अमेरिकाले १२५ वटाभन्दा बढी विमान प्रयोग गरेर आइतबार इरानका आणविक भट्टीहरूमा आक्रमण गर्यो।
फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टीसहित, नतान्ज र इस्फहानमा रहेका भट्टीहरूमा प्रहार गर्न बी–२ बमवर्षक, लडाकु र आकाशमै तेल भर्न सक्ने विमान प्रयोग थिए।
फर्दोको भट्टी ध्वस्त पार्न बी–२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गरिएको थियो।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो आक्रमण हुन लागेकोबारे इरानले थाहा नपाओस् भनेर शनिबारै अमेरिकाको मिजोरीबाट एक हुल बी–२ बमवर्षक विमान पश्चिमतर्फ लागेका थिए। ती विमान ट्र्याक गर्न नमिल्ने खालका थिए। तर इरानलाई झुक्क्याउन ती विमान सार्वजनिक रूपमै ट्र्याक गर्न सकिने गरी प्रशान्त महासागरतर्फ उडे।
मिजोरीबाट एक हुल विमान पश्चिमतर्फ उडेकै समयमा, अरू सात वटा बी–२ बमवर्षक विमान दुई–दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे।
ती जहाज ट्र्याक गर्न नमिल्ने गरी नै झन्डै १८ घन्टा उडेर इरान पुगे। अनि ६ वटा बी–२ विमानले फर्दोमा १२ वटा जिबियू–५७ बम प्रहार गरे। अर्को एउटाले नतान्जमा दुइटा बम खसाल्यो।
यो मिसनलाई 'अपरेसन मिडनाइट ह्यामर' नाम दिइएको थियो। सो मिसन पूरा गरेर बी–२ बमवर्षक विमान फर्किएर मिजोरी नै गए। एउटाको दुई अर्ब डलरभन्दा बढी पर्ने यी बी–२ बमवर्षक विमान अमेरिकाले मिजोरीकै हवाई अड्डामा राख्छ।
इरानमा आक्रमण गरेका बी–२ बमवर्षकले करिब ३७ घण्टा लगातार उडान भरेर लगभग २३ हजार किलोमिटर दुरी पार गरे थिए। अमेरिकाले उक्त सैन्य कारबाहीबारे सबै विवरण सार्वजनिक गरेको छैन। तैपनि ती बी–२ विमानले आकाशमै ६ पटकसम्म इन्धन भरेको बताइएको छ।
शक्तिशाली देशका बमवर्षक मात्रै नभएर लडाकु विमान पनि युद्धका बेला आकाशमै तेल हाल्न मिल्ने गरी बनाइएका हुन्छन्। अमेरिकी राष्ट्रपति चढ्ने 'एअर–फोर्स–वान' विमानमा पनि आकाशमै इन्धन हाल्न मिल्छ।
युद्धका बेला जमिनमा रहेका हवाई अड्डामा इन्धन भर्न खतरा हुने भएकाले आकाशमै भर्ने गरिन्छ। इरान आक्रमणमा प्रयोग भएका बी–२ विमान कसैले नदेखिने गरी उडेका थिए। ती तेल हाल्न जमिनमा ओर्लिँदा सबैले देख्ने थिए। अनि इरानलाई आफ्ना आणविक भट्टीमा हमला हुन लागेको थाहा हुन्थ्यो।
आकाशमै तेल हाल्न अमेरिकी वायु सेनाले विभिन्न आकार र किसिमका विमा प्रयोग गर्छ। विमानहरू उड्दा उड्दै तेल हाल्न धेरै जटिल हुने भएकाले ती तेल बोक्ने विमानमा विशेष तालिम प्राप्त चालक दलका सदस्य हुन्छन्।
अमेरिकी सेनाले यसरी तेल भर्न दुइटा प्रक्रिया अपनाउँछ।
एउटा — तेल बोकेको विमानबाट निस्किएको पाइप तेल हाल्नुपर्ने विमानमा आएर जोडिन्छ। बी–२ बमवर्षक र एअर–फोर्स–वानमा उड्दा उड्दै तेल हाल्न यो प्रक्रिया प्रयोग हुन्छ।
अर्को — तेल हाल्नुपर्ने विमानबाट पाइप निस्किएर तेल बोकेको विमानमा जोडिन्छ। यो प्रक्रिया प्रायः अमेरिकी लडाकु विमानमा प्रयोग हुन्छ।
तेल बोक्ने विमान भने दुवै प्रक्रिया अपनाउन मिल्ने गरी बनाइएको हुन्छ। दुवै प्रक्रियाका लागि चालक दलका सदस्यले छुट्टाछुट्टै प्रशिक्षण लिएका हुन्छन्।
तैपनि चालक दलका लागि बी–२ बमवर्षकमा तेल हाल्न बढी मुस्किल मानिन्छ।
तेल हाल्दा बी–२ बमवर्षक तेल बोकेको विमानको पछाडि थोरै मिटर दुरी कायम गरेर उड्नुपर्छ। तेल भर्ने बेलामा ती विमान करिब ५०० किलोमिटर प्रतिघन्टाको गतिमा उडिरहेका हुन्छन्।
तेल बोकेको विमानको टुप्पोमा एउटा बूम (माइक) जस्तो आकार भएको पाइप निस्किन्छ। त्यसमा टेलिस्कोप जस्तो उपकरण जोडिएको हुनाले तेल बोक्ने विमानका चालक दलले पाइप जोड्ने ठाउँ पहिल्याउन मद्दत हुन्छ। त्यसरी पहिल्याएर सो पाइप अत्यन्तै सावधानीपूर्वक बी–२ को इन्धन ट्यांकीमा जोडिन्छ। त्यसपछि बी–२ मा तेल हालिन्छ। एक पटक इन्धन भर्न करिब ३० मिनेट लाग्छ।
ट्र्याक गर्न नसकियोस् भनेर चमेरा आकारमा बनेको बी–२ विमानमा विशेष खालको रङ लगाइएको हुन्छ। तेल भर्ने क्रममा अलिकति दायाँ–बायाँ भएर बी–२ विमान थोरै मात्रै कोतारियो भने पनि दुश्मनले देख्न सक्छन्। त्यसैले अत्यन्तै सावधानीपूर्वक तेल हाल्नुपर्छ।
यसरी इरान आक्रमण मिसन क्रममा हरेक बी–२ विमानमा करिब ६ पटक आकाशमै इन्धन भरिएको मानिन्छ।
तेल हाल्न मात्रै नभएर अत्यन्तै लामो समयसम्म लगातार उड्नु परेकाले पनि सो मिसन बी–२ का पाइलटहरूका लागि मुस्किल थियो।
बी–२ मा दुई जना पाइलट हुन्छन्। सन् २००१ मा न्यूयोर्कमा आतंककारी हमला भएपछि अफगानिस्तानमा बम खसालेका दुई पाइलटसँग पछिल्ला दिनमा विभिन्न मिडियाले कुरा गरेका छन्। उनीहरूले सो आक्रमणका लागि लगातार ४४ घन्टा उडेर सबभन्दा लामो समयसम्म बी–२ विमान उडाउने कीर्तिमान राखेका छन्।
उनीहरूका अनुसार विमान उड्ने, उड्दा उड्दै तेल हाल्ने, बम खसाल्ने, अवतरण गर्ने लगायत महत्त्वपूर्ण समयमा दुवै पाइलट आ–आफ्नो सिटमा बसेर 'एक्टिभ' हुनुपर्छ। बाँकी समय पालो पालो गरेर आराम लिन मिल्छ।
अफगानिस्तान मिसनका लागि उनीहरूले सिटको पछाडि साँघुरो ठाउँमा सानो खाट हालेका थिए। तेल भर्ने, बम खसाल्ने लगायत कामका लागि चनाखो रहनुपर्ने भएकाले निद्रा राम्ररी नलागे पनि उनीहरूले त्यहाँ पालैपालो आराम गर्थे।
यसपालि इरान आक्रमणमा प्रयोग भएका बी–२ विमानका पाइलटले त्यसरी नै खाट राखेका थिए, वा आजकल तिनमा सुत्न मिल्ने खाट जडान नै गरिएको हुन्छ भन्नेबारे थाहा नभएको उनीहरूले बताए।
लामो मिसनमा पाइलटले आफ्नो रूचि अनुसार केही खानेकुरा पनि बोकेका हुन्छन्। तर मिसनको तनाव र थकाइका कारण उति सारो खान मन नलाग्ने उनीहरूले बताए। मिसनभरि सतर्क रहून् भनेर चिकित्सकले आफूहरूलाई केही लागुपदार्थ पनि दिएको उनीहरूले बताएका छन्।
दुवैले खानेकुरा धेरै नखाए पनि प्रशस्त पानी र शक्तिवर्द्धक पेयपदार्थ पिएको बताएका छन्। धेरै उचाइमा उड्नुपर्ने र जहाजभित्र कृत्रिम चाप कायम गरिएकाले निर्जलीकरण (डिहाइड्रेसन) को खतरा हुन्छ। त्यसैले पनि पानी प्रशस्त पिउनुपर्छ।
लामो मिसनमा पाइलटलाई शौच गर्न पनि कठिनाइ हुन्छ। उनीहरूलाई पिसाब फेर्न ट्युब वा थैलीको व्यवस्था गरिएको हुन्छ। नछचल्कियोस् भनेर थैलीमा पिसाब गरेपछि जमेर ठोस पदार्थ बनाउने रसायनको धूलो राखिएको हुन्छ।
त्यस्तै दिसा गर्न सिटको पछाडि सानो कमोडजस्तो संरचना हुन्छ। त्यसमा धेरै फोहोर जम्मा नहोस् भनेर अत्यावश्यक समयमा मात्रै प्रयोग गरेको ती पाइलटले बताएका छन्।
उनीहरूको जस्तै इरान आक्रमणका लागि प्रयोग भएका बी–२ बमवर्षक विमानका पाइलटका लागि पनि सो मिसन अत्यन्तै कठिन भएको हुनुपर्छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)