गजामा युद्धविराम गर्न हमास सहमत भएको छ।
शुक्रबार हमासले इसराइलसँग ६० दिने युद्धविरामका लागि तयार भएको भनेर हमासले मध्यस्तकर्ताहरूलाई पत्राचार गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
इसराइलले यसअघि नै युद्धविरामका लागि सहमति जनाइसकेको छ।
दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण रोकिने बाटो खुलेको छ। यसका लागि अमेरिकासहित मध्यपूर्वका देशहरूले लामो समयदेखि प्रयत्न गर्दै आएका थिए।
हमासले शुक्रबार विज्ञप्ती जारी गरेर तत्काल युद्धविरामका लागि आफ्नो समूह तयार भएको भनेको छ।
‘मध्यस्थकर्ताहरूलाई युद्धविराम सन्दर्भमा सकारात्मक प्रतिक्रिया पेस गरेका छौं। यसको ढाँचा कार्यान्वयन गर्नका लागि तत्काल वार्तामा बस्न हमास तयार छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ।
युद्धविरामका लागि हमाससँग प्रत्यक्ष छलफल गर्दै आएका प्यालेस्टिनी-अमेरिकी वार्ताकार विशारा बाहबाले हमासको कदमको प्रशंसा गर्दै लामो समयदेखिको युद्ध अन्त्यका लागि अत्यन्त नजिक पुगेको बताएका छन्।
उनका अनुसार युद्धविरामका सर्तहरूमा हमासले केही संशोधन पठाएको छ।
‘तर यसले युद्धविराम सम्झौतामा पुग्न रोक्ने छैन भन्ने विश्वास छ,’ उनले भने।
इसराइली अधिकारीहरूले पनि हमासले युद्धविरामको प्रस्तावित मस्यौदामा केही संशोधनसहित सकारात्म प्रतिक्रिया आएको बताएका छन्। उनीहरूले पनि संशोधनहरूले युद्धविराम नै बिथोल्न नसक्ने बताएका छन्।
युद्धविरामको अवधीमा हमासले १० जना बन्धक र १८ बन्धकको शव इसराइललाई हस्तान्तरण गर्ने प्रस्ताव छ।
पहिलो दिन हमासले ८ जना बन्धक रिहा गर्नेछ। त्यसको बदलामा किभले इसराइली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू छाड्नेछ। इसराइलले कति जना छाड्छ भने यकिन भइसकेको छैन।
त्यसपछि इसराइलले तोकेको मितिमा बाँकी बन्धकहरू हमासले छाड्ने प्रस्तावमा उल्लेख छ।
यसपटक हमासले बन्धक रिहा गर्दा कुनै पनि समारोह नगर्ने प्रस्तावमा उल्लेख छ।
अघिल्लोपटक ठूलो संख्यामा नकाबधारी हमास लडाकूहरूको नाराबाजी र उत्सव गरेर बन्धक रिहा गरेको थियो।
गत मार्चमा युद्धविराम हुँदै स्थायी शान्ति कायम गर्ने सहमति भए पनि ४५ दिनपछि दोस्रो चरणको युद्धविराम कार्यान्वयन नहुँदा भंग भएको थियो।
हमासले गजाबाट इसराइली सेना फिर्ता हुनुपर्ने विषयलाई प्राथमिकता दिएको छ।
नयाँ प्रस्तावमा ६० दिनको युद्धविरामबीच स्थायी शान्ति कायम गर्ने सन्दर्भमा छलफल र वार्ता हुने भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गजामा स्थायी शान्ति कायममा जोड दिएका छन्। इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सोमबार वाशिङ्टनको भ्रमण गर्ने तय भएको र त्यहाँ उनले ट्रम्पसँग यस विषयमा कुराकानी गर्ने सिएनएनले जनाएको छ।
इसराइल-इरानबीच १२ दिनसम्म चलेको युद्धबीच कतारले गजामा युद्धविरामको पहल जोडतोडले गरेको थियो।
विश्वको ध्यान इरानमा रहँदा यता इसराइली सेनाले गजामा सशक्त सैन्य कारबाही चलाएको थियो। त्यस अवधीमा मात्रै झन्डै १५०० जना प्यालेस्टिनीहरू मारिएको बताइएको छ।
युद्धविरामको सर्तहरू ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले तयार गरी इसराइललाई मनाइसकेका थिए।
अब दुई पक्षबीच छिट्टै वार्ता हुने र युद्धविरामको घोषणा हुने भनिएको छ।
२०२३ को अक्टोबर ७ मा इसराइलमा हमला गरी हमासले २४९ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो। त्यसयता पटकपटक युद्धविराम हुँदा बन्धकहरू छाडेको थियो। हमाससँग अझै ५० जना बन्धक रहेको भनिएको छ। यद्यपि झन्डै २५ जनाको मृत्यु भइसकेको भनिएको छ।
हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्।
इसराइल-हमास युद्धको २ वर्ष पु्ग्न लाग्दा गजामा झन्डै ५७ हजार मानिस मारिएका छन्।