रकम हिनामिना गरेर फरार रहेका सहकारीका व्यवस्थापकले सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको आरोप लागेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ सिर्जनाचोकस्थित श्री डिंगरनगर दूरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुली र उनकी श्रीमती बिना पराजुलीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका छन्।
पछिल्लो साता तिलोत्तमा नगरपालिका–३ सिर्जनाचोकमा रहेको उक्त सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर क्षेत्री र व्यवस्थापक वसन्त पराजुली फरार छन्।
सहकारीका व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन्।
सहकारीको रकम हिनामिना गरेपछि आफ्नो जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले बिहीबार सहकारी कार्यालयमा घेराउ गरेका थिए।
सहकारीका मुख्य हर्ताकर्ताहरू नै कार्यालयमा शंकास्पद गतिविधि गरेर भागेपछि बचतकर्ताहरूको आग्रहमा पछिल्लो केही दिनदेखि लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अध्ययन गरिरहेको छ।
सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको सूचना पाएका बचतकर्ताहरूले पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखिएको वडा प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी निरीक्षक विष्णु पाठकले बताए।
'सहकारीका बचतकर्ताहरूले व्यवस्थापक पराजुलीका श्रीमान–श्रीमतीको मिलेमतोमा सहकारीको रकम ठगी गरेर कागजी सम्बन्ध विच्छेदको योजना बनाएको भन्दै घेराउ गरेपछि हामीले उहाँकै सुरक्षाका लागि निगरानीमा राखेका हौं,' पाठकले भने।
तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीका व्यवस्थापक पराजुलीले आफूले सम्बन्ध विच्छेद गर्न लागेको भनेर गलत हल्ला फैलाइएको भन्दै फोन गरेर गुनासो गरेको बताए।
'वसन्तले बिहीबार बिहान मलाई फोन गरेर मैले सम्बन्ध विच्छेद गर्न लागेको गलत हल्ला फैलाइएको छ, त्यो सत्य होइन, मैले सहकारीको हिसाब मिलाउँछु भनेका थिए,' पौडेलले भने।
बिनाले भने बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदका लागि दर्ता गरेको निवेदनको रेकर्ड (रेकर्ड नम्बर ६७–०८१–०८२०३) मा सम्बन्ध विच्छेद (सरल मार्ग) उल्लेख छ।
बचतकर्ताहरूले भने वसन्तले सहकारीको रकम हिनामिना गरी लगेको रकम श्रीमती र उनका आफन्तहरूको नाममा समेत जम्मा गरेको र हिनामिना गरेको रकम पचाउने दाउमा कागजी सम्बन्ध विच्छेद गर्न लागेको आरोप लगाएका छन्।
बचतकर्ताहरूले बिनालाई समेत नियन्त्रणमा लिएर पराजुली दम्पतीले गर्न लागेको कागजी सम्बन्ध विच्छेदको निवेदन फिर्ता गर्ने सहमतिमा प्रहरीको जिम्मा लगाएका थिए।
'बचतकर्ताहरूले उनीहरूको सम्बन्ध विच्छेद शंकास्पद हो भनेपछि बिनाले पनि वसन्तले सहकारीको रकम फिर्ता नगरेसम्म सम्बन्ध विच्छेद नगर्ने सहमति जनाउनुभएको छ। वसन्तलाई भने सम्पर्क गर्न सकिएको छैन,' प्रहरी निरीक्षक पाठकले भने।
उक्त सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर क्षेत्री र व्यवस्थापक वसन्त पराजुली मिलेर बचतकर्ताहरूको करिब २५ करोड रूपैयाँ रकम अपचलन गरेको आशंका बचतकर्ताहरूको छ।
२०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन्।
कुल ३८ करोड रूपैयाँ पुँजी रहेको सहकारी संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन्। उपाध्यक्ष र कोषाध्यक्षले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन्।
केही दिनअघि मात्रै सहकारीका सदस्यहरूबीच सहकारी संकटमा परेको गाइँगुइँ चलेपछि स्थानीयको पहलमा स्रोत व्यवस्थापन गरी मिलाउने प्रयत्न भएको थियो। तर सञ्चालकहरूले नै बेवास्ता गरेको स्थानीयको भनाइ छ।
सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन। तर अन्य पदाधिकारीको भनाइ अनुसार २२ देखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ।