नक्कली सुन देखाएर लाखौं रकम ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।
एक किलोको सुन जस्तो देखिने धातु देखाएर लाखौं रकम ठगेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट घर भई भक्तपुर बस्ने २२ वर्षीय सुमन तामाङ छन्।
एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूले सुनलाई प्रतितोला एक लाख १० हजार रुपैयाँ दिने भनेर प्रलोभनमा पारेका थिए।
आजको बजार मूल्यअनुसार सुन प्रति तोला एक लाख ९३ हजार ६०० रुपैयाँमा बिक्री भइरहेको छ।
तर बजार मूल्य भन्दा एकदम सस्तोमा बिक्री गर्ने भनेर उनीहरूले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेका थिए।
त्यसरी उनीहरूले गत फागुन २५ गते ओखलढुंगा घर सूर्यविनायक बस्ने ढकबहादुर बुढाथोकीलाई बोलाएका थिए।
उनलाई बोलाएर नक्कली सुन दिएर १२ लाख रुपैयाँ लिएका थिए।
त्यस्तै उनीहरूले नै दोलखा घर भई भक्तपुर राधेराधे बस्ने अर्जुन बस्नेतलाई बोलाएर ९ लाख ५० हजार रुपैयाँ रूपैयाँ लिएका थिए।
यसरी नक्कली सुन देखाएर लाखौं रकम ठगेको आरोपपछि अपराध अनुसन्धानको भक्तपुरको शाखा कार्यालयले अनुसन्धान गरिरहेको थियो।
त्यसबीच दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले चार वटा फोन र एक किलो बराबरको सुन जस्तो देखिने धातु बरामद गरेको हो।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।