गत महिना भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाज दुर्घटनाको अनुसन्धानमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएको देखिएपछि विश्वका वायुसेवा कम्पनीले आफ्ना बोइङ जहाजको इन्धन स्विच जाँच गरेका छन्।
१२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
एयर इन्डियाको त्यो बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये २४१ जना र आवासीय क्षेत्रका सर्वसाधारण समेत गरी २७० भन्दा बढीको मृत्यु भएको थियो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शुक्रबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले जेटका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द गरिएको जनाएको छ।
साथै ककपिट भ्वाइस रेकर्डरका अनुसार एक जना पाइलटले अर्कालाई ‘तपाईंले इन्धन स्विच किन बन्द गर्नुभएको?’ भनेर सोधेको सो प्रतिवेदनले खुलाएको थियो।
तत्कालै अर्का पाइलटले ‘मैले होइन’ भनेर जबाफ दिएका थिए। तर प्रश्न कुन पाइलटले सोधेको र जबाफ कसले दियो भन्ने चाहिँ प्रतिवेदनले खुलाएन।
इन्धन स्विच बन्द भएपछि भुइँ छोडेको केही समयपछि नै 'थ्रस्ट' गुमेर उड्न नसकेर सो बोइङ विमान दुर्घटना भएको मानिन्छ। पाइलटहरूले जेटका इन्जिनहरू सुरू गर्न, बन्द गर्न वा निश्चित आपतकालीन अवस्थामा रिसेट गर्न यी स्विचहरूको प्रयोग गर्छन्।
सामान्यतया उडानका बेला यी स्विचहरू अन हुनुपर्छ। ती कसरी वा किन बन्द गरिए भन्ने स्पष्ट भएको छैन। यो कार्य भूलवश वा जानाजानी थियो वा फेरि अन गर्ने प्रयास भएको थियो भन्ने पनि अहिलेसम्म खुलेको छैन।
विमान नजिकैको मेडिकल कलेजका विद्यार्थीहरूको छात्रावासमा खस्नुअघिका क्षणमा जेटको आपतकालीन-शक्तिको जोहो गर्ने र्याम एयर टर्बाइन (र्याट) सक्रिय रहेको देखिन्छ। ती स्विचहरू अफ भएका कारण र्याटको प्रयोग गरेर आपतकालीन-शक्तिको जोहो गर्न खोजिएको हुनसक्छ।
सो प्रतिवेदनले अमेरिकी संघीय उड्डयन प्रशासनले (एफएए) सन् २०१८ मा ७८७ लगायत बोइङका विभिन्न मोडेलका विमान चलाउने वायुसेवाहरूलाई इन्धन स्विचको जाँच गर्ने सुझाव दिएको भनेर औंल्याएको छ।
जाँच गर्न बाध्यात्मक नभए पनि ती स्वीच भूलवश नचलून् भनेर सुनिश्चित गर्न एफएएले सुझाव दिएको थियो।
सो प्रतिवेदन आएपछि बोइङ कम्पनी र एफएएले बोइङ विमानका इन्धन स्विच सुरक्षित भएको दाबी गरेका छन्।
तर पनि विश्वका विभिन्न वायुसेवा कम्पनीहरूले आफूसँग रहेका बोइङ जहाजको इन्धन स्विच जाँच गरेका छन्। भारत र दक्षिण कोरियाले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ जहाजको इन्धन स्विच जाँच गर्न निर्देशन नै दिएका छन्।
त्यस्तै जापान,अस्ट्रेलिया र सिंगापुरका केही वायुसेवा कम्पनीहरूले पनि बोइङ जहाजको इन्धन स्विच जाँच गरेको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)