ओखलढुंगामा एक किशोरीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक शिक्षकविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन्।
किशोरीका गाउँकै स्थानीय ती शिक्षक मोलुङ गाउँपालिकाको एक स्कुलमा पढाउँछन्। किशोरीले उनीविरूद्ध २०८१ पुस १४ गते अदालतमा मुद्दा दर्ता गराएकी हुन्।
४५ वर्षीय शिक्षकका गल्ती नजरअन्दाज गरिदिन आफन्त, छरछिमेकले दबाब दिए पनि आफू नमानी लडिरहेको ती किशोरीले बताइन्।
'शिक्षक हो, छाडिदेऊ भन्नेहरू धेरै छन्। तर शिक्षक भनेर आफूमाथि भएको यौन दुर्व्यवहार सहेर बस्न सकिनँ,' किशोरीले सेतोपाटीसँग भनिन्, '६ महिनादेखि कानुनी लडाइँमा छु। कसैको साथ र सहयोग पाएकी छैन। समुदायले नै एक्लो बनाएको छ।'
आफूलाई मात्र होइन, परिवारलाई नै समाजले फरक नजरले हेर्न थालेको उनले बताइन्।
किशोरीका अनुसार उनीमाथि २०८१ पुस १२ गते घटना भएको हो।
उनी कक्षा ११ मा पढ्थिन्। कलेज बिदा थियो। उनका आमाबुबा छोरीको बिदाको मौका पारेर दुई दिनअघि काठमाडौं गएका थिए।
किशोरी तीन भाइबहिनी हेरेर घरमै बसेकी थिइन्। कलेज बिदा भए पनि बिहान उठ्ने बानी भएकाले र घरधन्दा भ्याउन उनी चाँडै उठ्थिन्।
घटना भएको दिन पनि बिहानै उठेर घरको काम सक्काइन्। खाना बनाएर भाइबहिनीलाई खुवाइन्। अनि दिउँसो १२ बजेतिर माइली बहिनीलाई साथ लिएर गोठ गइन्।
गोठ घरबाट १५/२० मिनेटको दुरीमा छ।
'बहिनी महिनावारी भएकी थिई। गोठमा पुगेपछि माथिल्लो तलामा गएर सुती। म काम गर्न थालेँ,' किशोरीले भनिन्।
उनी कुखुराको खोर सफा गर्दै थिइन्, सक्नै लागेकी थिइन्। अपराह्न तीन बज्नै लागेको थियो। ती शिक्षक टुप्लुक्क आइपुगे।
गाउँकै स्कुलमा पढाउने भएकाले उनलाई सबैजसोले 'सर' भनेर सम्बोधन गर्थे। किशोरीले पनि त्यही भन्थिन्।
सरले कुखुरा लिन आएको भने। उनले अहिले बेच्ने कुखुरा नभएको बताइन्।
'दुई/ तीनवटा कुखुरा भएपनि बुबाले कसैलाई नदिनू भनेर जानुभएको थियो। मैले त्यही भनेँ,' किशोरीले भनिन्, 'सरले कुखुरा नभए तिमी एक्लै रहिछौ, अरू देऊ न, आजसम्म तिमीले गरेकी छैनौ होला, मज्जा आउँछ भन्नुभयो। म अचम्म परेँ।'
उनले आफूसँग यस्ता कुरा नगर्न भनिन्। तर सरले उल्टो दुर्व्यवहार गरेको उनी बताउँछिन्।
'एकपल्ट देऊ न भन्दै नजिक आएर शरीर छुन, गाला सुम्सुम्याउन, स्तन छुन खोज्न भयो। त्यस्ता शब्दहरू बोल्दाबोल्दै एक्कासि स्तनमा हात लगाउन खोजेपछि म चिच्चाएँ। माथिल्लो तलामा सुतेकी बहिनी उठेर आई। सर यस्तो के गर्नुभएको भनेपछि हच्किनुभयो,' उनले भनिन्, 'बहिनीलाई देखेपछि सर गोठबाट केही नभनी निस्किनुभयो।'
सर गए भनेर उनी ढुक्क भइन्। शरीर र मुटु कामिरहेको थियो। केही बेर आराम गरिन्। नडराउनू दिदी भन्दै बहिनी फेरि माथिल्लो तलामा गइन्।
केही समयपछि किशोरी घोप्टो परेर भैंसीको थलो सफा गर्दै थिइन्।
'सरले एक्कासि पछाडिबाट स्तन समातेर अँगालोमा बेरेर गाला चुम्न थाल्नुभयो। म निस्सासिएँ। एकछिनसम्म बोल्न, चल्नै सकिनँ,' किशोरीले भनिन्, 'तैपनि कसरी कसरी बेस्सरी चिच्याएँ। बहिनी हत्तपत्त तल झरेर सरलाई सिर्कानोले हिर्काई।'
बहिनीले पटक पटक हिर्काउँदा पनि सरले आफूलाई नछाडेको किशोरी बताउँछिन्।
'म चिच्याइरहेँ। मेरो आवाज सुनेर आसपास बारीमा काम गरिरहेका एक–दुई जना मानिस आएपछि बल्ल सर भाग्नुभयो,' उनले भनिन्।
सर भागेपछि तत्काल त उनी केही भन्न सक्ने अवस्थामा भइनन्। होस, हवास उडेको थियो।
एकान्तमा गोठ भएकाले उनको चिच्याहट सुनेर बारीमा काम गरिरहेका दुई–तीन जना मान्छे मात्र त्यहाँ आइपुगे। उनीहरूले किशोरीलाई आमाबुबालाई खबर गर्न भने। बहिनीले फोन गरेर घटनाबारे विस्तार लगाइन्।
'त्यो दिन बहिनीलाई लगेकाले मात्र म सुरक्षित भएँ, नत्र सरले मलाई छाड्नु हुन्न थियो,' किशोरीले भनिन्, 'त्यसपछि त गोठको काम गर्ने हिम्मत नै आएन। दिदीबहिनी नै घर आएर ढोका लगाएर बस्यौं।'
आमाबुबा नआउन्जेलसम्म बाहिर ननिस्किएको उनले बताइन्।
त्यही दिन उनका आमाबुबा राती ढिला आइपुगे। त्यसैले भोलिपल्ट बिहानै प्रहरीकहाँ जाने सल्लाह भयो।
'कतिखेर उज्यालो हुन्छ र प्रहरीकोमा जाने भन्ने मात्र ध्यान भयो। एक रात पनि वर्षौंझैं लाग्यो,' उनले भनिन्, 'आफ्नो शरीर पनि आफ्नै होइन जस्तो भइरह्यो। पटक पटक पानी खन्याएँ। तैपनि केही महसुस नै भएन।'
भोलिपल्ट, पुस १३ गते बिहानै किशोरी बुबासँग इलाका प्रहरी कार्यालय, बरूणेश्वर गइन्।
'तीन–चार जना प्रहरी राखेर बुबाकै अगाडि मलाई सोधपुछ गर्नुभयो। डरले धेरै कुरा भन्नै सकिनँ,' उनले भनिन्, 'हाम्रो कुरा सुनेपछि प्रहरीले सरलाई छलफलमा बोलाउने भन्नुभयो। तर उहाँ आउनुभएन। कामीले जहाँ बोलायो त्यहीँ आउँदिनँ भन्नुभयो रे!'
किशोरी दलित समुदायकी हुन् भने सर गैरदलित हुन्।
प्रहरीले बोलाउँदा पनि सर नआएपछि छलफल भएन। किशोरी १८ वर्ष उमेरकी भएकाले प्रहरीले यौन दुर्व्यवहारको मुद्दा लिएर सिधै अदालत जान सल्लाह दियो।
यौन दुर्व्यवहारको मुद्दा इलाका कार्यालयमा दर्ता नहुने भएकाले अदालत जान भनिएको इलाका प्रहरी कार्यालय बरूणेश्वरका इन्चार्ज इन्स्पेक्टर मनिष लुइँटेलले सेतोपाटीलाई बताए।
उनका अनुसार उनी यो कार्यालयमा इन्चार्ज भएर आएको तीन महिना भयो। यसअघिका इन्चार्ज राजकुमार सापकोटाले यौन दुर्व्यवहारको मुद्दा भएकाले आफ्नो क्षेत्र अधिकारमा नपर्ने भन्दै अदालत जान भनेका थिए।
'बाल यौन दुर्व्यवहार भएको भए प्रहरीले हेर्थ्यो। १८ वर्ष भइसकेकाले सिधै अदालत जान भनिएको हो,' इन्चार्ज लुइँटेलले भने, 'हामीले बेवास्ता गरेको होइन।'
कानुनी प्रावधान अनुसार यौन दुर्व्यवहारको मुद्दा सिधै अदालतमा दर्ता हुन्छ। १८ वर्षभन्दा कम उमेर भए चाहिँ प्रहरीले सोझै अनुसन्धान अगाडि बढाउन सक्ने उनले बताए।
त्यस दिन शनिबार भएकाले किशोरीहरू अदालत गएनन्।
तर उनीहरू अदालत जाने कुरा भएपछि छरछिमेक र आफन्तले रोक्न खोजे। किशोरी र उनका बुबालाई कानुनी झमेलामा नपर्न भने।
किशोरीले कसैको कुरा सुनिनन्।
'आफन्तहरूले हामी दलित हौं, भोलि हाम्रो पक्षमा बोलिदिने कोही हुँदैन, तेरो पढाइ पनि बिग्रिन्छ, गाउँठाउँमा मुख देखाउन सकिँदैन भने,' किशोरीले भनिन्, 'तर सरलाई कारबाही भएन भने म बाँच्नै सक्दिनँ भन्ने लाग्यो। त्यसैले कसैको कुरा नसुनी अडिग रहेँ।'
उनले थप भनिन्, 'स्कुलदेखि नै हामीलाई आफूमाथि हुने दुर्व्यवहारबारे बोल्नुपर्छ भनेर सिकाइयो। बोल्नुपर्ने बेलामा चाहिँ किन नबोल्न भनेका?'
किशोरीले पछि नहट्ने भनेपछि उनका आमाबुबाले साथ दिए। प्रहरीले भने अनुसार, पुस १४ गते उनी बुबाको साथमा जिल्ला अदालत, ओखलढुंगा पुगिन्। त्यहाँ यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिन्।
उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ (३) बमोजिम हदैसम्मको कैद तथा दण्ड जरिवाना सजाय गरी सोही संहिताको दफा २२८ बमोजिम विपक्षीबाट मुनासिव माफिकको क्षतिपूर्ति र मुद्दामा लागेको सम्पूर्ण खर्चसमेत दिलाई, भराई हक–न्याय दिलाई न्याय निरूपण गरी पाऊँ भनेर मुद्दा दर्ता गरेकी छन्।
'मुद्दा दर्ता गरेपछि समाजबाट झनै धेरै ताना सुन्नुपर्यो,' उनले भनिन्, 'कतिले त सरसँग प्रेम सम्बन्ध भएकाले छुन आएकोसम्म भन्न भ्याए। आफ्नो बुबाको उमेरको मान्छेसँग कसरी प्रेम हुन्थ्यो!'
मान्छेहरूका कुरा सुन्न नपरोस् भनेर उनी घरबाहिर निस्किनै छाडिन्। एक सातापछि उनको कलेज खुल्यो, तर उनी गइनन्। एक सातासम्म कलेज नगएपछि बुबाले गाली गरे र उनी गइन्। कलेजमा समेत उनलाई कति साथीहरूले गाली गरे। कतिले हौसला बढाए।
'कोही कानेखुसी गर्दा पनि आफ्नै कुरा गरेको हो कि जस्तो लाग्यो। कसैसँग बोल्नसमेत मन लागेन,' किशोरीले भनिन्, 'कलेज जान र पढ्न पनि मन लागेन।'
घटनापछि उनको दिन र जीवन फेरियो। एक्लै घरबाट निस्किन सकिनन्। साथीसंगी र अरूसँग भेटघाट पनि पातलियो।
'६ महिनादेखि समाजका तीता शब्द सुन्दै एक्लै बसेर न्याय कुरिरहेकी छु। अहिलेसम्म कानुनी प्रक्रिया अगाडि नबढ्दा सरलाई त्यसै आरोप लगाई भन्छन्,' उनले भनिन्, 'गल्ती गरेको भए त सरलाई प्रहरीले लगिहाल्थ्यो नि भनेर कुरा काट्छन्।'
उनले थपिन्, 'सर पनि कामीको छोरीले केही गर्न सक्दिन, मैले पैसा दिएर मिलाइसकेँ भन्दै हिँड्नुहुन्छ रे। हामीले अहिलेसम्म केही लिएको छैन।'
सरलाई कानुनले नै सजाय दिन्छ भन्ने पर्खाइमा आफूहरू रहेको किशोरी र उनका बुबा बताउँछन्।
किशोरीको मुद्दा हेरिरहेका अधिवक्ताका अनुसार मुद्दा दर्ता भएदेखि विभिन्न चरणमा काम भइरहेको छ। ६ महिनामा घटनाको साक्षीको बकपत्र, घटनास्थल जाँच, प्रहरीसँग सोधपुछ गर्ने काम भएको छ।
'असार २९ गते पेसी थियो। हामीले साउन १८ गतेलाई सारेका छौं। सबै प्रमाण बुझाउने काम भयो। अब फैसला हुन बाँकी छ,' किशोरीका अधिवक्ताले भने।
किशोरीले दिएको बयान अनुसार जबरजस्ती करणी उद्योगको मुद्दा बन्न सक्थ्यो। तर उनले बुबाका सामु खुलेर कुरा गर्न नसक्दा स्थानीय प्रहरीले यौन दुर्व्यवहारको मुद्दा बनाइदिएको अधिवक्ताको भनाइ छ।
'किशोरीले प्रहरीलाई बयानमा भनेभन्दा बढी नै घटना भएको देखिन्छ,' उनले भने, 'अब जसरी दर्ता भए पनि न्यायका लागि लडिरहेका छौं।'
यौन दुर्व्यवहार व्यक्तिगत फौजदारी मुद्दा हो। त्यसैले अहिले प्रतिवादीलाई थुनामा लिन नमिल्ने उनले बताए।
यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएमा बढीमा एक वर्षसम्म कैद र १० हजार रूपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।