रोल्पाको थवाङमा पहिरोले घरै बगाउँदा एक जनाको मृत्यु भएको छ।
अबिरल वर्षापछि खसेको पहिरोले थवाङ गाउँपालिका वडा नं. ४ थापा खर्कका ७२ वर्षीय गोठे घर्ती मगरको ढुँगा माटोले बनेको घर भत्किएको थियो।
भान्सामा बसिरहेको समयमा बिहान ६ बजेतिर झरेको पहिरोले मगरलाई घरसहित बगाएको थियो।
झन्डै १५ मिटर टाढा मगरको खुट्टा मात्रै देखिएको अवस्था रहेको र शव निकाल्ने प्रयास भइ रहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
बिहान ६ बजेतिर पहिलो झरेको भए पनि प्रहरीलाई भने बिहान साढे १० बजेतिर मात्रै स्थानीयले खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी सहायक निरीक्षक केशवराज बुढाथोकीको कमाण्डमा– ६ जना र इप्रका थवाङबाट प्रहरी सहायक निरीक्षक रामु पौडेलको कमाण्डमा–४ जनाको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय र जनप्रतिनिधिको सहयोगमा मगरको शब निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।