काम गर्न बेला बेला भारत पुग्थे। सूर्या घरमै गाईवस्तु पालेर र खेतीपाती गरेर बसेकी थिइन्।
सूर्या पहिल्यैदेखि नेकपा एमालेमा आबद्ध थिइन्। बेला बेला पार्टी कार्यालयबाट बोलावट आउँथ्यो। २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीले उनको नाम महिला दलित वडा सदस्यमा सिफारिस गर्यो।
'उहाँहरूले मलाई जनप्रतिनिधि बन्न सक्ने देखेरै छान्नुभएको होला,' सूर्याले त्यो समय सम्झिँदै सेतोपाटीसँग भनिन्, 'तर मैलै घरपरिवार हेर्नुपर्थ्यो। राजनीतिमा पूर्ण रूपमा लाग्न गाह्रो हुन्थ्यो। फेरि त्यति बेला श्रीमान पनि घरमा थिएनन्। कुराकानी गरेर मात्रै निर्णय दिन्छु भनेँ।'
वैशाखमा चुनाव हुँदै थियो। चैतमा सूर्याका श्रीमान घर आइपुगे।
सूर्याका कुरा सुन्नेबित्तिकै श्रीमान झोंक्किए र भने, 'चुनावमा नउठ्ने! राजनीति नगर्ने, घरै बसेर काम गर्ने!'
केही समयपछि श्रीमानले बोली फेरे र सूर्यालाई चुनावमा उठ्न भने।
सूर्याका अनुसार यसको कारण उनकी फुपू थिइन्। राम्रै सम्बन्ध भए पनि जब फुपू कांग्रेसबाट चुनाव उठ्ने भइन्, तब उनीहरू प्रतिस्पर्धी बने। अनि सूर्याका श्रीमानले उनलाई चुनाव उठ्न भनेका हुन्। वडाध्यक्षका उम्मेदवारले आर्थिक रूपमा सहयोग गर्ने भनेपछि सूर्यालाई झनै आँट आयो।
चुनावी माहोलमा चार दिन खटेर सूर्या घरदैलोमा हिँडिन्। तर यसले उनको पारिवारिक झमेला बढ्यो।
'कता, कोसँग बसी, कहाँ खाएर आई भनेर श्रीमानले नमज्जाले कुटे। छोरीले उनलाई दाउराले हिर्काएर मेरो ज्यान जोगाई,' सूर्याले भनिन्, 'म हिँड्न, खान नसक्ने भएँ। छोराले भात खुवाइदियो।'
त्यसपछि उनले चुनावबारे सोचिन् — दया लागे अरूले भोट माग्देलान्! भोट नआए पनि ठीकै छ!
अलि तंग्रिएपछि उनले प्रहरीलाई खबर गर्नेबारे सोचिन्। चौकी जान हिँडिसकेकी थिइन्। तर श्रीमानविरूद्ध मुद्दा हाले जित्ने सम्भावना कम हुन्छ भन्ने सोचाइ आयो र गइनन्।
निर्वाचन भयो। उनलाई जित्ने आश रत्ति थिएन। त्यसैले मत परिणाम सुन्न नपर्खी उनी पूजा गर्न भनेर दैलेख हिँडिन्।
मत गणना सकिएपछि वडाध्यक्ष निर्वाचित भएकाले फोन गरेर सुनाए, 'लु हजुरले जित्नुभयो। भोलि बिहान परिक्रमा गर्न आउनू।'
सूर्याको खुसीको सीमा रहेन। फर्केर उनले गाउँ परिक्रमा गरिन्।
जितको अवसरमा रमाइलो गर्ने भनेर भाइसँग चार हजार रूपैयाँ सापटी मागिन्। घरभरि मान्छे थिए। उनका श्रीमान भने एक्कासि हिँडिसकेका थिए।
जनप्रतिनिधि भएपछि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने उनलाई लागेको थियो। दुई वर्षसम्म केही नसोची खुरू खुरू वडा सदस्यको जिम्मेवारी निर्वाह गरिन्।
जनप्रतिनिधि हुनुअघि नै उनले ऋण लिएर जग्गा किनेकी थिइन्। श्रीमानबाट सहयोग थिएन। त्यसैले साथीहरूको सल्लाह अनुसार कृषि फर्म खोलेर ऋण तिर्ने सोचिन्। खेतीपातीमा लागिन्, गाईवस्तु पालिन्। तर उनको योजना साकार भएन।
'६ लाख रूपैयाँ ऋण थियो। दुई वर्षमा साँवाब्याज केही तिर्न सकिनँ। ऋण बढ्दै गयो, फर्म खोल्न पनि सकिनँ,' उनले भनिन्।
जमिन किन्दा लागेको ऋण सल्टाउन उनले त्यही जमिन बेच्ने नसोचेकी होइनन्। श्रीमानले मानेनन्। पछिल्लो पटक तिहारमा आउँदा सूर्यालाई कुटे।
त्यति बेला भने सूर्या प्रहरी चौकी पुगिन्। प्रहरीले खोज्ने बेलासम्म श्रीमान भागिसकेका थिए।
यसपछि उनले केही गाईवस्तु बेचेर अलिअलि ब्याज तिरिन्। नियमित आम्दानी नहुँदा फेरि अवस्था उस्तै भयो।
यसबीच एक जना साथीले उनलाई ऋण चुक्ता गर्ने उपाय सुझाइन्। पार्टीको बैठकमा गइरहँदा क्यान्टिनमा काम गर्ने एक महिला सूर्याकी साथी बनेकी थिइन्। उनीसँग दुःखसुखका कुरा गर्थिन्।
साथीले उनलाई भनिन्, 'तिमीलाई धेरै गाह्रो भयो। यहाँ काम गरेर नसक्ने भए विदेश जाऊ।'
तिनै साथीले एक जना एजेन्टको नम्बर दिइन्। एजेन्टले पासपोर्ट बनाउनेदेखि जहाज टिकटसम्मको खर्च बेहोर्छन् भनिन्।
सूर्या विदेश जानेबारे सोच्दै थिइन्, एक दिन एजेन्टले आफै फोन गरेर कुवेत पठाइदिने भने। सबै प्रक्रियाबारे जानकारी गराए। महिनामा ५० हजार रूपैयाँ जति कमाइ हुन्छ भने।
ऋणको बोझले थिचिएकी सूर्या एजेन्टका कुराले उत्साहित भइन्। एजेन्टले भने अनुसार पासपोर्ट बनाउन काठमाडौं आइन्। आउने, जाने, बस्ने, खाने, पासपोर्ट बनाउने सबै खर्च र व्यवस्था एजेन्टले नै गरिदिए। सूर्याले केही खर्च गर्नु परेन।
पासपोर्ट बनाइसकेपछि एजेन्टले आफै राखे। सूर्या गाउँ फर्किइन्। घर गएर आफू विदेश जान लागेको सुनाइन्।
'श्रीमानलाई म विदेश जान्छु, ऋण तिरिसकेपछि फर्किन्छु, बालबच्चा हेर्नू, पढाउनू, गाली नगर्नू, बाख्रा हेरेर बस्नू भनेँ,' सूर्याले भनिन्, 'तर हिँड्ने दिन पनि राम्रो भएन। छोरीले पकाएको खाना खान मन थियो। श्रीमान बिहानैदेखि झगडा गर्न थालेपछि नखाई निस्किएँ।'
काठमाडौंमा उनलाई एजेन्टले कागजात थमाए। भोलिपल्टै, अर्थात् गत साल माघ ३० गते उनी कुवेत उडिन्।
कुवेत पुगेपछि सूर्यालाई त्यहीँका एजेन्ट लिन आए। अनि एउटा घरमा काम गर्न पठाए। उनले दैनिक १२ देखि १८ घन्टासम्म घरको सबै काम गर्नुपर्थ्यो।
'गाउँघरमा सधैं गरिरहने काम हो, यसकै लागि पैसा पाइने भएपछि सुरूमा सजिलै लाग्यो। घरका मान्छेको भाषा बुझ्दिनँ थिएँ, आफ्नै सुरमा काम गर्थेँ,' उनले भनिन्।
दुई महिनापछि एजेन्टले भने अनुसारकै तलब पाइन्। घरमा पठाइन् र करिब एक लाख रूपैयाँ ऋण तिरियो। अब बाँकी ऋण सहजै तिरिन्छ भनेर मनमनै फुरूंग परिन्।
तर एक दिन एकाएक घरका साहुले उनलाई तथानाम गाली गरे। अरबी भाषा नबुझ्ने भएकाले आफूले के काम बिगारेँ भन्ने अत्तोपत्तो सूर्यालाई भएन। तर साहुले एजेन्टकहाँ पठाइदिन्छु भनेकोसम्म भेउ पाइन्।
'मैले के बिगारेँ भन्ने थाहै पाइनँ,' उनले भनिन्, 'कम्पनीमा पठाइदिन्छु भनेजस्तो लागेको थियो। मैले आफ्नै पारामा घरै पठाऊ भनेँ तर मानेनन्।'
सूर्यालाई एजेन्टले लगे र दुई दिन कम्पनीमै राखे। यसपछि उनलाई अर्को घरमा काम गर्न पठाए। नयाँ घर गएको केही समयमै सूर्या बिरामी परिन्। कामै गर्न नसकेपछि उनलाई घरसाहुले फिर्ता पठाए।
एजेन्टले फेरि उनलाई कम्पनीमै राखे। यसपालि मोबाइल पनि जफत गरे।
कम्पनीमा दुई जना सिन्धुपाल्चोकका नेपाली र एक जना श्रीलंकाली नागरिक एजेन्ट थिए। सूर्याजस्तै काम गर्न गएकाहरू भने थुप्रै थिए। एउटै कोठामा करिब २० जना हुन्थे। कुनैमा ४० जनासम्म पनि बस्थे।
सूर्यासँग भएको अलिअलि पैसा सकिइसकेको थियो। उनलाई बिरामले च्याप्दै गयो। उनी त्यहीँ थलिइन्। उनको उपचार, घर फिर्ता पठाउनेबारे कसैले केही कुरा गरेन।
'बीचमा एक पटक छोरीसँग कुरा गरेँ। बिरामी भएँ भनेपछि उनले काठमाडौंको एजेन्टलाई ३५ हजार रूपैयाँ हालिदिइन्। तर त्यो पैसा मलाई दिएनन्,' उनले सुनाइन्।
उनले एजेन्टहरूसँग अनुनय गरिन्। कसैले उनको कुरा सुनेन। उल्टो बेलाबेला एजेन्टहरू आएर धम्क्याउँथे।
एक दिन त बिरामी परेको नाटक गरेको भन्दै श्रीलंकाली एजेन्टले सूर्यामाथि खुकुरी नै तेर्स्याए।
'तैंले बिरामी परेको नाटक गरेकी होस् भनेर मेरो घाँटीमै खुकुरी तेर्स्यायो,' उनले भनिन्, 'मैले प्रतिकार पनि गर्न सकिनँ।'
श्रीलंकाली एजेन्ट त्यो दिन उनलाई तर्साएर फर्किए। धम्क्याउने सिलसिला चलिरह्यो।
कम्पनीमा बसेको महिना दिन भइसकेको थियो। त्यहीँ एक जना नेपालीसँग उनको दोस्ती भयो। उनैमार्फत् सूर्याले नेपालमा साथीलाई सम्पर्क गरिन्।
'नेपालका साथीले मिडियामा खबर गरेछन्। अनि यहाँका एजेन्टलाई थर्काएछन्,' उनले भनिन्, 'त्यसपछि त एजेन्टहरूले आएर मलाई जेल हाल्दिन्छौं, मारिदिन्छौंसम्म भनेर धम्क्याए।'
सूर्याले घर जाने भनिरहिन्। एजेन्टले उनलाई चार लाख रूपैयाँ तिर्, पठाइदिन्छौं भन्न थाले। उनीहरूले अरूलाई पनि त्यसै भन्थे।
यहीबीच कम्पनीमा बन्धक एक महिला भागिन्। त्यसपछि एजेन्टहरू झस्किए। अनि बल्ल सूर्याको फिर्ती प्रक्रिया अगाडि बढाए।
'ती बहिनी कहाँ गइन्, थाहा पाइनँ। एजेन्टहरूले पनि खोजे तर भेटेनन्,' सूर्याले भनिन्, 'पछि ती बहिनी भेटिइन् भनेर सुनाएका थिए। मैले चाहिँ भेटिनँ। ती बहिनी भागेपछि मलाई फिर्ता पठाउने प्रक्रिया भने अगाडि बढाए।'
एजेन्टहरूले एउटा सर्त राखे — कम्पनी वा एजेन्टबारे उजुरी गर्न नपाइने!
उनले हुन्छ भनिन् र डेढ महिनापछि कम्पनीबाट निस्किइन्।
'हुन्छ भने पनि उनीहरूको सबै विवरण टिपेँ। अनि बिरामी नै भए पनि त्यहाँबाट जसोतसो फर्केँ,' सूर्याले भनिन्, 'अब म कहिल्यै विदेश जान्नँ। एजेन्टहरूले नेपालीहरूलाई साह्रै दुःख दिन्छन्। म यिनीहरूबारे सबै भन्छु, उजुरी दिन्छु।'