अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजामा युद्धविरामका लागि इसराइल तयार भएको बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले इसराइल गजामा ६० दिनको युद्धविरामका लागि प्रस्तावित सर्तहरुमा सहमत भएको बताएका हुन्।
युद्धविरामका लागि कतार र इजिप्टले पनि पहल गरिरहेको ट्रम्पले बताएका छन्। ती दुई देशले नै युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिनेछन्।
ट्रम्पले युद्धविरामका लागि हमास पनि सहमत हुने आशा व्यक्त गरेका छन्।
'अब हमास पनि सहमत हुनेछ। किनकी यो राम्रो हुँदैन बरू खराब हुँदै जान्छ,' ट्रम्पले लेखेका छन्।
इसराइल र हमासबीच युद्धविरामको कैयौं पहल भए पनि टुंगिएको छैन।
इसराइलले इरानसँगको युद्धमा हुँदा गजामा अझै सशक्त आक्रमण गरेको थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
१२ दिनको अवधीमा गजामा सैयौं मानिसहरू मारिएका थिए। विश्वको ध्यान इरान-इसराइल तनावमा भएकाले गजामा इसराइलले जमिनबाट सशक्त सैन्य कारबाही चलाएको थियो।
गजामा अझै ५० जनाको हाराहारीमा बन्धकहरू हमासको कब्जामा छन्। तीमध्ये २५ जना मात्रै जिवित रहेको अनुमान छ।
बाँकी रहेको बन्धकहरूलाई जिवितै फिर्ता ल्याउन माग गर्दै इसराइलमा सरकारविरूद्ध मानिसहरू सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन्।
त्यहाँका जनताहरूले इसराइलले आक्रमणभन्दा वार्तामार्फत जिवित रहेका बन्धक फिर्ता ल्याउने अवस्था बनाउनुपर्ने बताउँदै आएका छन्।
गजामा तीव्र आक्रमण गरेर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बाँकी रहेका बन्धकहरुको जीवनमाथि खतरा सिर्जना गरेको धेरै इसराइलीहरूको बुझाइ छ भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्।
पटक-पटक युद्धविराम भएर बन्धक रिहा गरिए पनि विपिनको अवस्था भने लामो समयदेखि अज्ञात छ।
सरकारले उनलाई फिर्ता ल्याउन युद्धविरामको मध्यस्थता गरिरहेका देशहरूसँग आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ।