इरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शर्त मान्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दबाब दिन थालेका छन्।
ट्रम्पका शर्तअनुसार हुने सम्झौतालाई आफूले समर्थन गर्ने भनेर पुटिनले अमेरिका र इरान दुवैलाई भनेको स्रोतहरूको हवाला दिँदै अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। इरानले युरेनियम प्रशोधन गर्न नसक्ने गरी सम्झौता हुनु पर्ने ट्रम्पले बताइरहेका छन्।
रूसले वर्षौंदेखि आणविक मामिलामा इरानलाई कूटनीतिक समर्थन गर्दै आइरहेको छ। तर इसराइल र इरानबीचको १२ दिने युद्ध तथा इरानका आणविक भट्टीमा अमेरिकी प्रहारपछि पुटिनले आफ्नो कुरा फेरेका छन्।
युक्रेनसँग लड्न इरानले रूसलाई ठूलो परिमाणमा आफूले बनाएको शाहिद ड्रोन दिएको थियो। अहिले ती ड्रोन रूसभित्रै उत्पादन हुन थालेका छन्। इरानले रूसलाई सस्तो गोलाबारूद पनि दिएको थियो। तर इसराइल र अमेरिकाको प्रहारले कमजोर भएको बेला इरानलाई ट्रम्पको शर्त मान्न पुटिनले अहिले दबाब दिएका छन्।
ट्रम्पले भनेजस्तै 'शून्य प्रशोधन' मा सहमत हुन रूसले इरानलाई भनिरहेको भनेर तीन युरोपेली र एक इसराइली अधिकारीको हवाला दिँदै एक्सियसले लेखेको छ। रूसले आफ्नो यस्तो धारणाबारे इसराइली सरकारलाई पनि जानकारी गराएको छ। गत हप्ता ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन सँगको फोन वार्तामा पनि पुटिनले सोही अडान व्यक्त गरेका थिए।
'पुटिनले शून्य प्रशोधनलाई समर्थन गर्नेछन्। उनले इरानीहरूलाई अमेरिकीहरू सँगको वार्तालाई अझ अनुकूल बनाउन त्यस दिशामा काम गर्न भने,' एक युरोपेली अधिकारीले एक्सियसलाई भनेका छन्। इरानले भने ट्रम्पको ‘शून्य प्रशोधन’ सर्त मान्न नसकिने भनेको छ।
इसराइलले इरानको आणविक हतियार कार्यक्रम रोक्न जुन १३ मा युद्ध छेडेको थियो। इरानको फोर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि युद्धमा होमिएको थियो।
अमेरिका युद्धमा सहभागी भए कडा जवाफ फर्काउने चेतावनी इरानले दिएको थियो। त्यसका बाबजुद राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जुन २२ मा प्रहार गरे। अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका ६ वटा बी–२ बमवर्षक विमानले दुई–दुई गरेर फोर्दोमा १२ वटा जिबियू–५७ बंकरभेदी बम प्रहार गरे। अर्को एउटा बी–२ ले नतान्जमा दुइटा जिबियू–५७ खसाल्यो।
आफ्नो सीमा नजोडिएकाले इरानले इसराइललाई घेराबन्दी गर्न छिमेकी मुलुकहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। यसका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले विदेशी समूहहरू परिचालन गर्छ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो। इरानले एक्सिस अफ रेसिस्टेन्स र त्यसकै आडमा आणविक हतियार कार्यक्रम पनि चलाउँथ्यो। आणविक हतियार बनाए आफूलाई कसैले आक्रमण नगर्ने ठानेर इरानले आणविक कार्यक्रम चलाएको हो। इरानले आणविक हतियार बनाउन खोजे पनि एक्सिस अफ रेसिस्टेन्सबाट खतरा भएकाले इसराइलले इरानमाथि खुल्लमखुल्ला प्रहार गर्न सक्दैनथ्यो।
२०२३ अक्टोबर ७ मा हमासले हमला गरेपछि भने इसराइलले एक–एक गरेर एक्सिस अफ रेसिस्टेन्समा रहेका समूहलाई कमजोर पार्यो। अन्ततः इरानमाथि नै धावा बोल्यो।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभई शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। तर इसराइल र अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार नै बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका हुन्।
अमेरिकाले फोर्दोसहित तीन आणविक भट्टीमा प्रहार गरेपछि इरानको आणविक हतियार कार्यक्रम पछाडि धकेलिएको छ। आक्रमणले इरानी आणविक भट्टीहरूमा कति क्षति भयो भन्ने अझै यकिन छैन। त्यस्तै, आक्रमण हुनुअघि नै इरानले उच्च प्रशोधित युरेनियम लुकाएको हुन सक्ने समाचारहरू पनि आएका छन्। तैपनि इरानले आणविक हतियार बनाउने सम्भावना अहिलेलाई टरेको देखिन्छ।
इरानले फेरि आणविक हतियार बनाउन नसकोस् भनेर ट्रम्पले अहिले इरानलाई वार्तामा बस्न दबाब दिइरहेका छन्। अहिले इरान कमजोर भएको बेलामा इरानको आणविक कार्यक्रम पूर्णरूपमा बन्द गर्ने गरी उनले ‘शून्य प्रशोधन’ को सर्त राखेका छन्। यस्तो सर्त मान्न पुटिनले पनि इरानमाथि दबाब दिइरहेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)