गत असार २२ गते साँझ सात बजेतिर रूपन्देहीको तिलोत्तमा-१ शंकरनगरका विशाल पाण्डेको मोबाइलमा घन्टी बज्छ।
सर्प उद्धारकर्ता विशाल गर्मी र वर्षा याममा साँझपख आउने टेलिफोनहरूलाई छिटो रेस्पोन्स गर्छन्। अहिले गर्मी र वर्षा याम भएकाले तराई क्षेत्रमा विषालु सर्पको बिगबिगी हुन्छ। मोबाइल उठाउनेबित्तिकै उताबाट आत्तिएको स्वर सुनेपछि विशालले थाहा पाइहाले सर्प उद्धारका लागि फोन आएको हो भनेर।
टेलिफोन आएको थियो तिलोत्तमा नगरपालिका ५ प्रेम नगरका दिलराम अर्यालको घरबाट।
उनी हतारहतार दिलरामको घरमा गए। त्यहाँ पुग्दा उनले घरको ढोकाअगाडि नै गोमन सर्पको बच्चा भेटे। त्यसलाई सकुशल उद्धार गरी घरभित्र पसे। घरभित्र चारवटा गोमनका बच्चाहरू यतायता दौडिरहेका थिए। यति धेरै सर्प एक्लै उद्धार गर्न नसकिने लाग्यो।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) का अध्यक्ष समेत रहेका विशालका बुवा खिमलाल पनि सर्प उद्धारकर्ता हुन्। उनले विगत १७ वर्षदेखि सर्पको उद्धारसँगै संरक्षणको अभियान सञ्चालन गर्दै आएका छन्। भाइ विश्वास पनि केही वर्षदेखि सर्प उद्धारमा सक्रिय छन्। उनले बुवा र भाइलाई खबर गरेर ५ वटै सर्पको उद्धार गरे।
दिलरामलाई दिउसो घरभित्रै विषालु सर्पले टोकेको थियो। भान्सामा चिया पकाउँदै गर्दा खुट्टामा केहीले टोकेजस्तो लागेपछि उनले भुइँमा हेरे केही देखेनन्। तर मनमा भने डर पसिसकेको थियो। केही बेरमै शरीरमा असहज भएपछि छिमेकीको सहयोगमा श्रीमती सरस्वती अर्यालले लुम्बिनी प्रादेशिक अस्पताल लगिहालिन्। अस्पताल लगेपछि उनलाई विषालु सर्पले नै टोकेको पुष्टि भएको थियो।
त्यही घरमा साँझ गोमन सर्पका ५ वटा बच्चा भेटिएका थिए। घरभित्र गोमनका बच्चा भेटिएपछि विशालले सर्पको गुँड नै भान्साको र्याक वा अन्य कतै घरभित्रै भएको आशंका गरिसकेका थिए। घर धनी अस्पताल भएकाले उनी घरभित्र भेटिएका सर्पका ५ वटै बच्चाको उद्धार गरी आफ्नो घर फर्किए।
दोस्रो दिन फेरि सोही घरबाट विशाललाई फोन आयो। जापानिज भाषा शिक्षक रहेका विशाल बुटवलमा विद्यार्थीहरूलाई पढाइरहेका थिए। अघिल्लो दिन ५ वटा सर्प भेटिएको घरबाटै फेरि फोन आएपछि उनी पढाउन छोडेर त्यही घरमा गए।
अघिल्लो दिन सर्पले टोकेका दिलराम उपचारपछि घर आइपुगेका थिए। भान्सामा बनाइएको काठको र्याक पुरानो भइसकेको थियो। भान्सा कोठाबाटै ५ वटा सर्पका बच्चा भेटिएकोले त्यही र्याक मुनी सर्पको गुँड बनाएको र अझै पनि बच्चा हुन सक्ने उनमा आशंका थियो। विशाललाई भने अघिल्लो दिन नै आशंका लागिसकेको थियो।
उनीहरूले काठको र्याक फोरेर भए पनि आशंका मेटाउने निधो गरे। र्याक फोरेपछि उनीहरूले जे आशंका गरेका थिए त्यही भयो, र्याक मुनीको ढलान फुटेर भुइँमा ठुलो ठूलो चिरा परेको थियो। फुटेको ढलानभित्र माउ सर्प सल्बलाइरहेको देखियो।
दिलरामले भुइँ फुटाउन मिस्त्री बोलाइसकेका थिए। मिस्त्री आएपछि भुइँ फुटाल्न थालियो। झन्डै ६ घन्टासम्मको प्रयासमा सर्पका १२ वटा बच्चा निकालियो। माउ भने चिरा परेर भासिएको ढलानमुनि छिरेर हरायो। रात छिप्पिइसकेकोले त्यस रात सर्प देखिएको भान्सा कोठाको ढोका लगाएर त्यतिकै छोडियो।
तेस्रो दिन बिहानै भान्सा कोठामा सर्पका बच्चा देखिएका छन् भन्दै फेरि विशाललाई खबर आयो। गएर खोजविन गर्दा थप ५ वटा बच्चा फेला परे। यी सहित एउटै घरको भान्साबाट उद्धार गरिएका गोमनका बच्चा २३ वटा पुगेका थिए। अघिल्लो दिन देखिएको माउ भने ढलानभित्रै हराइरहेको थियो। थप दुई दिनसम्म निगरानीमा राख्दा पनि माउ नदेखिएपछि फुटेको भुइँ ढलान गरियो। त्यसपछि भने घरमा सर्प देखिएको छैन।
अहिले विशालले २३ वटा सर्पका बच्चा उद्धार गरेको त्यही घरबाट उनका बुवा खिमलालले १३ वर्षअघि सर्पका ११ वटा बच्चा उद्धार गरेका थिए।
विशाललाई मंगलबार देवदहबाट फोन आयो। देवदह नगरपालिका ८ टटेराका प्रेम खत्रीको घरमा सर्प देखिएको भन्दै उद्धारको लागि उनलाई फोन गरिएको थियो। विशालले भाइ विश्वासलाई साथमा लिएर टटेरा गए। माटोले इँटा जोडेर टिनको छानो हालेर बनाइएको उक्त घरबाट गोमन सर्पकै ९ वटा बच्चा फेला परे। ‘एकै ठाउँ ९ वटा बच्चा भेटिए पनि त्यहाँ भने माउ सर्प देखिएन,’ विशालले भने।
विशालले यसै साता बुटवलमा पनि एउटा घरबाट गोमन सर्पका ८ वटा बच्चाको उद्धार गरेका थिए। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरबाट ती सर्प भेटिएका थिए। पछिल्लो एक सातामा बुटवल, तिलोत्तमा र देवदहका तीनवटा घरबाट विषालु सर्प गोमनका ४० वटा बच्चा भेटिएका हुन्।
केही वर्ष पहिलेसम्म जंगल, खेतबारी र गाउँका कच्ची घरहरूमा भेटिने विषालु सर्पहरू पछिल्ला दिनहरूमा सहरका पक्की घरहरूमा पनि प्रशस्त भेटिन थालेका छन्। गर्मीमा जमिन तात्ने र जमिनमुनिका वासस्थानमा वर्षाको पानी पस्ने गर्दा सर्पहरू ओभानो स्थानको खोजीमा घर तथा गोठहरूमा पस्ने गर्छन्।
सर्प उद्धारकर्मी विशाल भने सर्पका वासस्थान रहेका वन क्षेत्रमा बस्ती बढ्दै जाँदा सर्पको वासस्थान साँघुरो बनेर सर्पहरू बस्तीभित्र पस्न बाध्य भएको बताउँछन्। अहिले सर्प सहरका घरहरूमा पसेको नभइ सर्पका वासस्थानमा मानिसले घर बनाएर बसेको उनी बताउँछन्। ‘अहिले बस्ती बसेका धेरै ठाउँमा पहिले खेतबारी र जंगल थियो, तिनै जंगल र खेतबारीमा बसेका सर्पहरू अहिले घरभित्र पसेका हुन्,’ विशाल भन्छन्।
तर पनि एउटै घरबाट यति धेरै संख्यामा विषालु सर्पका बच्चा भेटिनु दुर्लभ मानिएको विशाल बताउँछन्। ‘एकै ठाउँबाट यति धेरै सर्प उद्धार गरेको मैले पहिले सुनेको थिइन्,’ उनले भने।
सर्पविज्ञ कमल देवकोटाले सर्पले एक पटकमा १५-२० देखि ३५-४० वटा सम्म अन्डा पारेर बच्चा कोरल्ने भए पनि यी घटना घरभित्र भएकोले अनौठो मानिएको बताए। ‘सर्पले एक पटकमा १५-२० देखि ३५-४० वटा सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छन्, बुटवलका घटना घरभित्र भए फरक त्यत्ति हो,’ उनले भने।
देवकोटाले सर्पको वासस्थान मासिँदै जाँदा सर्प घरभित्र पस्न थालेको बताए। सर्पले खेतबारीका अन्नपातहरू खाएर नष्ट गर्ने कीरा-फट्यांग्रा, मुसा लगायतका जीवजन्तुलाई खाएर मानिसलाई सघाउने भएकोले सर्पको संरक्षण गर्नुपर्ने बताए।
देवकोटाका अनुसार नेपालमा करिब ८४ देखि ९० प्रजातिका सर्पहरू पाइन्छन्। तीमध्ये १८ प्रजातिका मात्र विषालु सर्पहरू रहेका छन्। गोमन, करेत, रसेल्स भाइपर, पिट भाइपर्स, कोरल, विश्वकै सबैभन्दा लामो र विषालु मध्येको राज गोमन लगायतका सर्प विषालु हुन्छन्।
जाडो याममा जमिनमुनि बस्ने सर्प वैशाख जेठदेखि कात्तिक मंसिरसम्म सतहमा देखिन्छन्। आहाराको खोजी गर्दै जमिनमाथिको सतहमा आउने गर्दा सर्पदंशको जोखिम पनि यही समयमा हुन्छ। हरेक वर्ष सर्पदंशका कारण सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन्।
बुवालाई पछ्याउँदै दुवै छोरा सर्प उद्धारमा सक्रिय
विशाल र विश्वास सानो उमेरदेखि सर्प उद्धारकर्मी बुवा खिमलाललाई पछ्याउँदै सर्प उद्धारमा लागेका हुन्। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आबद्ध भएदेखि नै खिमलाल सर्पको उद्धार तथा संरक्षणमा सक्रिय भए।
घरमा सर्प पसेको भन्दै उद्धारको लागि खिमलाललाई बोलावट हुँदा विशाल र विश्वास पनि पछि लागेर जान्थे। लाइट बालेर बुवालाई सघाउँदै सर्पको उद्धार कसरी गरिन्छ भनेर हेर्थे। फुर्सदको बेला बुवासँगै सर्प उद्धार गर्ने विधि सिक्थे। सर्प उद्धारका भिडिओहरू इन्टरनेटमा हेर्थे। सर्पको उद्धारमा लाग्नु अत्यन्त जोखिम हुने भएकोले खिमलालको चाहना छोराहरू यतै लागुन् भन्ने थिएन।
त्यही भएर पनि विशाललाई होटेल म्यानेजमेन्ट पढाए। पढाइपछि विशाल रोजगारीको लागि जापान गए। सानो देखि नै बुवाको समाजसेवा अभियान देखिरहेका विशाल जापानमा रम्न सकेनन्। ५ वर्ष जापान बसेका विशाल घर फर्किएपछि चार वर्षदेखि सर्प उद्धार कार्यमा सक्रिय छन्। पहिले घर वरपर सर्प देखिए खिमलाललाई आउने फोनहरू अचेल विशाल र विश्वासलाई आउन थालेका छन्।
‘सर्प उद्धारका लागि कहिलेकाहीँ त दिनमै १७-१८ ठाउँबाट फोन आउने गर्छ। धेरै टाढा जान हाम्रा पनि आफ्नै समस्या छन् जान सक्दैनौं। सम्भव हुने ठाउँसम्म पुगेर सर्पको उद्धार गर्दै आएका छौं, विशालले भने। गत वर्ष पाल्पा पुगेर समेत राज गोमनको उद्धार गरेका थिए। यस वर्ष असार महिनामा मात्रै विशालले झन्डै २ सय सर्पको उद्धार गरी सुरक्षित वासस्थानमा लगेर छोडेको बताए।
विशाल भने सर्पका बारेमा जानकारी नहुँदा सर्पले टोकेर मानिसको मृत्यु हुने गरेको बताउँछन्। सर्पले टोक्नको लागि मान्छे खोज्दै हिँड्दैन, सर्पलाई चलाएमा जिस्काएमा बाटोमा हिँड्दा खुट्टाले कुचिने छोइने गर्दा आफ्नो रक्षाको लागि उसले टोक्ने हो,’ उनी भन्छन्।
पर्यावरण र वातावरण सन्तुलन राख्न सर्प महत्त्वपूर्ण जीव भएकोले सर्पको संरक्षण गर्नुपर्ने उनले बताए।