लागुऔषध र जाली नोटको कारोबारमा संलग्न एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार नक्कली पैसा लिएर दिलमाया सिंह ठकुरी किनमेल गर्न गएपछि यो गिरोहलाई पक्रिन प्रहरी सफल भएको थियो।
कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया वीरेन्द्रनगर– १० शान्तिटोलमा सन्तानसहित डेरा गरी बस्थिन्।
सोमबार दिलमायाका दाजु रामबहादुर उनीकहाँ आए। पेसाले मेडिकल व्यवसायी राम प्रदेशस्तरीय मेडिकल व्यवसायीको सेमिनारमा सहभागी हुन आएका थिए। ३३ वर्षीय राम जाजरकोटमै मेडिकल पसल चलाउँछन्।
असार ३० गते रामले एक हजार दरका ६ वटा नोट दिएर दिलमायालाई किनमेलका लागि पठाए। आफ्नो इच्छा अनुसारका सामान किनेर ल्याउनू भने। दाजुले दिएको पैसामा दिलमायाले कुनै शंका गरिनन्।
दिलमायाले किनमेल गरेर पैसा दिइन्। पसलेलाई नोटमा केही भिन्नता महसुस भयो। तत्कालै उनले नक्कली नोट आएको भन्दै १०० मा प्रहरीलाई फोन गरी जानकारी दिए।
एसपी सुधिरराज शाहीले मातहतलाई पठाए। नक्कली नोटसहित दिलमायालाई प्रहरीले नियन्त्रणमा लियो।
सोधपुछमा दिलमायाले त्यो पैसा आफ्ना दाजुले दिएको बताइन्। प्रहरी दिलमायाको डेरामा बेलुकी ६ बजेतिर पुग्यो। त्यो बेला उनका दाजु राम आफ्ना केही सामान त्यहाँ सेमिनारमा गएका थिए।
प्रहरीले खानतलास गर्दा एक हजारका १,२३६ वटा नोट (१२ लाख छत्तीस हजार रूपैयाँ) फेला पार्यो। अनि सेमिनार सकिनेबित्तिकै रामलाई पक्राउ गर्यो।
राममाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले लागुऔषध कारोबारीबारे पनि सुराकी पायो।
उनको बयानका आधारमा जिल्ला प्रवक्ता डिएसपी मोहनजंग बुढथापाको नेतृत्वमा प्रहरी टोली खटियो।
टोलीले जाजरकोट कुशे गाउँपालिका–७, समकोट गमौडी घर भई सुर्खेतको भेरीगंगा नगरपालिका–१२, ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वलीलाई नियन्त्रणमा लियो।
कृष्णले अर्का व्यक्तिबारे जानकारी दिए। रातभर घुम्दा प्रहरी सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर बिकको कोठासम्म पुग्यो। सबै खानतलासी गर्दा प्रहरीले झोलाभित्र राखिएको अफिमजस्तो देखिने गिलो पदार्थ ११ पोका (११ किलो ३७२ मिलिग्राम) बरामद भयो।
त्यस्तै कृष्णको बयानका आधारमा जाली नोट कसुरको अनुसन्धानका निम्ति डिएसपी बुढथापाको टोली मध्यराति बाँके प्रहरीसँग समन्वय गरी सुर्खेतबाट हिँड्यो।
कृष्णलाई पनि सँगै लिएर गएको प्रहरी टोलीले मंगलबार बिहानै नेपालगञ्ज पुगेर सोधखोज गर्यो। जाली नोट बनाउने (छाप्ने) व्यक्तिको पहिचान भइसके पनि उनी कहाँ बस्छन् भन्ने पत्ता लगाउन सकस भयो।
डिएसपी बुढथापा नेतृत्वको टोली र कोहलपुरको प्रहरी टोलीले आफ्नै तरिकाले अनुसन्धान गर्यो।
अन्ततः प्रहरीले मनबहादुर सहकारीलाई फेला पार्यो। कालीकोट नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी ३४ वर्षीय मन विगत झन्डै एक वर्षयता कोहलपुर–११, न्यूरोडमा 'जनगर्जन नेटवर्क प्रालि' नामक मिडिया सञ्चालन गरी बसेका थिए। मन सो मिडियाका सञ्चालक समिति अध्यक्ष र सम्पादक समेत थिए।
प्रहरीहरू मनको डेरा पुग्दा उनले पत्रकारलाई पक्राउ गर्न खोजेको भन्दै आफूलाई नचलाउन चेतावनी दिए।
डिएसपी बुढथापाले यसबारे एसपी सुधिरराज शाहीलाई अवगत गराए। एसपी शाहीले शान्त भई कोठा खानतलासी गर्नू भने। डिएसपी बुढथापाले पनि मनलाई 'रितपूर्वक कोठा खानतलासी गर्ने र केही फेला नपरे माफी माग्ने' भने।
मनले कोठामा पस्न नदिने अडान लिए पनि डिएसपी बुढथापाले 'माथिको आदेश छ' भन्दै खानतलासी सुरू गरे।
सो क्रममा १५ पोकामा १९ केजी ३०० ग्राम लागुऔषध अफिमजस्तो देखिने गिलो पदार्थ फेला पर्यो।
मनले लागुऔषध कारोबार गर्ने गरेको तत्कालै र सहजै स्वीकार गरे।
प्रहरीले यतिमा चित्त बुझाएन। मनलाई साथ लिएर उनले सञ्चालन गर्दै आएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय पुग्यो। त्यहाँबाट एक हजार रूपैयाँ दरका ५१ वटा नक्कली नोट बरामद गर्यो।
'ती नोट आफैले छाप्ने गरेको पनि मनबहादुरले तत्कालै स्वीकार गरे,' डिएसपी बुढथापाले भने।
नोट डिजाइन पनि मनले आफै गर्थे।
सो कार्यालयबाट कम्प्युटर, प्रिन्टर, कार्ड रिडर, चिप्स, मेमोरी कार्ड लगायत विभिन्न उपकरण प्रहरीले बरामद गरेको छ।
'एक वर्षदेखि कोहलपुरमा मिडिया हाउस सञ्चालन गर्ने नाममा मनबहादुरले नक्कली नोट छाप्ने तथा लागुऔषधको अवैध धन्दा गरी आएको आफैले बयान गरिसकेका छन्,' सुर्खेतका प्रहरी प्रमुख एसपी शाहीले भने।
यो कारबाही क्रममा १३ सय वटा हजार दरका नक्कली नोट र ३० केजी ६७२ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ।