अविरल वर्षापछि झरेको पहिरोका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत् बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ।
नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मंगलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरूद्ध बनेको हो।
निर्माणाधीन सडक खण्ड अन्तर्गत दाउन्नेबाट बर्दघाटतर्फको खुर्साने खोला नजिकै सडक किनारबाट पहिरो झरेको छ। पहिरो झरेपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारी साधन सडकमा रोकिएका छन्।
आयोजनाले बुधवार बिहानैदेखि भत्किएको सडक मर्मतको काम सुरू गरेको जनाएको छ। आयोजनाले सूचना जारी गर्दै बुधवार बिहानैदेखि सडक मर्मतको काम सुरू गरेको र दिउँसोसम्म आवागमन सञ्चालन हुने जनाएको छ।
सडक अवरूद्ध भएपछि रातिदेखि नै सडकमा गाडीहरूको लाइन लागेको प्रहरीले जनाएको छ।
वर्षाका कारण सडकको केही झरेको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ ।
यता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डमा पनि ठाउँ ठाउँमा पहिरो झरेका छन्। सिद्धबाबादेखि दोभानसम्म आधा दर्जन स्थानमा पहिरो झरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दोभानका अनुसार मंगलबार रातिदेखि परेको अविरल वर्षाले सडक माथिबाट ढुंगासहितको पहिरो झरेको थियो। बुधवार बिहानैदेखि सडकमा झरेको पहिरो पन्छाएर सवारी साधन सञ्चालन गरिएको भए पनि पहिरोको जोखिम कायमै रहेको छ।
अहिले पनि पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकोले सावधानी अपनाएर मात्र सवारी साधन सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ।