काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गएराति ८ बजे काठमाडौं महानगरपालिका-८ लामबगरस्थित मनमैजु पेट्रोल पम्पअगाडि सडक खण्डमा शेषमतीबाट शिवमन्दिरतर्फ जाँदै गरेको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले वृद्धलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट काठमाडौंकै तारकेश्वर नगरपालिका-८ भेटघाट चोक बस्ने ७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइेत भएका थिए।
टाउको र दुवै खुट्टामा चोट लागेका वृद्धलाई उपचारका लागि तत्कालै ग्रान्डी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा राति ११:२० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मोटरसाइकल चालक काठमाडौंको तारकेश्वर नगरपालिका-३ पाँचमानेका २१ वर्षीय नवीन घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।