भारतबाट १५ तोला सुनका गरगहना र झन्डै आठ लाख नेपाली रूपैयाँ चोरी गरी आएका ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरिएको थियो।
पक्राउ पर्नेहरू सबै कालिकोटका हुन्।
कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, ४२ वर्षीय तेज बहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की २८ वर्षीय सरिता शाही पक्राउ परेका हुन्।
उनीहरूमध्ये प्रेम र अनिता श्रीमान र श्रीमती हुन् भने पंकज उनीहरूका छोरा हुन्।
दिल्लीमा काम गर्न भन्दै गएका उनीहरूले आफूहरूले काम गर्ने घरबाट १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रूपैयाँ चोरी गरेर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले लामो समयदेखिको योजना अनुरूप चोरी गरेर भागेर नेपाल आएको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।
सरिता र अनिता विगत डेढ वर्षदेखि दिल्लीको एक घरमा काम गर्दै आएका थिए। घरभित्रको सम्पूर्ण काम गर्दै आएका उनीहरूले घरधनीको विश्वास जितिसकेका थिए। घरधनी कतै जाँदा घरको रेखदेखको सबै जिम्मेवारी उनीहरूकै हुन्थ्यो।
केही दिन पहिले घरधनी महिला बिरामी परेर अस्पताल भर्ना भएकी थिइन्। सरिता र अनिताले अस्पतालमा उनको रेखदेख र घरको काम गर्थे।
त्यही मौकामा उनीहरूले घरमा चोरी गर्ने सल्लाह प्रेम, पंकज, मन बहादुर र तेज बहादुरसँग गरे। उनीहरू चारै जना कालिकोटबाट दिल्ली गए।
सरिता र अनितालाई घरधनीले सुन र नगद कहाँ राख्छन् भन्ने जानकारी थियो। उनीहरूले चार पुरूषलाई जानकारी दिए। अनि उनीहरू अस्पतालमा घरधनीको रेखदेखमा रहेकै बेला चार जनाले घरमा सुनका गरगहना र नगद चोरी गरे।
चोरीपछि उनीहरू घरबाट भागे र सरिता र अनितालाई पनि अस्पतालबाट भाग्न भने। त्यसपछि उनीहरू सुन र नगद लिएर दिल्लीबाट धनगढीको गौरिफन्टा नाका हुँदै कोहलपुर आए।
चोरेर ल्याएको भारतीय रूपैयाँ गौरिफन्टा नाकामा नेपाली रूपैयाँमा साटे। सुन र नगद बोकेर उनीहरू आइतबार राती कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित एक होटलमा बसे।
उनीहरूको चालचलन शंकास्पद लागेपछि होटलका मान्छेले प्रहरीलाई खबर गरे। प्रहरीले उनीहरूलाई होटलको कोठाबाटै सोमबार दिउँसो २ बजेतिर पक्राउ गर्यो। उनीहरूबाट लाल पत्थर सहित १५ तोला सुनका गरगहना र नगद ७ लाख ८७ हजार नेपाली रूपैयाँ बरामद गर्यो।
उनीहरूमाथि मंगलबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन्।
उनीहरूले भारतमा आफूहरूले काम गर्ने घरबाट गरगहना र नगद रकम चोरी गरेर आएको स्वीकार पनि गरेका छन्।