रूकुम पश्चिमस्थित ठूली भेरी नदीमा टिपरसहित खसेका तीनै जनाको शव फेला परेको छ।
आइतबार बेलुकीपख रूकुम पश्चिम सानिभेरी गाउँपालिका–३ का ३३ वर्षीय धनविर बराइलीको शव फेला परेको थियो। उनी डोजर चालक हुन्।
शव फेला परे पनि उनको परिवार पुगेर बेलुकी अवेर मात्रै सनाखत गरेका थिए। बराइलीको पोष्टमर्टम सोमबार बिहान मात्रै भएको हो।
शुक्रबार मात्रै रूकुम पूर्वको सिस्ने गाउँपालिका– ८ स्यालापाखाका डोजरका परिचालक २० वर्षीय हरि विकको शव फेला परेको थियो।
बिहीबार मात्रै टिपर चालक दाङका ३५ वर्षीय मनिराम चौधरीको शव फेला परेको थियो। तीनै जनाको शव सुर्खेतमा फेला परेको हो।
घटनास्थलदेखि झन्डै ६० किलोमिटरभन्दा टाढा तीनै जनाको शव फेला परेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्टले सेतोपाटीलाई बताए।
सुर्खेतको भेरी गंगा नगरपालिका–२ खोजी आसपासको भेरी नदीमा तीनै जनाको शव एकपछि अर्को गर्दै फेला परेको हो।
साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित रूकुम पश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरबाट ठूली भेरी नदीमा तीन जना खसेका थिए। टिपर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट वडा नं. १४ को छेपारेतर्फ जाँदै थियो।
टिपरको अगाडि भागको इञ्जिन भने गत बुधबार बेलुकी खसेको ठाउँभन्दा झन्डै पाँच सय मिटर दक्षिणमा फेला परेको थियो।