पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएसँगै उनको बयान र थुनछेक बहस आजै हुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुने तय भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो।
त्यसबारेमा इजलासमा उनको बयान लिइनेछ।
बयानलगत्तै थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ।
पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो।
त्यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
पाठकलाई पक्राउ नगरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको थियो।
गत जेठ २८ गते उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।
पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।
त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो।
असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न भनेको थियो। पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा पाठकमाथि अनुसन्धान गर्नु नपर्ने उच्च अदालतले भनेको थियो।
त्यसअघि असार २ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। पत्रकार पाठकविरूद्ध कसले उजुरी दिएको हो भन्ने खुलेको छैन। अभियोग पत्रमा उजुरी दिनेको परिवर्तित नाम राखिएको छ।