वसन्त ऋतुको त्यस बिहान आमायांग्रीको टुप्पोमा अचानक बाक्लो कुहिरो मडारिन थाल्यो।
हेलम्बुको आमायांग्री तीर्थस्थल रहेको शिखरबाट पारिपट्टी दोर्जे लाक्पा, जुगल, छोभा भाम्रे अनि गौरीशंकर हिमालको लश्कर हेर्ने मेरो धोकोमा एक्कासि तुषारो पर्न थाल्यो।
झन्डै ३,८०० मिटर उचाइमा पुग्नै लाग्दा मेरो अघिअघि उकालो लाग्दै गरेकामध्ये, एसियाली जस्ता देखिने दुईमध्ये एक महिला बाटोमै थचक्क बसिन्। अनि अनायसै रून थालिन्, डाँको छाडेर।
उनको जस्तै अनुहारसँग मिल्दोजुल्दो चेहरा भएकी अर्की महिलाले उनको पाखुरा र गर्दन सुम्सुम्याउँदै सान्त्वना दिँदा पनि उनी शान्त हुन सकिनन्।
त्यो कारूणिक दृश्य देखेर चार–पाँच मिटर पछाडिपट्टी हिँडिरहेको म टक्क अडिन बाध्य भएँ।
उनी अघिअघि हिँडिरहेका बौद्ध भिक्षु लामाहरू पनि अडिए र मुन्टो निहुर्याउँदै उनलाई कुर्न थाले।
केहीबेरपछि निकै साहस बटुलेर माफी माग्दै म उनी नजिकै पुगेँ। ती महिला अचानक त्यति दुःखी हुनाको कारण सोधेँ।
'मेरो झोलामा मेरो श्रीमानको खरानी छ,' एकछिन रोकिएर केही सम्हालिँदै उनले भनिन्।
'माफी चाहन्छु, मलाई त्यो सुनेर साह्रै दुःख लाग्यो,' मैले भनेँ।
अनि सोधेँ, 'उहाँलाई के भएको थियो होला?'
'उहाँलाई क्यान्सर भएको थियो। उपचार सुरू गरे पनि आठ महिनापछि उहाँ बित्नुभयो। उहाँको अन्तिम इच्छा हिमालयमा आएर बौद्ध धर्मका चैत्य गुम्बाको दर्शन गर्ने थियो। त्यो पूरा हुन नसकेपछि उहाँले भन्नु भएको थियो – कृपया मेरो शवको खरानी भए पनि हिमालयमा पुर्याइदिनू।'
ठीक त्यसै गर्न दक्षिण अफ्रिकाको दक्षिणी सहर केप–टाउन निवासी गोरी एन्जेलिका आफ्नी बहिनीसँगै नेपाल आएकी रहिछन्। उनीहरूकी आमा इन्डोनेसियाली भएकाले उनीहरू थोरै एसियाली जस्ता देखिँदा रहेछन्। श्रीमानको शवको खरानी सेलाउने पवित्र बौद्ध तीर्थस्थल आमायांग्रीको टुप्पा नजिकै पुग्दा उनी निकै भावविह्वल भएकी रहिछन्।
टाकुरालाई भने बाक्लो कुहिरोले छोपी नै रह्यो। आकाश खुलेन, हिमाली चुचुरा क्षितिजमा लुकी नै रहे। आमायांग्री पुगेका रमितेहरू फोटा–भिडिओमा मस्त रहे। एन्जेलिका र उनकी बहिनी भने बौद्ध लामाहरूले मन्दिर हातामा आयोजना गरेको पूजामा सहभागी भए। एन्जेलिकाको श्रीमानको चिर शान्तिको कामनामा व्यस्त रहे।
दृश्यहरू बदलिए। टाकुराको बाटो छेकेको एउटा डेढु याक चुपचाप चरनतिर ओर्लियो।
ओरालो झर्दा कहिले मेरो अघि, कहिले पछि हिँडिरहेका एक नेपाली विद्वान जापानदेखि आएका रहेछन् आफ्नी छोरीसँग।
नेपालमै बस्ने आ फ्ना चिकित्सक साथीलाई भन्दै थिए – जापानमा सुनेको कुरा, एक जना एचआइभी संक्रमित जापानीले नेपालमा पदयात्रा गर्दा कुनै झार चपाउँदै हिँडेछन्। उता पुगेपछि उनी त भाइरसविहीन भइसकेछन्। कसरी होला है?
उनका चिकित्सक मित्रसँग कुनै जबाफ थिएन।
म एकल पदयात्री न परेँ, ओरालो झरिरहेँ, कसैसँग नबोली। मानिसहरूका मनोवस्था देखेर, सुनेर— मनमनै कहिले दुःखी हुँदै, त कहिले फिस्स हाँस्दै।
'विश्वभरका नौजवान पागल'
सन् २०१४ मा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा दिएको भाषणमा भनेका थिए, 'नेपालको हिमालय र सौन्दर्य देखेर संसारभरिका नौजवान (युवा) पागल (मोहित) हुन्छन् र यहाँ साहसिक यात्रामा रमाउन आउन चाहन्छन्।'
उनको भनाइमा सत्यता छ। किनभने म आफैले देखेको छु, हिमालयको दक्षिणी पाखोभरि फैलिएको नेपालले विश्वभरिका मानिस आकर्षित गरिरहन्छ, चुम्बकले फलाम ताने जसरी।
अन्नपूर्ण र सगरमाथा क्षेत्रमा मैले चिलीदेखि ब्रुनाई र रूसदेखि दक्षिण अफ्रिका र अर्जेन्टिनाका यात्री भेटेको छु। अन्य पश्चिमा वा छिमेकी देशका यात्रीको त कुरै नगरौं।
आमायांग्रीको आधार शिविर बनेर रहेको तार्केघ्याङका चार–पाँच होटल हिजोआज पर्यटकले भरिभराउ रहन्छन्, लगभग बाह्रै महिना।
तल फेदीको टिम्बुमा, मेलम्ची नदीदेखि केही माथि, साउदी अरबमा दस वर्ष पसिना बगाएर फर्किएका मिलन लामाले ट्राउट माछा फर्म खोलेका छन्। उनलाई माछा समातेर परिकार बनाउन वा नजिकै आइपुग्ने बसमा तिनका पोका हालेर मेलम्ची वा काठमाडौं पठाउन भ्याइनभ्याइ छ।
बजारदेखि माथि थुम्काका कथा भने फरक छन्।
आमायांग्रीदेखि दक्षिणतर्फको लेकमा फैलिएको सेर्माथाङमा कान्छा ह्योल्मो लामाको घर प्रायः रित्तै रहन्छ। उनका चार छोरी र एक छोरा बुहारीसहित प्रायः विदेशमा हुन्छन्। घरमा ७० आसपासका कान्छा र उनकी जहानलाई सघाउन छोरीजस्तै एउटी किशोरी राखिएको छ।
म्हेन्दो र कान्छा लामा आफ्नी कान्छी छोरीका साथमा। तस्बिरः कर्मा लामाको फेसबुक
'कर्मा माल्टामा छ, बुहारी पनि उतै छ। दुई छोरी पोर्चुगल छ। अरू दुई काठमाडौंमा भए पनि विदेश गइहाल्छन्,' खानेकुरा र भाँडाहरू चट्ट मिलाएर सजाइएको तिब्बती शैलीको सफा भान्साको बीचमा भेटिएकी म्हेन्दो लामाले भनिन्, 'उनीहरू उतै रमाएका छन्। बचाएको पैसा पठाउँछन्, त्यसले गर्दा खर्च चलिरहेको छ।'
नेपालका पहाडको जनसंख्या लगातार घट्दो क्रममा र तराई–मधेसको जनसंख्या बढ्दो क्रममा छ। पछिल्ला राष्ट्रिय जनगणनाका तथ्यांकले त्यही देखाउँछन्। जस अनुसार तराईमा देशको ५० प्रतिशतभन्दा बढी, पहाडमा ४० प्रतिशतभन्दा केही बढी र हिमाली क्षेत्रमा करिब ७ प्रतिशत मानिस बसोबास गर्छन्।
हेलम्बु क्षेत्र लाङटाङको दक्षिणी पाखाहरूमा फैलिएको छ। यहाँका युवा रोजगारीका लागि विदेशिने चलन पुरानै हो।
केही वर्षअघि आमायांग्री आधार शिविरमा अर्को अनौठो कथा सुनेर हामी छक्कै परेका थियौं — हिमालमा याक, चौंरी पालेर जीवन धान्दै आएका परिवारका पाँच छोरीमध्ये माइली छोरी घरेलु काम गर्न मध्य–एसियाली देश किर्गिस्तान पुगेकी रहिछन्।
पारि मेलम्ची घ्याङका युवा घरैपिच्छे भारतको हिमाली भेगमा पर्ने लद्दाख पुगेका रहेछन्।
हुन पनि करिब ४० लाख युवा रोजगारी वा उच्च शिक्षाका लागि विदेशिएको देशमा यस्ता गाउँ भेटिनु नौलो घटना भएन, त्यो पनि पहाडी र हिमाली भेगमा। तर यही देशभित्रै लगातार रित्तिँदै गइरहेका जिल्ला भेटिनु चाहिँ चानचुने परिघटना मान्न मिल्दैन!
रित्तो रामेछाप
काठमाडौंको जडिबुटीबाट बिहानै बस चढ्यो भने साँझ पुगिन्छ रामेछापको सुन्दर बाम्ती भण्डार गाउँ। तेन्जिङ र हिलारीको प्राचीन पदचाप पछ्याउँदै पारि सोलुखुम्बु जाने हिँड्ने पदयात्री यही बाटो आउजाउ गर्छन्। २,२०० मिटरको उचाइमा रहेको बाम्तीको पुरानो बजार सुनसान देखिन्छ। युवाविहीन जस्तै!
तलका केही पाखा चियाबारीले गर्दा हरिया देखिन्छन्। पारि लिखु र सोलु जाने कच्ची बाटो छ, म जस्ता पदयात्री खेतमा वा झाडीमा हराउन सक्छन्। केही महिनाअघि बिहानै मैले त्यहाँ बाटो बिराएको थिएँ। ६६ वर्षीय केशव कार्की सहयोग गर्न माथि डाँडामा कुनै देवदूत सरी झुल्किए।
उनी पाँच छोरी र दुई छोराका पिता हुन्। तर घर खेत हेर्ने जिम्मा उनकै काँधमा छ।
भन्छन्, 'छोरी बिहे गरेर गइहाले। दुई भाइ छोरा जापान छन्, बुहारी पनि उतै छन्। हामीलाई गाउँमा गरिखान मुस्किल छ।'
रामेछापका केशव कार्की । तस्बिरः सुरेन्द्र फुयाल
रामेछापका तेजबहादुर बस्नेत । तस्बिरः सुरेन्द्र फुयाल
हामी गफिँदै गर्दा एक युवा बाटैमा आइपुगे— तेजबहादुर बस्नेत। उनी तीन वर्ष मलेसिया बसेर आएका रहेछन्। आफ्नो गाउँ र पूरै जिल्ला रित्तिन थाल्नुको दोष उनले सजिलै 'देशमा व्याप्त भ्रष्टाचार' माथि थोपरे।
'भ्रष्टाचारकै कारण यहाँ फल्ने चिया र अन्य उपज बिक्री हुन सकेको छैन। युवा बिदेसिन परिरहेको छ। गाउँमा सडक आएको छ, दैनिक बस गुड्छ। काठमाडौं करिब १८० किलोमिटर टाढा छ। यहाँका युवा तिनै बसमा गइरहेका छन्। यहाँ भागाभागको स्थिति छ,' उनले भने।
रामेछाप नेपालमा तीव्र गतिमा जनसंख्या घटिरहेका पहाडी जिल्लामध्ये एक हो। पछिल्लो जनगणना अनुसार १० वर्षमा रामेछापको जनसंख्या दुई लाखभन्दा केही बढीबाट घटेर १ लाख ७० हजारमा झरेको छ। घट्ने क्रम जारी देखिन्छ।
रित्तो खोटाङ
लगातार जनसंख्या घटिरहेका अधिकांश जिल्ला पहाड वा हिमालमा छन्। पछिल्लो जनगणना अनुसार नेपालमा ७७ जिल्लामध्ये ३४ जिल्लाको जनसंख्या लगातार घटिरहेको छ। त्यसरी तीव्र बसाइँसराइ भइरहेका जिल्ला पहाडमा पर्छन्।
तीमध्ये पनि अझै डरलाग्दो किसिमले मानिस घटिरहेको जिल्ला हो पूर्वी पहाडको खोटाङ। यहाँको जनसंख्या पछिल्ला दस वर्षमा दुई लाख ६ हजारबाट एक लाख ७५ हजारमा झरेको थियो। खोटाङ पूर्वका भोजपुर र तेह्रथुम र पश्चिम उत्तरको हिमाली जिल्ला मनाङको हालत पनि उस्तै छ। त्यहाँबाट पनि मानिसहरू लगातार रूपमा अन्यत्र बसाइँसराइ गरिरहेका छन्।
यसरी लगातार जनसंख्या घटिरहे पनि खोटाङ प्राकृतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले निकै ख्यातिप्राप्त छ। पौराणिक भष्मासुर दैत्यको कथासँग गाँसिएको यहाँको हलेसी महादेवको मन्दिर विश्वभरका हिन्दुमाझ मात्र नभई बौद्धहरूमाझ पनि पुग्नैपर्ने तीर्थस्थल मानिन्छ।
हलेसी महादेव मन्दिरदेखि माथिको तुवाचुङ डाँडाबाट सिधै उत्तरमा सगरमाथाको चुचुरो देख्न सकिन्छ। पश्चिमतिरबाट बग्दै आएको दूधकोशी अलि तल सुनकोशीमा समाहित हुन्छ। तलतिर त्यति धेरै पानी भए पनि हलेसी वरपरका गराहरूमा सिँचाइका लागि पानी अभाव छ।
पानी जोहो गर्न स्थानीय सरकारसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्था हिजोआज कम्मर कसेर लागेका रहेछन्।
सम्भावना ढोका
सिन्धुपाल्चोक, टिम्बुका मिलन तामाङ। तस्बिरः सुरेन्द्र फुयाल
हेलम्बुको काखमा रहेको टिम्बुका मिलन तामाङ अहिले आफ्नो हिमाली ट्राउट माछा फर्ममा निकै धैर्य र मेहनत साथ काम गरिरहेका छन्। यो उनको दोस्रो फर्म हो।
एक जना साझेदारसँग मिलेर तीन करोड रूपैयाँ लगानीमा खोलेको उनको पहिलो फर्म मेलम्ची किनारमै थियो। त्यो फर्म त्यो २०७८ असार १ गतेको भेलबाढीसँगै बगेर ध्वस्त भयो।
'त्यसपछि डेढ करोड रूपैयाँ लगानी गरेर मेलम्ची किनारदेखि लगभग पाँच मिटर माथि यो फर्म खोलेको छु,' तारेको ट्राउट माछा र खाजाका प्लेट मेरो टेबलमा राख्दै उनले भने, 'साउदी अरबको भन्दा धेरै कमाइ भइरहेको छ। महिनामा करिब चार–पाँच लाख रूपैयाँ आम्दानी हुन थालेको छ। आफ्नै गाउँठाउँमा खुसी छु।'
रामेछापबाट सोलुखुम्बु जाने बाटोमा पर्ने सेते गाउँका छिरिङ र पेम्बा शेर्पा दाजुभाइ पनि सेते गाउँमै लज चलाउँदै खेतीपातीमा व्यस्त छन्।
आफ्नो भावी योजनाबारे छिरिङ प्रस्ट छन्, 'गाउँ छाडेर सहर वा विदेश जाने रहर छैन हामीलाई। किनभने हामीले खेतबारी, लज सबै हेर्नुपर्छ।'
दूधकोशी पारिको पूर्वी पहाडी जिल्ला खोटाङको हलेसी महादेव हिन्दु, बौद्ध तथा किरातहरूका लागि ठूलो तीर्थस्थल हो। हलेसीको मराटिका गुफाभित्र र त्यो रहेको डाँडा वरिपरिको भिडभाडका साथै भव्य होटलहरू देख्दा लाग्छ, खोटाङ कुनै समृद्ध पहाडी जिल्ला हो। यहाँका मानिसलाई जिल्ला छाडेर अन्यत्र बसाइँ सर्न जरूरी छैन।
खोटाङ हलेसी गुफा । तस्बिरः सुरेन्द्र फुयाल
हलेसी–मराटिकाको शक्ति प्रतापले होला, खोटाङको हलेसी तुवाचुङ गाउँका कैयौं युवाले हिम्मत हारिसकेका छैनन्।
हलेसी माथि तुवाचुङको डाँडो नजिकैका दुर्गा राई, रेवाधन राई जस्ता युवा आफ्नो ठाउँमै खेतीपाती गरेर जीवनस्तर माथि उकास्न लागिपरेका छन्। फलफूल र तरकारी खेतीसँगै पशुपक्षी पालनमा व्यस्त छन्। उनीहरूमध्ये केही त नजिकैका स्रोतबाट पानी जोहो गरेर माछापालन गर्न कस्सिएका छन्।
घर अगाडि फलफूल, तरकारी र पशुपक्षीको फर्म बनाएका दुर्गा राईले पछाडिपट्टिको पाखो दालचिनीका बिरूवाले भरिदिएका छन्। कृषि उपज र स्याउला किन्न व्यापारी आफै मोटर लिएर आउन थालिसके।
हलेसीदेखि पश्चिमतिरको मंगलटारमा बस्ने टंक राईले मिश्रित खेतीपातीको माध्यमबाट धेरैभन्दा धेरै लाभ लिने योजना बुनिसकेका छन्। खेतीसँगै बंगुर तथा कुखुरा पालनमा व्यस्त टंकले घरमुनिका गरामा पोखरी खनिसकेका छन्। त्यहाँ माछापालनका लागि लाखौं रूपैयाँ लगानी गरिसकेका छन्।
खोटाङ, मंगलटारका टंक राई। तस्बिरः सुरेन्द्र फुयाल
गाउँका युवा अन्य सहर वा विदेशै लागेको देखेर उनी छक्क परेका छन्।
'हाम्रा केटाहरू विदेशमा दैनिक ९–१० घन्टा घोटिन्छन्,' घरबारी अगाडिको माछा पोखरीतिर हेर्दै उनले भने, 'विदेशमा गर्ने जति मेहनत आफ्नै गाउँठाउँमा गर्यो भने कोही पनि गरिब बन्नु पर्दैन। यहाँ के के फलाउन सकिन्छ, के के फाइदा हुन्छ र कति कमाउन सकिन्छ भनेर हाम्रै खेतबारी र फर्मलाई हेरे भयो नि!'
नगर प्रमुख विमला राईका अनुसार पालिकाले पनि किसानहरूका लागि फलफूल, तरकारीका बिरूवासँगै कृषि औजार, प्रविधि सहयोग उपलब्ध गराइरहेको छ। तर धेरै नगरवासीको ध्यान कृषि कर्ममा नरहेकोमा उनी खिन्न छिन्।
तथापि हलेसी वरपर जोशिला र मेहनती युवाको कमी रहेनछ। मनसुने झरीका बेला खोटाङका खेतबारीका गरागरामा मनग्य पानी पुग्छ। सुख्खा यामका लागि टंक, दुर्गा र रेवाधन जस्ता युवाले पालिका र अन्य संस्थाको सहयोगमा नदी किनार र बगरबाट पानी माथि तान्ने उपाय अपनाउन थालिसकेका छन्।
कृषि कर्मबाट मनग्य फाइदा लिन थोपा सिँचाइ र पानी छर्किने प्रविधि खोटाङ भित्रिइसकेको रहेछ। किसानको उत्पादन तीर्थारूले खचाखच रहने हलेसीमा मात्र होइन, खोटाङ बाहिर पठाउने वातावरण तयार भइरहेको छ।
टंक राई आशावादी हुँदै भन्छन्, 'गाउँमै उन्नति र प्रगति हुन थालेको देखेर, छोडी गएकाहरू पनि फिर्लान् नि हौ!'
त्यसो होला, नहोला; यो चाहिँ निश्चित देखिन्छ — सगरमाथा र अन्नपूर्ण वरपर विचरण गर्न संसारैभरका युवा उर्लिएजस्तै, आमायांग्रीमा पूजा गर्न दक्षिण अफ्रिकादेखिका बौद्धमार्गी आएजस्तै, हलेसी–मराटिका गुफा दर्शन गर्न भारत, भुटान, चीन, सिंगापुरदेखिका दर्शनार्थी आई नै रहनेछन्। चाहे पानी परोस्, कि घाम चर्कियोस्!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal