मनसुन सुरू भएदेखि काठमाडौं उपत्यकामा राति राति पानी परिरहेको छ। दिउँसो बादल लागेर मौसम गजधम्म हुन्छ, कहिलेकाहीँ बादल फाटेर घाम चरक्क चर्किन्छ; अनि जसै रात छिप्पिँदै जान्छ, झमझम पानी दर्किन थाल्छ।
काठमाडौं उपत्यकामा बस्ने तपाईं–हामी सबैले मौसमको यो गति महसुस गरेकै छौं।
यो हामीले महसुस गरेको मात्र होइन, जल तथा मौसम विज्ञान विभागको विवरणले पनि काठमाडौं उपत्यकामा धेरैजसो पानी राति नै पर्ने गरेको प्रस्टै थाहा हुन्छ। काठमाडौं उपत्यका हुँदै बग्ने बागमती नदी र सहायक खोलाहरूमा बिहान बिहान पानीको सतह बढ्छ। दिनभरिमा कम हुँदै जान्छ, अनि रातको वर्षाले भोलिपल्ट बिहान फेरि बढ्छ।
यस्तै अवस्था काठमाडौं आसपास र देशका अधिकांश जिल्लामा छ। खासगरी पहाडी तथा मध्य–पहाडी क्षेत्रमा राति राति धेरै पानी पर्ने गरेको पाइन्छ।
बुधबार रातिकै तथ्यांक हेरौं।
सिन्धुपाल्चोकका दुई केन्द्रमा गएराति उल्लेखनीय वर्षा भयो। चन्दर्कु केन्द्रमा ६७.२ मिलिमिटर र गोब्रे केन्द्रमा ६०.२ मिलिमिटर वर्षा भएको रेकर्ड छ। यो अघिल्लो १२ घन्टाको तथ्यांक हो। चन्दर्कु केन्द्रमा राति ७.२५ देखि बिहान १ः३५ सम्म एकनास झरी (२६.०० बाट १०७.२० मिलिमिटरसम्म) परेको देखिन्छ।
मौसम विज्ञानको भाषामा २४ घन्टाभित्र ५० मिलिमिटरसम्म पानी पर्नुलाई 'मध्यम' वर्षा भनिन्छ। ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई 'भारी' र १०० देखि २०० मिलिमिटरसम्म पानी पर्नुलाई 'अधिक' वर्षा भन्ने गरिन्छ। धेरैजसो बाढी–पहिरो १०० देखि २०० मिलिमिटर पानी पर्दा आउँछन्।
यो त एक दिनको तथ्यांक भयो, मनसुन याममा विगतदेखि नै रातको समय भीषण वर्षा हुँदै आएको छ। प्राय: घनघोर वर्षा हुने र त्यसले बाढी–पहिरो ल्याउने प्रक्रिया रातमा हुँदा ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ।
यसरी राति राति मात्र धेरै पानी पर्नुको कारण के हो भनेर हामीले त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप–प्राध्यापक विनोद पोखरेललाई सोध्यौं।
उनका अनुसार सन् २०२२ मा यसबारे विस्तृत अध्ययन भएको थियो। उक्त अध्ययनले असार–साउनमा राति पानी पर्ने बढी सम्भावना देखाएको छ। असार–साउनमा २४ घन्टाभित्र परेको पानीलाई समयअनुसार वर्गीकरण गर्ने हो भने अपराह्नपछि र खासगरी रातको समय धेरै पानी परेको देखिन्छ।
'साँझ ६ बजेदेखि राति १० बजेसम्म २ देखि ३ प्रतिशतसम्म बढी पानी पर्ने अध्ययनले देखाएको छ,' उनले भने।

त्यति बेला देशभरका ६३ वटा केन्द्रमा गरिएको अध्ययनले वर्षाका दुई फरक अवधि उजागर गरेको छ। र, यी सबैजसो क्षेत्रमा रातको समय बढी वर्षा हुने गरेको देखाएको छ।
मौसमविद् पोखरेलका अनुसार मनसुन याममा दिउँसो प्राय: चरक्क घाम चर्किन्छ। घाम लागेका बेला जमिन र हावा तात्छ। त्यसले जमिनमा रहेको पानी सोस्छ। त्यसपछि पानीका कण मिसिएको त्यो हावा माथितिर उक्लिन थाल्छ। यसरी बादल बन्ने प्रक्रिया सुरू हुन्छ। र, यही प्रक्रियाले अपराह्नपछि पानी पर्ने सम्भावना बढाउने उनी बताउँछन्।
'रातको समय वायुमण्डल चिसो हुन्छ। बादलहरू संकुचित हुन थाल्छन् र पानीका थोपामा परिणत हुन सुरू गर्छन्,' उनले भने, 'यसले रातको समय मुसलधारे वर्षा गराउँछ।'
उनका अनुसार नेपालजस्तो भौगोलिक बनोट भएका देशमा यस्तै प्रकारका मौसमी घटना हुन्छन्। हिमाली र पहाडी भूबनोटले हावालाई तीव्र रूपमा माथि धकेल्छ। मौसम विज्ञानको भाषामा यसलाई ‘ओरोग्राफिक लिफ्ट’ भनिन्छ। यस्तो प्रक्रियाले तीव्र रूपमा बादल बन्ने र रातको चिसोले वर्षा हुने सम्भावना बढाउँछ।
बंगालको खाडी नजिकका क्षेत्र, पश्चिम बंगाल, केरला, मुम्बई र गंगा मैदानमा पनि यही प्रक्रियाका कारण रातको समय मनसुनी वर्षा हुने अध्ययनले देखिएको छ।
त्यस्तै, बंगलादेशको ढाका, श्रीलंकाको कोलम्बो, थाइल्यान्डको बैंकक र अन्य तटीय क्षेत्रमा पनि रातको समय बढी वर्षा हुने गरेको पाइन्छ। दक्षिणपूर्वी एसियाका इन्डोनेसिया, मलेसिया, मध्य र दक्षिण अमेरिकाका ब्राजिल, कोलम्बिया, पेरू, अफ्रिकाका नाइजेरिया, घाना, कंगो लगायत देशका केही भूभागमा राति सघन वर्षा हुने विज्ञहरू बताउँछन्।
नेपालको हकमा अन्नपूर्ण हिमशृंखलाको वायु प्रवाह हुने क्षेत्र, पूर्वी तराई र उच्च उचाइका क्षेत्रमा सबभन्दा धेरै वर्षा भएको देखिएको छ। मध्य र निम्न उचाइका ३२ वटा केन्द्रमा प्रतिघन्टा ४० मिलिमिटरभन्दा माथिसम्म वर्षा भएको पनि अध्ययनले देखाएको छ।
नेपालमा यस वर्ष सरदरभन्दा १५ दिनअगावै मनसुन प्रवेश गरेको थियो। पूरै देशभर फैलन २३ दिन लागेको थियो। अहिलेसम्म सरदरको २५.६ प्रतिशत वर्षा भएको छ। नेपालमा जेठ मसान्तदेखि असोज दोसो या तेस्रो सातासम्म मनसुन सक्रिय रहन्छ। कहिलेकाहीँ कात्तिक पहिलो सातासम्म पनि रहन्छ। यो अवधिमा बंगालको खाडी हुँदै आउने पानीको कणयुक्त हावाले घनघोर वर्षा गराउँछ।
रातको समय बढी वर्षा हुने मौसमी प्रक्रियाका कारण हामीले धेरै मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको छ।
यसलाई सजिलोसँग बुझ्न विगतका केही घटना हेरौं —
२०७१ साउन १७ गते सिन्धुपाल्चोकको राम्चे र माङ्खा गाउँ विकास समितिको सीमानामा पर्ने इटनी गाउँ नै बग्यो। करिब २५ वटा घर रहेको इटनी गाउँ पहिरोसँगै बगेर (जसलाई जुरे पहिरो पनि भनिन्छ) सुनकोशीमा मिसिँदा १५६ जनाको मृत्यु भएको थियो। तीमध्ये १२० जनाभन्दा बढीको शवसमेत भेटिएको थिएन। झन्डै १२ घन्टा सुनकोशी नदी नै थुनिएको थियो।
त्यति बेला पहिरो जानुअघि रातिदेखि नै सुनकोशी र आसपासका जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको थियो। पहिरो जाँदा पनि त्यो भेगमा पानी परिरहेकै थियो।
सिन्धुपाल्चोककै अर्को त्रासदीपूर्ण घटना छ।
२०७७ भदौ २८ गते बाह्रबिसे–५ गाती गाउँका बासिन्दा अचानक झस्किए। रातभरि दर्के झरी परेसँगै भोटेकोशी खोला गडगडाएको त उनीहरूले सुनेका थिए। तर मध्यरात गाँवै थर्काउने आवाज आयो। २०७२ को भुइँचालो बिर्सिनसकेका उनीहरू मुसलधारे झरीमै बाहिर निस्किए।
भुइँचालो गएको थिएन। जमिन चलायमान भएको आवाज मत्थर भएको पनि थिएन। के भएको हो भनेर यकिन गर्न गाह्रो भएपछि उनीहरू सुत्न गए।
भोलिपल्ट थाहा भयो, बाह्रबिस–७ को नागपुजे र भीरखर्कमा भीषण पहिरो गएर बस्ती नै लछारेछ। फड्के खेततिर रहेका घरहरूको नामनिसान थिएन। भीरखर्कबाट सुरू भएको पहिरो झन्डै तीन सय मिटर तल भोटेकोशीमा मिसिएको थियो। वारिपारि रूवावासी मच्चिएको थियो। पहिरोमा परी ३१ जनाको मृत्यु भयो, २० जनाको शवधरि भेटिएन।
सिन्धुपाल्चोकको लिदीमा पनि उज्यालो नहुँदै पहिरो खसेको थियो। जुगल गाउँपालिका–२ मा पर्ने उक्त विकट भेगमा झिसमिसेमै खसेको पहिराले ३३ जनाको ज्यान लियो। रातभरि मुसलधारे पानी परेपछि खसेको पहिरोले त्यहाँ पनि गाउँ चोइट्याएको थियो।
यी पुराना दृष्टान्त हुन्। गत सालकै विपत्तिका घटना केलाउने हो भने पनि राति पानी परेर अकल्पनीय क्षति भएका थुप्रै उदाहरण छन्।
गत असार २८ गतेको सिमलताल त्रासदी होस् या असोज १२ गते झ्याप्ले खोल्सामा पहिरो खसेर तीनवटा बस पुरिएको घटना, यी सबै राति निम्तिएका विपत्ति हुन्।
गत वर्ष असोजमा काभ्रेको रोशी–कोलाँती, भूमेडाँडा र पनौती आसपास मात्रै दिउँसोपख भेलबाढी आएको थियो। काठमाडौं उपत्यका आसपास पनि बिहानकै समयमा बागमती, विष्णुमती लगायत अन्य खोलाहरूको तटीय क्षेत्र डुबानमा परेका थिए।
***