इलोन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ग्रोकले मंगलबार हिटलरको बारम्बार प्रशंसा र यहूदी विरोधी बयानबाजी गरेपछि व्यापक विरोध भएको छ।
एक्सएआई कम्पनीले बुधबार ग्रोकको नयाँ मोडेल जारी गर्ने योजना छ। त्यसको अघिल्लो दिन ग्रोकले जर्मन तानाशाह हिटलरको तारिफ गर्दै धेरै पोस्टहरू गरेको थियो।
ती आपत्तिजनक पोस्टहरूको विरोध भएपछि कम्पनीले पछि तिनलाई मेटाएको थियो।
'हामी ग्रोकद्वारा गरिएका हालैका पोस्टहरूबारे सचेत छौं र अनुपयुक्त पोस्टहरू हटाउन सक्रिय रूपमा काम गरिरहेका छौं। सामग्रीबारे जानकारी भएदेखि एक्सएआईले ग्रोकले एक्समा पोस्ट गर्नुअघि घृणित भाषा प्रतिबन्ध गर्न थालेको छ,' कम्पनीले मंगलबार भन्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा कार्यभार सम्हालेपछिको कार्यक्रममा मस्कले हिटलरका समर्थकले गर्ने ‘नाजी स्यालुट’को जस्तै देखिनेगरी अभिवादन गरेका थिए।
सो अभिवादनको व्यापक विरोध भएपछि मस्कले आफूले ‘नाजी स्यालुट’ नगरेको दाबी गरेका थिए।
अहिले उनको कम्पनीको च्याटबटले फेरि हिटलरको तारिफ गरेपछि कतिले यसलाई मस्कको सो अभिवादनसँग पनि जोडेका छन्।
केही समयअघि ग्रोकले दक्षिण अफ्रिकामा श्वेत (गोरो छाला भएका) हरूको नरसंहार (जेनोसाइड) भएको भन्दै झूटो दाबी पनि गरेको थियो।
दक्षिण अफ्रिकामा जन्मेका विश्वका सबभन्दा धनी व्यक्ति श्वेत मस्कले बारम्बार सो झूटो दाबी गरेका थिए। उनीबाट प्रभावित भएर ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसासँग मे महिनामा ह्वाइट हाउसमा भएको भेटमा समेत सो कुरा उठाएका थिए।
शताब्दियौंसम्म श्वेतहरूको दमन सहेर तीन दशकअघि मात्रै मुक्ति पाएको अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको भन्दै रामापोसालाई झपारेका थिए।
अरू कम्पनीका च्याटबटले पनि बेलाबेलामा आपत्तिजनक टिप्पणी गर्ने गर्छन्। तर आफैं आपत्तिजनक टिप्पणी गरिरहने विवादित छविका मस्कको च्याटबटले त्यस्ता गल्ती गर्दा भने त्यसलाई उनीसँग जोडेर हेरिनेगर्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)